Logo
Logo

‘कमरेड रविन्द्र, तिमी स्वर्ग नजाउ, फेरी नेपालमै आउ’


एमपी सुब्बा


एमपी सुब्बा

काठमाडौं, १६ फागुन । कलाकारमाझ प्रिय थिए, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी । कलाकारको मर्म र भावना बुझ्थे र कलाकारहरुको समस्या सामधानका निम्ति सधै तत्पर देखिन्थे मन्त्री अधिकारी । कलाकारले अधिकारीलाई आफ्नो विभागीय मन्त्रीसँगै अविभावक मान्थे ।
संस्कृति मन्त्रीसमेत भएकाले मात्र मन्त्री अधिकारी कलाकारमाझ प्रिय भएका होइनन् । उनी कलाकारसँग रमाउन चाहन्थे । मन्त्री अधिकारी प्राय कलाकारको हरेक कार्यक्रममा पुग्थे र कला क्षेत्रको समस्या बुझ्ने प्रयास गर्थे । तर, नेपाली कला र संस्कृतिप्रति अटल चासो राख्ने उनै मन्त्री अधिकारीको असमायिक निधनले कलाकार स्तब्ध भएका छन् ।
बुधबार हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सातको मृत्युको खबरले मर्माहित भएका कलाकारका लागि आखिर सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्नुबाहेक विकल्प नै रहेन । अधिकांश कलाकारले मन्त्री अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली चढाइरहेका छन् । उनीहरुले ‘हामीजस्ता कलाकारको मर्म र समस्या बुझ्ने देशको मन्त्री तथा होनाहर नेता’को संज्ञा दिँदै उनलाई गुमाउदाको पीडा पोखिरहेका छन् ।
चर्चित संगीतकार तथा कलाकारले रोयल्टी पाउनुपर्छ भन्दै सधै आवाज उठाइरहने महेश खड्काले मन्त्री अधिकारीको असामयिक निधनले ‘कलाकारकाहरुको एउटा सपना टुटेको’ भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
संगीतकार खड्काले आफ्नो फेसबुक एकाउन्टमा लेखेका छन्, ‘हाम्रा अधिकारमा तिमीसँगै थियौ । हाम्रा सपनामा तिमीसँगै छौ । सर्जकका ढुकढुकी संगीत रोयल्टीका अविभाबकको निधनले हामी सबै स्तब्ध भएका छौँ । हामी टुहुरो भएका छौँ । तर, रोयल्टी संकलनको बाटोमा काँडा हटाइँ फूल छरेर सबै कलाकारको सुनौलो भबिस्य निर्माणका लागि गर्नुभएको योगदान कहिले पनि भुल्ने छैनौँ । तपाइको बैकुण्ठमा बास होस् ।’
हुन पनि कलाकारहरु रोयल्टीबारे आवाज उठाइरहेका बेला मन्त्री अधिकारीले साथ दिएका थिए । मन्त्री अधिकारीकै साथ र हौसलाले कलाकारहरुको रोयल्टी संलकन तथा प्रतिलिपि अधिकारलाई दरिलो बनाएका थिए । त्यसैले पनि मन्त्री अधिकारी कलाकारमाझ प्रिय बनेका थिए ।
यस्तै, चर्चित गायक शिव परियारले पनि मन्त्री अधिकारीको निधनले देशले नै एक कुसल युवा नेता गुमाएको भन्दै कलाकारले अविभावक गुमाएको जनाएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ज्यान गुमाएका ६ जनाप्रति दुःख व्यक्त गरेका छन् ।
यस्तै, चर्चित गायिका अञ्जु पन्तले मन्त्री अधिकारीलाई कलाकारहरुले कहिल्यै नविर्सिने बताएकी छन् । उनले आफ्नो फेसबुक एकाउन्टमा लेखेकी छन्, ‘संगीतकर्मीहरूलाई रोयल्टी दिलाउन विषेश भूमिका खेल्नुहुने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीसहित ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी असामयिक निधन हुनुभएका सम्पूर्णमा हार्दिक समवेदना ।’
यस्तै, रोयल्टी संकलन समाज नेपालका अध्यक्षसमेत रहेका बरिष्ठ संगीतकार सुरेश अधिकारीले नेपाललाई रविन्द्र अधिकारी जस्तो नेताको आवश्यकता रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन्, ‘कमरेड रविन्द्र, तिमी स्वर्ग नजाउ, फेरी नेपालमै आउ । अझै केही बर्ष तिम्रो खाँचो छ नेपालमा । यहाँ तिमीजस्ता धेरै रबिन्द्रहरु चाहिन्छ । के शब्दले मान्छौ तिमी ?’


यस्तै, अभिनेत्री रेखा थापा, चर्चित गायिका अञ्जु पन्त, गायक स्वरुपराज आचार्यलगायतका विभिन्न कलाकारले मन्त्री अधिकारीको असामयिक निधनले मर्माहित हुँदै शोक व्यक्त गरेका छन् ।
यसैबीच निधन भएका मन्त्री अधिकारीको प्रोफाइलमा फेसबुकले ‘रिमेम्बरिङ’ लेखेको छ । फेसबुक खोल्ने व्यक्तिको मृत्यु भएमा प्रोइललमा नै फेसबुक कम्पनीले यसो गर्ने गरेको छ ।
बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको डाइनेस्टी एयरको हेलिकप्टर ताप्लेजुङको सिस्नेभीर नजिकै दुर्घटनाग्रस्त हुँदा सबै सातैजनाको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्