Logo
Logo

नेकपाको सरकार र पार्टी सञ्चालन सम्बन्धमा एक टिप्पणी


उपेन्द्र कार्की


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले करिब दुईतिहाइ बहुमतसहित सरकारको नेतृत्व र सञ्चालन गरेको २०७५ फागुन ३ गते नै एक वर्ष पुगेको छ । सात प्रदेशमध्ये ६ प्रदेशमा नेकपाको प्रदेश सरकार बनेको पनि एक वर्ष भइसकेको छ । स्थानीय तहका सरकार पनि अधिकांश नेकपाकै छन् । यसैबाट स्पष्ट हुन्छ निर्वाचनताका जनतामा रहेको नेकपाप्रतिको विश्वास र माया । जनतामा रहेको यही अपार विश्वास माया र त्यसलाई साकार तुल्याउने उत्कर्ष अभिलाषाले यस्तो स्वर्णिम अवसर र गहन जिम्मेवारी नेकपाले प्राप्त गरेको हो । यो विश्वास र मायाको उचाइ, गहनता र विशालताका साथ जिम्मेवारी बहन गर्ने र सम्पूर्ण शक्तिका साथ आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक समग्र क्षेत्रमा प्रगतिशील रुपान्तरणमा केन्द्रित भएर लाग्ने सवालमा व्यवस्थापकीय र कार्यकूशलता अपेक्षाअनुसार भएन कि भन्ने जनगुनासो यत्रतत्र सुन्न थालिएको छ । यद्यपि यो रुपान्तरणको प्रक्रियाले लामै समयको माग गर्दछ तब मात्र बहुसंख्यक जनताले यसको प्रतिफल प्राप्त गर्नेछन् । फेरि पनि शुरुआती चरणमै सरकारी तदारुकतामा गुनासो प्रशस्त भएको छ । यसलाई पार्टी र सरकारले गम्भीर ढंगले समीक्षा गर्नुपर्छ । कमजोरी, अदक्षतालाई महसुस गर्नुपर्छ । सत्य, तथ्य जनतामा राखिरहनु पर्छ । तिनलाई तत्काल सच्याउँदै अघि बढ्ने जनशैली कार्यान्वयन गर्नुपर्छ । तबमात्र जनतामा व्यापक उत्साह भर्दै दर्बिलो विश्वास कायम गर्दै जनपरिचालनद्वारा समाजवादतर्फको यात्रामा अघि बढ्न सकिनेछ ।

