Logo
Logo

बन्धनमा बाँधिएर बस्ने रहर छैन– रिया घले


- दृष्टि न्युज/संवाददाता


भन्नलाई लोकगायिका तर, स्टाइल भने मोर्डन । लोकगायिका रिया घलेलाई भेट्दा यस्तै लाग्छ । स्टाइल मात्र होइन, स्टेज पर्फमेन्स पनि ‘हट’ हुन्छ रियाको । त्यसैले रियाको स्टेज पर्फमेन्स भन्नेवित्तिकै दर्शक झुमिने गरेका छन् । मोडलसमेत रहेकी यी लोकगायिकाका अनुसार ‘लोकगायिका भन्दैमा कुर्ता–सुरुवाल र गुन्यूचोली नै लगाउनुपर्छ भन्ने छैन ।’ हुन पनि जमाना फेरिएको छ, हिजोआज मोर्डन गायिकाहरु ‘सिम्पल’ र लोकगायिकाहरु ‘मोर्डन’ भएका छन् । मोडल हुँदै लोकगायिका बनेकी रियाको सन्दर्भमा त कुनै कमेन्ट्स नै छैन । ‘दिलमाया’, ‘मायाको जालैमा’, ‘हितको माया’, ‘उठबस गरायो बाजा तालैले’, ‘जारको पानी’जस्ता चर्चित लोकगीतका गायिका रियाले दुई दर्जनभन्दा बढी गीतको भिडियोमा मोडलिङ गरेकी छन् । रसुवामा जन्मेर गाउँपाखाको लोक–सुसेलीलाई अँगाल्दै लोकगायनमा रमाइरहेकी गायिका रिया घलेसँग एमपी सुब्बाको जम्काभेट ।

रिया घले, लोकगायिका तथा मोडल

कुरा कहाँदेखि सुरु गरौँ ?
जहाँबाट सुरु गरे नि हुन्छ । गीतसंगीतकै त कुरा गर्ने होला नि ।
गाउन सुरु गर्नुभएको कति भयो ?
गाउन त म सानैदेखि गाउँथे । तर, औपचारिक रुपमा गाउन थालेको सात वर्ष भयो । रेकर्डिङ नै गर्न थालेको भने चार वर्ष भयो ।
त्योभन्दा अगाडि के गर्नुहुन्थ्यो ?
म मोडलिङ गर्थेँ । मोडलिङबाट नै म गायनमा लागेकी हुँ । तर, अहिले मोडलिङचाहिँ कम गर्न थालेकी छु ।
अहिले पनि गाउँदै हुनुहुन्छ नि ?
हजुर गाउँदै आएकी छु । हालैमात्र ‘जारको पानी’ बोलको लोकगीत ल्याएकी छु । यहाँहरुले यु–ट्युबमा सर्च गरेर पनि हेर्न सक्नुहुन्छ । यो गीतबाट राम्रो दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेकी छु ।
मोडलिङ गर्दागर्दै किन गायनलाई रोज्नुभयो ?
गायन सानैदेखिको रुचि हो । सानोमा पनि गाउँघरमा गीत गुनगुनाउँथेँ । तर, काठमाडौं आएपछि सुरुमा मोडलिङमा चान्स पाएँ । त्यसैले मोडलिङ गरेकी हुँ । रुचि पूरा गर्नलाई गीत गाएकी हुँ ।
तपाइँको परिचय दिँदा मोडल कि गायिका ?
म लोकगायिका हुँ, त्यसपछि मोडल । मोडलिङ बाहिरी रहरले मात्र गरेकी हँु । तर गायनमा मेरो भित्रिदेखिकै रुचि हो ।
अहिले लोकगायिकाहरु ‘मोर्डन’ हुन थाले नि, यहाँलाई कस्तो लाग्छ ?
हो, मोर्डन हुनु त राम्रो कुरा हो । अर्को कुरा लोकगायिका भन्दैमा कुर्ता–सुरुवाल र गुन्यूचोली नै लगाउनुपर्छ भन्ने मलाई लाग्दैन । ड्रेसअप आफ्नो इच्छाको कुरा हो ।
तपाइँले लोकगायनलाई नै किन रोज्नुभयो ?
म गाउँमा जन्मेकी मान्छे । गाउँघरमा सानैदेखि लोकगीत सुन्दै आएकाले मन पनि लोकगीतमै बस्यो । त्यसैले लोकगीत नै राजेँ । र, लोकगायिका भएकैमा मलाई गर्व लाग्छ ।
मोडलिङ पनि लोकगीतमै गर्नुभएको छ । आधुनिक गीतमा मोडलिङका लागि प्रस्ताव आयो भने के गर्नुहुन्छ ?
त्यस्तो अफर आयो भने सोच्छु । पहिलो कुरा मलाई फिट हुन्छ कि हुन्न, त्यो सोच्छु । यदि मलाई सुट गर्ने गीत भए गर्छु ।
अहिलेसम्म देश–विदेश कहाँ–कहाँ कार्यक्रम गर्नुभयो नि ?
हालैमात्र जापान गएर आएकी हुँ । विदेशमा त अहिलेसम्म जापानमात्र गएकी छु । नेपालमा त पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म कार्यक्रम गरिसकेकी छु ।
तपाइँ अहिलेसम्म सिंगल नै होइन त ?
हो, म सिंगल नै छु । अझै केही वर्ष सिंगल नै बस्ने सोच छ । विवाह गरेपछि झन्झट आइलाग्छ नि ।
प्रेम र विवाहको प्रस्ताव कतिको आउँछ ?
हल्का आउँछ । तर मलाई हतार छैन । मलाई बन्धनमा बाँधिएर बस्ने रहर पनि छैन । त्यसैले अस्वीकार गर्दै आएकी छु । एकचोटी स्वीकारेकी थिएँ । तर मन नमिलेपछि ‘ब्रेक’ गरेँ ।
घरजमको गर्ने सोच त होला ?
घरजम त गर्नुपर्छ नै । त्यसका लागि मलाई बुझ्ने, मेरो पेसालाई सम्मान गर्ने र केयर गर्ने भयो भने केही वर्षपछि विवाह गर्छु । तर, यो दुई वर्ष चाहिँ विवाह नगर्ने ।
अरु नयाँ–नौलो के गर्दै हुनुहन्छ नि ?
कार्यक्रम, महोत्सव र मेलाहरुमै व्यस्त हुँदै आएकी छु । नयाँ भनेको अब चाँडै एउटा झ्याउरे गीत ल्याउँदै छु ।

प्रतिक्रिया दिनुहोस्