Logo
Logo
लकडाउनको एकवर्ष

कोरोना  महामारीः नौ महिनाको लकडाउन र आर्थिक संकट


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर फैलिने चिन्ता पुनः सुरु भएको छ । छिमेकी भारतमा तीव्र गतिमा कोरोना संक्रमण फैलिन थालेपछि खुल्ला सीमाका कारण नेपाल पनि प्रभावित हुने अनुमानहरु गर्न थालिएको छ ।

आजभन्दा एक वर्षअघि नेपालमा कोरोना संक्रमित फेला पर्न थालेपछि ‘लकडाउन’ गरिएको थियो । तर, संक्रमित नियन्त्रणमा आउनुको सट्टा दैनिक बढ्न थाल्यो । यो एक वर्षमा आम मानिसको दैनिक सामान्य बन्दै गएको अवस्थामा पुनः विश्वव्यापीरुपमै संक्रमण देखिन थालेको छ ।

कतिपय मुलुकहरुले लकडाउन र निषेधाज्ञाहरु लगाउन थालेका छन् । भारतका कतिपय राज्यहरुमा लकडाउन गर्न थालिएको छ । नेपालमा पनि लकडाउन गर्नुपर्ने चर्चा चल्न थालेको छ । सीमा नाकाहरु खोल्न, उडानहरु सञ्चालन गर्न थालिएको छ । संक्रमण फेरि फैलिए लकडाउन हुने हो कि भन्ने चिन्ता पनि सुरु भएको छ ।

अहिले पुनः कोभिड–१९ संक्रमणको दोस्रो लहर शुरु भएको छ । भारतमा दोस्रो लहर देखापरेकाले थप सतर्कता अपनाउनुपर्ने भएको छ । यसअघिसम्म नेपालले थोरै मानवीय क्षतिमा कोभिड–१९ को संकटको सामना गरेको भएपनि सतर्क भएर स्वास्थ्य सुरक्षाका उपाय अपनाइएन भने अवस्था भयावह हुनसक्छ ।

आर्थिक विश्लेषकहरुले दोस्रो पटक लकडाउन गर्नुपर्ने अवस्था आए मुलुकको अर्थतन्त्रले नधान्ने बताउँन थालेका छन् । यसअघिको लकडाउनले सिर्जना गरेको आर्थिक तथा राजनीतिक संकटका असरहरू जारी नै छन् । जनस्वास्थ्यका क्षेत्रका संकटसँगसँगै शुरु भएका आर्थिक र राजनीतिक संकट उल्टै गहिरिदैं छन् ।

९ महिनासम्म चलेको लकडाउनले नेपालको अर्थतन्त्र नै हल्लाइदियो । पुँजी बजारको कारोबार पनि करीब ३ महिनाका बन्द अवस्थामा रह्यो । कोभिडले नेपाली अर्थतन्त्रका मुख्य दुई क्षेत्रहरू पर्यटन र हवाइ क्षेत्रमाथि प्रहार गरेको थियो ।

आर्थिक वर्ष ७६/७७ का लागि सरकारले १५ खर्व ३२ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । सो बजेटले साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । तर कोरोनाका कारण प्रभावित यो बजेटको खर्चको अवस्था भने कमजोर रह्यो ।

विनियोजित बजेटको कुल ७१.१८ प्रतिशत अर्थात् १० खर्ब ९१ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । पुँजीगत बजेटमा खर्चको अवस्था गत वर्ष १ खर्ब ८९ अर्ब अर्थात ४६.३४ प्रतिशत मात्रै खर्च भएको छ ।

त्यस्तै सरकारले उक्त वर्ष कुल राजस्व संकलनको लक्ष्य ११ खर्ब १२ अर्बको लक्ष्य राखेकोमा ७५.६६ प्रतिशत अर्थात ८ खर्ब ४१ अर्ब रुपैयाँ मात्रै संकलन भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कले देखाउँछ ।

अघिल्लो ९ महिनामा भएका लकडाउनका कारण पर्यटन, निर्माण, यातायात लगायत अन्य अनौपचारिक क्षेत्रमा ठूलो संख्यामा मानिसहरू बेरोजगार बने । रोजगारीमा ठूलो धक्का पुर्‍याएको कोरोनाले उत्पादन र उपभोगलाई पनि सँगै प्रभावित बनायो, त्यसको पुनःस्थापनाका लागि अहिलसम्म त्यी क्षेत्रहरू संघर्षरत छन् ।

अहिलेसम्म नेपालमा कोभिड–१९ का दुई लाख ७६ हजार दुई सय ४४ संक्रमितहरू पुष्टी भएका छन् । अहिले एक हजार एक सय २८ सक्रिय संक्रमितहरू रहेका छन् भने कोभिड–१९ संक्रमितमध्ये ३ हजार १९ जनाले जीवन गुमाए ।

कोरोना विरुद्धका सरकारका कामहरू मध्ये सबैभन्दा प्रभावकारी खोप कार्यक्रम देखिएको छ । खोप कार्यक्रम देशभर ३,००० खोपकेन्द्रबाट उपलब्ध गराइएको छ भने देशभर झण्डै ५ प्रतिशत जनसंख्याले खोप लगाइसकेका छन् ।

खोपले कोभिड–१९ को जोखिम न्यूनीकरण गर्ने भएपनि कोरोनाको दोस्रो लहरबाट जोगिन र पूर्ण रूपमा महामारी नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका उपायसहित आर्थिक–सामाजिक गतिविधि गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्