Logo
Logo

ओलीका कारण ईश्वर पोखरेलको राजनीति समाप्त


शम्भु श्रेष्ठ


मैले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दोस्रोपटक प्रधानमन्त्री भएपछि सिंहदरबार पुगेरै भनेको थिए– ‘नेपालकै इतिहासमा तपाईं दुईतिहाइ बहुमतसहित प्रधानमन्त्री हुनुभएको छ, यो नेपालको कम्युनिष्ट इतिहासका लागि मात्र होइन, विश्व कम्युनिष्ट आन्दोलनको लागि पनि गर्वको कुरा हो ।

तपाईंको नेतृत्वमा मुलुकलाई पाँच वर्ष चलाउन सकियो भने अब, नेपालको कम्युनिष्ट पार्टीले दश, पन्ध्र वर्षभित्रै आर्थिक समृद्धि हासिल गर्नेछ । त्यसका लागि पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्नुपर्छ । नेपालको कम्युनिष्ट पार्टीले प्राप्त गरेको यो विजय कतिपयलाई मन नपरेको हुनसक्छ । त्यो कुरा त संविधान निर्माणकै क्रममा नेपाली जनताले भोगेको नाकाबन्दीबाट पनि स्पष्ट हुन्छ । यस्तो अवस्थामा बाहिरबाट सरकारलाई असफल पार्ने सम्भावना छैन ।

तर, कम्युनिष्ट विरोधीहरुले पार्टीभित्रै खेल्न सक्छन् भन्ने कुरामा सजग हुनुपर्छ । उनीहरुले तपाईं निकट व्यक्तिहरुलाई प्रयोग गर्न सक्छन् । विदेशी एजेन्टबाट तपाईं बच्नु भएन, भने बिचैमा भद्रगोल स्थिति पनि आउन सक्छ । त्यही भएर अहिलेदेखि नै पार्टीभित्र सबैलाई मिलाएर लैजानुपर्छ ।’

त्यसपछिको अर्को भेट प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भयो । वरिष्ठ नेता माधवकुमार नेपाल पनि आउँदैछन् भनेपछि मैले संक्षेपमा आफ्नो कुरा राख्दै प्रधानमन्त्रीलाई भने– ‘प्रचण्डजस्तो अस्थिर मान्छेलाई बोकेर हिँड्नुभएको छ, कहाँ पुगेर लडिन्छ थाहा छैन । त्यसो भएर माधव नेपाललाई चिढ्याउने काम नगर्नुस् । प्रचण्ड भनेको विगतमा एमाले भत्काउन हिँडेको मान्छे हो, माधव नेपाल त यो पार्टीको जग हो ।

माधव नेपालको पनि केही कमी कमजोरी होलान्, तर, भित्तामा पुर्याउने काम नगर्नु होला । प्रचण्डजस्तो मान्छेसँग मित्रता गाँसिरहँदा माधव नेपाललाई शत्रुतापूर्ण व्यवहार गर्दा पार्टी एकता टुंगोमा नपुग्न सक्छ । किनभने, प्रचण्डसँग पार्टी एकता गर्दा आलोपालो प्रधानमन्त्री र एकता महाधिवेशनबाट प्रचण्डलाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति भएको मैले सुनेको छु ।

त्यो सहमति कार्यान्वयन गर्न पनि माधव नेपाललाई विश्वासमा लिनुपर्छ । नत्र एकता महाधिवेशन भाँडभैलो हुन्छ । दुई पार्टीबीचको एकतालाई माधव नेपालले मौनताका साथ स्वागत गरेका छन् । ओली र प्रचण्ड कसरी अगाडि बढ्छन् भन्ने कुरा उनले विश्लेषण गरिरहेका छन् । यति ठूलो जोखिम मोलेर पार्टी एकता गरिरहँदा विचार, पद्धति र विधिसम्मत ढंगबाट पार्टीलाई अगाडि बढाउनुपर्छ, त्यसो गर्न सकिएन भने पार्टी र सरकार दुवै असफल हुन्छ । त्यसका लागि माधव नेपालको साथ तपाईंलाई चाहिन्छ ।’

ओली, पोखरेल एउटै डुंगामा सवार छन् । ओलीले त्यो डुंगामा प्वाल पारेनन् भने पोखरेलको राजनीतिक यात्रा सफल होला, अन्यथा मंसिरमा गर्ने भनिएको महाधिवेशनसँगै उनको राजनीतिक यात्रा टुंगिने छ ।

नभन्दै, नेपाली जनताले ०७४ सालको निर्वाचनमा एमाले र माओवादीलाई पाँच वर्षको लागि दिएको मत प्रधानमन्त्री ओलीले सदुपयोग गर्न सकेनन् । विदेशी एजेन्टहरुले ओली र प्रचण्डलाई मिल्न पनि दिएनन् । ओली र माधवलाई पनि मिल्न दिएनन् । न त पार्टी एकता गर्दा भएको सहमति नै कार्यान्वयन भयो । एक दिन यस्तो अवस्था आउन सक्ने कुराको आंकलन मैले दुई वर्ष अगाडि नै गरेको थिएँ ।

