Logo
Logo

वायुप्रदूषण अझै केही दिन : प्रमुख कारक डढेलो


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने देखिएको छ ।
वायु प्रदूषण मौसममा पनि भरपर्छ । मौसम यस्तै भइरहे केही समयसम्म प्रदूषण यस्तै रहने वा अझै खराबसमेत हुने सम्भावना रहेको विज्ञहरुले बताएका छन् ।

वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले यस्तो अवस्थामा सावधानी अपनाउन आग्रह गरेको छ । यसबाट जनस्वास्थ्यमा प्रतिकूल असर पर्नसक्छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रस्वास सम्बन्धी विरामी र मुटुका रोगीहरु बढी प्रभवित हुने भएकाले विभागले विशेष सावधानी अपनाउन सबैमा अपिल गरेको छ ।

विभागका उपमहानिर्देशक इन्दुबिक्रम जोशीले सकेसम्म सबै उमेर समूहका नागरिकलाई सम्भव भएसम्म घर बाहिर नकिस्कन, निस्कनैपर्ने अवस्थामा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रदूषणको प्रमुख कारण डढेलो

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ ।

अहिले नेपालको आकाशमा बाक्लो तुवाँलो लागेको छ । विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै तीन दिनदेखि नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको जानकारी दिनुभयो । उहाँका अनुसार मौसम सफा हुन डढेलो कहिले नियन्त्रणमा आउँछ भनेर अनुमान गर्न सकिने अवस्था छैन् ।

विभागकै मौसमविद् मञ्जु बासीले डढेलोका कारण वायुमण्डलमा असर परेको र बाक्लो तुवाँलो लागेको बताए । उनले भने, ‘वायुमण्डल स्थिर छ, हावा तलमाथि भएको छैन त्यसैले उपत्यकाको आकाश बाक्लो तुवाँलोले ढाकेको छ । बेगले हावा चलेको भए तुवाँलो छरिन्थ्यो र विस्तारै आकाश खुल्ने थियो । त्यो देखिदैन मङ्गलबारदेखि काठमाडौँको आकाश खुल्ने अनुमान गरिएको छ ।’

अहिले काठमाडौँ उपत्यका पूरै तुवाँलोले ढाकेको र भिजिबिलिटी कम रहेको उहाँले जानकारी दिनुभयो । प्रदेश नं २, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशमा वायु प्रदूषण देखिएको छ ।

अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन अपिल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि मौसममा आएको परिवर्तनसँग काठमाडाँै उपत्यकाभित्रको वायु प्रदूषण बढेकाले अत्यावश्यक कामवाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ । वायु प्रदूषणले स्वास्थ्यमा विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकोले अत्यावश्यक कामवाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न गर्न र शरीर पूरै ढाकिने गरी लुगा लगाएर मात्र निस्कन मन्त्रालयले आह्वान गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले वायु प्रदूषणले मानव स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन गम्भीर असर पर्न सक्ने सम्भावना रहेको जानकारी दिए ।
प्रदूषणले आँखा चिलाउने र पोल्ने, छाला चिलाउने, श्वासप्रश्वासमा गाह्रो हुने समस्या बृद्धि भएको छ । साथै दीर्घकालीनरुपमा मुटु र फोक्सोको समस्या बढ्ने, स्नायु प्रणालीमा असर पर्ने बालबालिकाको वृद्धिविकासमा असर गर्ने र क्यान्सरको समस्या हुने उनले बताए ।

प्रदूषणबाट बच्नका लागि सावधानी अपनाउन आग्रह गर्दै उनले भने, ‘प्रदूषित वातारण थप बढ्न नदिन जिम्मेवार निकाय र व्यक्तिले गर्नुपर्ने भुमिका महत्वपूर्ण छ । यस्तो बेला अनावश्यक गाडी प्रयोग नगर्ने, बैकल्पिक ऊर्जाको प्रयोग बढाउने, प्रदूषण कम हुने अन्य बैकल्पिक उपाय अपनाउने, विकास निर्माणका काममा धुलो कम हुने उपाय अवम्बन गर्ने । त्यसो गर्ने सके बस्न योग्य वातावरण हुनेछ ।’

प्रतिकूल मौसमका कारण तीन दिनदेखि काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय दुवैतर्फका उडान प्रभावित भएका छन् । मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलबाट दर्जनाँै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

शुक्रबार मध्याह्नपछि काठमाडौँ उपत्यकालगायत आसपासका क्षेत्रको वायुमण्डल बाक्लो तुवाँलोले ढाकेपछि अन्तरराष्ट्रिय विमानस्थलको उडान प्रभावित बनेको थियो । विमानस्थलमा तीन दिनदेखि यान्त्रिक पद्धत्ति (आइएफआर) बाटमात्रै उडान भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का उपमहानिर्देशक राजकुमार क्षेत्रीले अन्तरराष्ट्रिय उडान सञ्चालनमा रहेपनि आन्तरिक उडान सामान्य प्रभावित भएको जानकारी दिनुभयो । रात्रिकालीन उडानयोग्य नभएका सिमरा, भरतपुर र जनकपुरलगायत विमानस्थलको उडान भएको छैन ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ हवाइसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्