सबै तहका सरकार सञ्चालनका सवालमा ध्यान दिनुपर्ने केही कुरा,
१. लामो समयदेखि स्थानीय तहको वडादेखि संघीय सरकारका संयन्त्रहरुमा संलग्न व्यक्तिहरुले अनेक किसिमका दुरुपयोग, जनविरोधी काम, अनेक रुपरंगका अनियमितता, भ्रष्टाचारविरुद्ध कुनै किसिमको मोलाहिजा बिना नेता, कार्यकर्ता, सदस्य, सहयोगी, शुभचिन्तक, नातागोता कुनै प्रवाह नगरी सख्त कारवाही गरी दण्ड जरिवाना गर्ने कार्यलाई एक मिनेट पनि ढिला नगरी दृढतापूर्वक अघि बढाउनु पर्छ । यो कार्यको नेतृत्व र पहल सबै तहका नेता, कार्यकर्ता, सरकारका नेतृत्वले अग्रपंक्तिमा उभिएर यो पवित्र कार्यको नेतृत्व गर्नुपर्छ ।
२. पार्टी र सरकारका सबै तहमा भेदभाव, अन्याय, अत्याचार, पक्षपात, गुटगत स्वार्थलगायतका तमाम विकृतिलाई समाप्त गरिनु पर्छ ।
३. सबै तहका सरकारले दिने सबै किसिमका सेवासुविधा र कार्यसम्पादनमा रहेका अपराध, कमीकमजोरीलाई र ढिलासुस्तीलाई सख्त ढंगले निषेध गर्दै जनतालाई दिने सेवासुविधा छिटो छरितो चुस्तदुरुस्त सरल र सहज ढंगले उपलब्ध गराइनुपर्छ ।
४. विकास निर्माणलगायत सरकारी लगानीमा गरिने आयोजना कार्यान्वयनमा ऐन नियम नीतिमा रहेका कमजोरी तत्काल परिमार्जन र प्रतिस्थापन गर्दै हरेक आयोजना किफायती र मितव्ययी ढंगले उच्च गुणस्तर, टिकाउ र दीर्घकालीन समयसम्म उपयोगी हुने गरी सम्पादन गर्ने कुराको सुनिश्चित हुने गरी तत्काल व्यवस्था गरी यही स्पिरिटमा कामलाई अघि बढाइनुपर्छ ।
५. सरकारी ठेक्कापट्टामा हुने अस्तव्यस्त र अपराधपूर्ण कार्यहरुको तत्काल अन्त्य गर्दै ठेक्का ओगटेर काम नगर्ने, गरे पनि गुणस्तरहीन र दोब्बर लागत लाग्ने गरी समयावधि असीमित बनाउने जस्ता राष्ट्र र जनविरोधी कुकार्यहरुको तत्काल अन्त्य गरी तत्काल नयाँ ऐन नियम बनाइ वैज्ञानिक ऐन नियम, विधि र प्रक्रिया अघि बढाई आयोजनाहरु कुशलतापूर्वक मितव्ययी र उच्च गुणस्तरयुक्त र छोटो समयमा सक्ने पद्धति अवलम्वन गरिनुपर्दछ ।
६. आयोजना निर्माण गर्दा स्वदेशी जनशक्ति प्रयोग गरी व्यवस्थित ढंगले छोटो समयमा सम्पन्न गर्ने व्यवस्था गरिनु पर्दछ ।
७. कृषि क्षेत्रमा उत्पादन बढेन भनिन्छ तर बिडम्वना र अत्यन्त दुखद् पक्षको रुपमा किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाउने र आफ्ना बाली नष्ट गर्न बाध्य हुनुपर्ने सत्य जगजाहेर छ । चितवन र धादिङका किसानले आफूले उत्पादन गरेको बन्दा र मुला ३ रुपैयाँ किलो बिक्री नभएर विवशतापूर्वक डोजर र ट्याक्टर लगाएर नष्ट गरेका छन् । कम्युनिष्ट पार्टीको सरकार छ तर जनताको यस्तो बेहाल छ । सरोकारवाला मन्त्रालय र सरकारी कार्यालय के रमिता हेरेर बसेका छन् । कुनै पनि तहका सरकारले यातायातको साधन व्यवस्था गरी सिधै विभिन्न बजारमा ढुवानी गरी बिक्री गरेर किसानलाई राहत दिन सकिँदैन थियो ? दूध उत्पादक किसान सडकमा दूध पोख्न विवश छन् । खासगरी तरकारीलगायत कृषि उत्पादनमा विचौलियाको अपराधपूर्ण कार्यलाई समाप्त गर्दै सरकारले हस्तक्षेप गरी विभिन्न ठाउँमा कोल्डस्टोरेज स्थापना गरी किसानलाई आफ्ना उत्पादनको उचित मूल्य दिने व्यवस्था गरिनु पर्छ ।
८. उद्योग, व्यापार, कृषि क्षेत्रमा पार्टी, जनवर्गीय संगठन, पेशागत संगठनको पहल र नेतृत्व अनि सरकारी र जनताको संयुक्त लगानीमा उद्योग व्यवसाय स्थापना र सञ्चालन गर्ने राष्ट्रिय अभियान सञ्चालन गरिनुपर्छ । खासगरी अन्नबाली, तरकारी खेती, पशुपक्षी पालन, फलफूल खेती, जडीबुटी खेती, सामूहिक रुपले संस्थागत रुपले आधुनिक यन्त्र, उन्नत बीउबिजन र वैज्ञानिक तरिका अपनाएर सञ्चालन गर्ने राष्ट्रिय अभियान सञ्चालन गरी जनताको जीवनस्तरमा सुधार र प्रगति गरी आर्थिक क्षेत्रमा क्रान्ति ल्याउन अति आवश्यक छ । यसमा पार्टी र सरकारले नेतृत्व लिनुपर्छ ।
उपरोक्त र यस्तै यस्तै देश र जनतामुखी कामहरु गर्दै जनतामा व्यापक उत्साह र उमंग, जाँगर र जोश ल्याउँदै राष्ट्र निर्माणको अभियानलाई अघि बढाउनुपर्छ । यसको मूल नेतृत्व सबै तहको पार्टीले लिनु पर्छ । यसको निम्ति पार्टी एकतालाई तत्काल सम्पन्न गर्न निम्न ढंगले अघि बढ्न उचित हुन्छ ।
१. नेकपाको सचिवालयले माथिबाट र तल्लो तहका विगतका कमिटीहरुको आपसी, छलफल, समझदारी र हार्दिक एकताबाट सबै कमिटीहरु चाँडोभन्दा चाँडो एकता प्रक्रिया सम्पन्न गरिनुपर्छ । यसमा गुटगत स्वार्थ, भेदभाव, पक्षपात नगरी वैज्ञानिक विधि र प्रक्रिया अवलम्वन गर्दै सम्पन्न गरिनुपर्छ ।
२. सात सयभन्दा बढी स्थानीय निकाय, संघीय र प्रदेशस्तरीय निर्वाचन क्षेत्र, विभिन्न विभाग र वर्गीय तथा पेशागत संगठनको जिम्मेवारी केन्द्रीय कमिटी सदस्यदेखि सबैलाई जिम्मेवारी दिँदै सबैलाई काम गर्ने, नेतृत्व गर्ने, आफ्नो क्षमता योग्यता अनुसार पार्टी र जनता अनि देशको सेवा गर्ने मौका प्रदान गर्दै अघि बढ्नुपर्छ ।
यसरी पार्टी एकताको काम तत्काल सम्पन्न गर्दै यथोचित जिम्मेवारी दिँदै सबै तहको सरकारलाई चलायमान बनाउँदै देश विकास गतिलाई तीव्रता दिँदै सुखी र खुशी जीवन नेपाली जनतालाई दिने संकल्प पूरा गर्नुपर्छ । २०७५।११।९
सहयोगीनगर, कोटेश्वर काठमाडौं

प्रतिक्रिया दिनुहोस्