Logo
Logo

कलाकार विभाजित


एमपी सुब्बा


काठमाडौं । भनिन्छ, ‘राष्ट्र र राष्ट्रियता सबैभन्दा ठूला कुरा हो ।’ अहिले बलिउडमा भारतीय र पाकिस्तानी कलाकार विभाजित भएका छन् । काश्मिर घटनापछि भारत–पाकिस्तानबीच तिक्तता चुलिँदै जाँदा कलाकार पनि विभाजित भएका हुन् । भारतीय र पाकिस्तानी कलाकारबीच बोलचाल समेत बन्द भएको छ भने एकअर्कालाई सामाजिक सञ्जालमा गाली गर्न थालेका छन् ।

एक साताअघि भारत प्रशासित काश्मिरको पुलवामा भन्ने ठाउँमा चरमपन्थी समूहले गरेको आक्रमणमा केन्द्रीय रिजर्व प्रहरी बल (सिआरपिएफ) का ४१ जवानले ज्यान गुमाएका थिए । त्यसपछि उत्पन्न दुई देशबीचको तिक्तताले बलिउडलाई व्यवसायिक घाटा भएको छ भने बलिउड इन्डस्ट्रीबाट पाकिस्तानी कलाकारलाई प्रतिबन्ध गरिएको छ ।
उक्त घटनापछि बलिउड अभिनेता सलमान खानले हालै आफ्नो होम प्रोडक्सनबाट बनेको फिल्म ‘नोटबुक’बाट गायक आतिफ असलमलाई निकालेका छन् । काश्मिरको पुलवामामा भएको चरमपन्थी आक्रमणमा भारतले पाकिस्तानमाथि दोष लगाउँदै आएको छ भने पाकिस्तानले अस्वीकार गर्दै आएको छ । यसरी दुई देशबीचको कुटनीति विवादले चरम रुपम लिइरहेका बेला कलाकारमा देखिएको विवादले अन्तराष्ट्रियस्तरमा चर्चा पाइरहेको छ ।
बलिउडका सलमान जस्ता स्टारले पाकिस्तानी गायकलाई आफ्नो प्रोडक्शनबाट हटाएपछि बिबिसीलगायतका अन्तर्राष्ट्रिय मिडियाले भनेका छन्, ‘भारतीय राष्ट्रवाद सेलिब्रेटीमा झल्किएको छ । तर, यो विवाद साम्य भएमा उनीहरु पुन एकै ठाउँमा काम गर्छन् कि गर्दैनन् ?’ सलमानको प्रोडक्शनमा आतिफले गाइसकेको गीतलाई अर्कै गायकबाट रि–रेकर्डिङ गर्ने तयारी गरिएको भारतीय मिडियाले जनाएका छन् ।
पछिल्लो समय ‘अल इण्डियन सिने वर्कस एसोसिएसन’ले आक्रमणमा दिवंगत सुरुक्षाकर्मीप्रति संवेदना प्रकट गर्दै पाकिस्तानी कलाकारलाई ब्याण्ड गर्ने निर्णय गरेको थियो । बलिउड फिल्मकर्मीहरुको उक्त संघले निकालेको विज्ञप्तीमा लेखिएको छ, ‘पाकिस्तानी कलाकार र गायकलाई हामी सम्पूर्ण तवरले प्रतिबन्ध गर्ने औपचारिक घोषणा गर्दछौँ । यदि कसैले त्यहाँका कलाकार वा गायकसँग काम गरेको पाइयो भने उनीहरुका विरुद्ध कडा सजाए हुनेछ ।’
संघको यस्तो चेतावनीपूर्ण विज्ञप्तिसँगै हाल काम भइरहेको फिल्म तथा गीतबाट पाकिस्तानी कलाकारहरुलाई निकालिन थालिएको छ । यस्तै, गायक जावेद अख्तर र शबाना अजमीको कराँची टुरमा पनि रोक लगाएको थियो । कतिपय कलाकारलाई थाहै नदिई प्रोडक्शनबाट हटाइएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
यस्तै, टी–सीरीजले गएको १५ फेब्रुअरीमा पाकिस्तानी गायक राहत फतेह अली खानको नयाँ गीत ‘जिÞन्दगी’ सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, उक्त म्युजिक कम्पनीले आफ्नो युट्युब च्यानलका साथै अन्य सामाजिक सञ्जालबाट गायक अलि खानको म्युजिक भिडियो हटाएको छ । राहतले १४ फेब्रुअरीमा ट्विटरमा ट्वीट गर्दै लेखेका थिए, ‘टी–सीरीज मेरोको गीतलाई सार्वजनिक गर्दैछ ।’ तर, पुलवामा आक्रमणपछि टी–सीरीजले दिवंगत सैनिकका परिवारलाई समर्थन गर्दै भिडियो हटाएको जनाएको थियो ।