यस्तो अवस्था नआओस् भनेर ईश्वर पोखरेलसँग पनि मैले लामो कुराकानी गरेको थिए । एमाले र माओवादी पार्टी एकता भएको ईश्वर पोखरेललाई पटक्कै चित्त बुझेको थिएन । त्यसैले ईश्वर पोखरेलले त्यो एकताको खुलेरै विरोध गर्दै आएका थिए । पार्टी एकतापछि पोखरेल घाइते बाघजस्तै बनेका थिए ।

किनभने, पार्टी एकता गर्दा उनको महासचिव पद खोसियो । उनले मागेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री पनि उनलाई दिइएन । ओलीले उनको राजनीतिक जीवन समाप्त पार्न खोजेका थिए । नवौं महाधिवेशनमा ओलीलाई ‘स्टेचर’मा बोकेर भए पनि एमालेको अध्यक्ष बनाई छाड्छु भनेर उनले भाषण गरे । जब ओली अध्यक्ष भए, तब तिनै ओलीबाट पोखरेल पीडित मात्र भएनन्, पटक–पटक अपमानित बन्न पुगे ।

दशौं महाधिवेशनमा अध्यक्ष बन्ने पोखरेलको सपना पार्टी एकतासँगै बिलायो । तर, पोखरेल गलेनन् । ओलीलाई सिध्याएरै छाड्छु भन्थे । नभन्दै पुस ५ गतेको कदमसँगै पोखरेलले ओलीलाई सिध्याएरै छाडे । एमालेको दशौं महाधिवेशनमा आफ्नो अध्यक्ष पद सुरक्षित बनाए पनि पोखरेललाई ओलीले फेरि थाङ्नामा सुताउने छन् । त्यसपछि पोखरेल घर न घाटका हुनेछन् ।

माओवादीसँग पार्टी एकता गर्ने कुरा एकै रातमा भएको निर्णय थिएन । लामो कुराकानी, प्रक्रिया चलेर मात्र पार्टी एकता गर्ने निष्कर्षमा ओली र प्रचण्ड पुगेका थिए । के कुराकानी भयो, के सहमति भयो एमालेका निर्वाचित महासचिवजस्तो जिम्मेवार ईश्वर पोखरेललाई सुइँकोसम्म दिइएन ।

पोखरेलले पनि आश्चर्य व्यक्त गर्दै यो एकताको रहस्य पत्ता लगाउन खोजिरहेका थिए । उनलाई पनि कता–कता विदेशीको चलखेल हो कि भन्ने आशंका लागेको थियो । तर, रक्षामन्त्री भएका कारण उनले आफ्नो मनमा लागेको कुरा बोल्न भएन । जब भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण तय भयो, तब उनी फेरि मारमा परे । उनलाई अपमानजनक ढंगबाट रक्षा मन्त्रालयबाट हटाइयो । यो घटनाले उनको मनमा उठेको शंका ठिकै रहेछ भन्ने पुष्टि गर्यो ।

ओलीबाट पटक–पटक अपमान सहेका पोखरेलले त्यति हुँदा पनि ओलीको साथ छाडेनन् । किनभने, ओलीले यो दिन पनि भोग्नुपर्छ भन्ने कुरा पोखरेललाई पहिल्यै थाहा थियो । अहिले पार्टी फुटेकामा सबैभन्दा बढी खुशी पोखरेल नै छन् । किनभने, अब एमालेको कित्ताकाट भएको छ । माओवादीसँग चाडकी गर्नुपर्ने बाध्यता हटेको छ । तर, पनि उनको राजनीतिक भविष्य सुनिश्चित किन पनि छैन भने ओलीले नक्कली राष्ट्रवादको खोल ओढेका छन् ।

ओलीको तुलनामा पोखरेल सच्चा राष्ट्रवादी नेता हुन् । सच्चा राष्ट्रवादी नेता बन्नु नै पोखरेलका लागि दुर्भाग्य बनेको छ । ओली, पोखरेल एउटै डुंगामा सवार छन् । ओलीले त्यो डुंगामा प्वाल पारेनन् भने पोखरेलको राजनीतिक यात्रा सफल होला, अन्यथा मंसिरमा गर्ने भनिएको महाधिवेशनसँगै उनको राजनीतिक यात्रा टुंगिने छ । किनभने, पोखरेललाई पनि थाहा छ– ओली जे बोल्छन्, त्यो गर्दैनन्, जे गर्छन्, त्यो बोल्दैनन् ।

प्रतिक्रिया दिनुहोस्