Logo
Logo

आईआईएफटीको ड्रेस टु इम्प्रेस-३ : क्युटीलाई सर्वोत्कृष्ट डिजाइनर उपाधि


दृष्टि संवाददाता


काठमाडौं, १६ चैत । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन)ले आयोजना गरेको तेस्रो संस्करणको डिजाइनर प्रतियोगिता ‘ड्रेस टु इम्प्रेस–३’मा क्युटी शाक्यले सर्वोत्कृष्ट डिजाइनरको उपाधि जित्न सफल भएकी छन् ।

प्रतियोगितामा उनले ९७ जना डिजाइनरलाई पछि पार्दै मुख्य उपाधि जितेकी हुन् । उपाधिसँगै उनले १५ हजार रुपैयाँ नगदका साथै ग्वार्को, ललितपुरमा केज फिटनेश सेन्टरको तर्फबाट २५ हजार रुपैयाँ बराबरको फिटनेस प्याकेजसमेत जितेकी छन् ।

प्रतियोगितामा फस्ट रनअपको उपाधि उमा राई मगरले जितेकी छन् । मगरले उपाधिसहित १० हजार रुपैयाँ नगद तथा केज फिटनेस सेन्टरको तर्फबाट १७ हजार रुपैयाँ बराबरको फिटनेश प्याकेजसमेत पाएकी छन् ।

 

यस्तै, प्रतियोगितामा राजनकुमार शाहले पाँच हजार रुपैयाँ नगद राशिसहित सेकेण्ड रनअपको उपाधि जित्न सफल भए । उनले उपाधिसहित केज फिटनेश सेन्टरबाट दश हजार रुपैयाँ बराबरको फिटनेस प्याकेज समेत पाएका छन् । उनी प्रतियोगिताका एकमात्र पुरुष फेसन डिजाइनरको रुपमा प्रतिस्पर्धि बनेका थिए ।
यो प्रतियोगितामा लिडर अफ द इयरको उपाधि फेसन प्रशिक्षकहरु सबिन ढुंगाना तथा सारिका राईले जितेका थिए । प्रतियोगितामा आईआईएफटीमा अध्ययनरत फेसन डिजाइनरका ९८ जना फेसन डिजाइनरका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

विपना थापाद्वारा कोरियोग्राफी गरिएको उक्त डिजाइनर प्रतियोगितामा मिस नेपालका आयोजक दिवाकरराज राजकर्णिकार, समाजसेवी उज्वलकृष्ण श्रेष्ठ, फेसन डिजाइनर महेश महर्जन, फेसन डिजाइन निभा श्रेष्ठ, सञ्चारकर्मी तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर, फोटो पत्रकार हरिगोपाल प्रधान, पर्यटन व्यवसायी मिलन शाक्यलगायत निर्णायक थिए ।

प्यासिफिक इभेन्ट म्यानेज्मेन्टले व्यवस्थापन गरेको तथा सञ्चारकर्मी रोजिन शाक्यद्वारा सञ्चालित उक्त कार्यक्रममा गायक लाक्पा शेर्पाले आफ्नो सांगीतिक प्रस्तुत दिएका थिए भने विभिन्न कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।
ललितपुरस्थित याक प्यालेसमा आयोजना भएको ग्राण्ड फिनालेमा विद्यार्थीहरुको प्रस्तुतति सोचेभन्दा उत्कृष्ट भएको आईआईएफटीका निर्देशक तेन्जिङ शेर्पाले प्रतिक्रिया दिए ।

बागबजार प्लाजा तथा मानभवन, ललितपुरमा रहेको आईआईएफटीमा फेसन डिजाइनिङ कोर्ष गरेका विद्यार्थीहरुको आत्मविकास अविबृद्धि गर्ने उद्देश्यले ‘ड्रेस टु इम्प्रेस’का सुरुवात गरेको आईआईएफटीका निर्देशक शेर्पाले बताए । यसअघि सोनी श्रेष्ठ र महेश्वरीनाथ योगीले ‘ड्रेस टु इम्प्रेस’मा अवार्ड जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्