राहतको एक गीत सार्वजनिक गरिए पनि त्यसलाई तुरुन्तै हटाइयो । टी–सीरीज अहिले पाकिस्तानी कलाकारहरुसँग सम्बन्धित कुनै प्रकारको बिषयबस्तुलाई सहयोग गर्न चाहँदैन । कम्पनीले भारतीयहरुको भावनालाई ध्यानमा राख्दै र विस्फोटमा ज्यान गुमाएका जवानको सम्झनामा सो निर्णय लिएको जनाएको छ ।
महाराष्ट्र नवनिर्माण सेनाको शाखा चित्रपट सेना प्रमुख अमेय खोपकरले भनेका छन्, ‘हामीले भारतीय संगीत कम्पनीहरु जस्तै टी–सीरीज, सोनी म्युजिक, भिनस, टिप्स म्युजिकसँग पाकिस्तानी गायकहरुसँग काम नगर्न भनेका छौँ । यी कम्पनीहरुले यस्तो काम तुरुन्द बन्द गर्नुपर्छ नत्र हामी आफ्नो शैलीबाट कारबाही गर्नेछौँ ।’ टी–सीरीजका भूषण कुमारले राहत फतेह अली खान र आतिफ असलमसँग दुई बेग्ला–बेग्लै गीतका लागि सम्झौता गरेको थियो । तर, चेतावनीपछि कम्पनीले युट्युब च्यानलबाट पाकिस्तानी कलाकारको गीत हटाएको जनाइएको छ । बलिउडमा थुपै्र यस्ता चर्चित गायक÷गायिका छन्, जो पाकिस्तानी हुन् । एक किसिमले भन्ने हो भने भारतीय संगीत उद्योगको आधा हिस्सा पाकिस्तानी कलाकारले ओगटेका छन् । त्यस्तै फिल्मी उद्योगमा पनि ।
पुलवामा आक्रमणपछिको एक सातामा बलिउड १०२ करोड रुपैयाँ घाटा भएको बताइन्छ । भारतीय मिडियाहरुले जनाएअनुसार पुलवामा भएको चरमपन्थी आक्रमणपछि कुनै पनि बलिउड फिल्म पाकिस्तानमा रिलिज गरिएको छैन । त्यसयता पाँच बलिउड फिल्म रिलिज भएका छन् । बलिउड फिल्मकर्मीको एशोसिएनले नै प्रतिबन्ध गरिदिएपछि ती कुनै फिल्म पाकिस्तानमा रिलिज नभएको बताइएको छ । ती फिल्मबाट बलिउड निर्माताहरुले १०२ करोड घाटा भएको भारतीय मिडियाले बताएका छन् ।
पुलवामा घटनापछि ‘टोटल धमाल’, ‘लुका छिपी’, ‘अर्जुन पटियाला’, ‘केसरी’ र ‘भारत’जस्ता बलिउड फिल्म रिलिज भए । तर, दुई देशबीचको विवादको असर फिल्म निर्मातालाई पनि परेको छ । यो फिल्म वितरकहरुले पनि स्वीकारेका छन् ।
पाकिस्तानको इन्टरटेनमेन्ट इन्डस्ट्री भारतको एक हिस्सा मानिन्छ । जहाँ हिन्दी फिल्मले राम्रो व्यापार गर्दै आएको छ । पाकिस्तानका फिल्म वितरक बाबर शेखले भारतीय मिडियासँग भनेका छन्, ‘पाकिस्तानमा ‘टोटल धमाल’ र ‘लुकाछिपी’ले मात्र १५ देखि १८ करोड रुपैयाँसम्म कमाई गर्ने थियो । उनले ‘केसरी’को व्यापार २० देखि २२ करोडसम्म गर्ने अनुमान गरेका थिए ।
त्यस्तै, फिल्म ‘भारत’को व्यापार ४० करोड रुपैयाँभन्दा माथि हुने आशा गरेका थिए । उनी भन्छन्, ‘पाकिस्तानमा बलिउडको सबै फिल्म रिलिज हुन्छ । जसमा पछिल्लो समय रणवीर सिंहको ‘पद्मावत’ र ‘सिंबा’ले यहाँ एकदमै राम्रो व्यापार गरेको थियो ।’ भारतीय फिल्म पंण्डितहरु भने पाकिस्तान बलिउडका लागि एकदमै सानो बजार बताउँछन् ।
पाकिस्तानमा बर्षमा बल्लतल्ल १० देखि १५ फिल्म बन्ने गर्छ । यो जि स्टूडियोज इन्टरनेशनलका ओभरसीज मार्केटिङ डिस्ट्रिब्यूशन तथा कार्यकारी निर्देशक विभा चोपडा पनि स्वीकार्छिन् । तर, उनले पाकिस्तानमा फिल्म नचलाएपनि बलिउडलाई कुनै घाटा नहुने बताएकी छन् । तर, बलिउड पाकिस्तानी कलाकारका लागि उर्वर भूमि हो । तर, जतिखेर दुई देशबीच सैन्य तथा कुटनीति विवाद बढ्छ, त्यतिखेर कलाकारबीच पनि विभाजन हुने गरेको छ । र, यसपटक पनि । –एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्