Logo
Logo

चुरेमा लागेको डढेलोले जैविक मार्गमा समस्या

जंगली जनावरहरु पलायन हुन थाले


हिक्मत बम


धनगढी । तीन सातादेखि चुरेमा लागेको डढेलोले जैविक मार्गमा समस्या देखिएको छ । चुरेमा लागेको डढेलोले चुरे क्षेत्रको हरियाली नष्ट भएको छ भने नयाँ पालुवा जलेर खरानी भएको छ । जसले गर्दा जैविक मार्गमा समस्या देखिनुका साथै जीवजन्तुहरुको बासस्थानमा पनि नासिँदै गएको छ ।

चुरे र महाभारत पहाड जोड्ने जैविक मार्गबाट त्यहाँको जंगलमा पाइने बाघ, गैँडा, चित्तल, जरायो, निलगाई, अर्ना, भालुलगायत संरक्षित वन्यजन्तु दैनिकजसो तल्लो तटिय क्षेत्रका आउजाउ गर्ने गर्दछन ।

तर, वनजंगलमा लाग्ने र लगाइने डढेलोले कैलाली, कञ्चनपुरको उत्तर-पूर्वी र उत्तर-पश्चिमको चुरे क्षेत्र भएर महाभारत पर्वत श्रृँखलाको पहाड जोड्ने जैविक मार्गमा जीवजन्तुको बासस्थान नासिँदै गएकाले र सो क्षेत्रको वनजंगलमा बसन्त ऋतुको समयमा डढेलो लाग्ने गरेकाले उक्त मार्ग भएर आवत–जावतमा गर्ने वन्यजन्तुहरुलाई समस्या भएको हो । जसले गर्दा सो क्षेत्रमा देखापर्ने जंगली जनावरहरु पछिल्लो समय लोप हुँदै गएको बताइन्छ ।

चुरे भएर महाभारत जोड्ने जैविकमार्ग (करिडोर) संरक्षणका हिसाबले अतिसंवेदनशील मानिन्छ । वर्षेनी चुरे क्षेत्रका वनजंगलमा लाग्ने आगलागीका कारण वन्यजन्तुहरु चुरे र महाभारतको पहाडबाट विस्थापित हुँदै जान थालेको स्थानीयहरुले बताएका छन् ।

स्थानीयकाअनुसार सो क्षेत्रमा पाइने बाघ, बँधेल, भालु, जरायो, हरिण, चितुवा, गुना, बाँदरलगायतका जंगली जनावरहरु र त्यस क्षेत्रमा पाइने चराचरुंगीहरु पनि लोप हुँदै जान थालेका छन् भने सो क्षेत्रमा पाइने बहुमूल्य जडिबुटीहरु पनि जलेर खरानी हुँदै जान थालेको छ ।

जंगली जनावर पलायन हुन थाले

‘वन डढेको सबैले देख्छन्, मन डढेको कसैले देख्दैन’ यो उखानले चेतनशील प्राणी मानिसलाई गिज्याइरहेको छ । यतिखेर चुरे क्षेत्रको वनजंगलहरु डढेर खरानी भएसँगै जैविक मार्गपनि ध्वस्त हुँदै गएको छ । जसले गर्दा वनजंगलमा पाइने जिवजन्तुहरु पछिल्लो समय बासस्थानको खोजिमा पलायन हुँदै जान थालेका छन् ।

उदाहरणका रुपमा चुरे क्षेत्रमा केही समय पाइने पाटेबाघ र गुनालाई लिन सकिन्छ । पुस्तांैदेखि चुरे क्षेत्रमा बस्दै आएको पाटेबाघ बासस्थान नासिँदै गएकाले आफ्नो वासस्थानको खोजिमा चुरेको तल्लो तटिय क्षेत्रमा देखापर्ने गरेका छन् । र, उपयुक्त बासस्थान नपाउँदा ती जनावरहरु सो क्षेत्रबाट पलायन हुँदै गएको पर्यावरणीयविद्हरुले बताएका छन् ।

उनीहरुकाअनुसार बासस्थान नासिँदै गएपछि जंगलीे पलायन हुनु स्वभाविकै हो । त्यसैले जैविक विविधतामा टेवा पुर्याएको चुरे क्षेत्र र महाभारतको पहाडलाई संरक्षण गर्नुपर्ने देखिन्छ ।

यो विज्ञान र प्रविधिको युगमा मन दुखाउँदै हेरिरहेका छौँ, प्रदूषित आकाश कुहिरीमण्डल भएर तुवाँलोको साम्राज्यमा हराइरहेको । भू-उपग्रहबाट खिचिएको तस्बिरले सयौँ स्थानमा आगो लागेको देखाएको छ ।

गर्मी मौसम बढेसँगै त्यो वन क्षेत्रमा लागेको आगोले सारा वन क्षेत्र विनास भएको छ । डढेका छन् वनमा पाइने हजारौँ वनस्पति, वनौषधि, लोपोन्मुख अनेकौँ वन्यजन्तु, दुर्लभ प्रजाति । जसका कारण ऐतिहासिक वातावारणीय चक्रमा ठूलो आघात भएको छ । यसतर्फ कसैको ध्यान पुगेको छैन ।

डढेलोले वायु प्रदूषण

केही दिनअघि काठमाडौँ उपत्यकाको वायुको गुणस्तर सूचकांक ४७० सम्म पुगेको थियो । दुई महिनाअघि २० जनवरीको बिहान काठमाडौंको वायुमण्डलमा हावाको गुणस्तर वायु गुण सूचकांक (एयर क्वालिटी इन्डेक्स) ४ सय ३७ मापन गरिएको थियो ।

वनजंगलमा धनी देश, प्राकृतिक स्रोत र सम्पदामा धनी देशको काठमाडौं सहर हावाको गुणस्तर वायु गुण सूचकांक (एयर क्वालिटी इन्डेक्स)मा विश्वका ५० सहरमध्ये नम्बर एकमा देखिनु चिन्ताको विषय हो ।

त्यस्तै, सोमबार साँझ ६ बजे चितवनको एअर क्वालिटी इन्डेक्स ४२५ थियो । विश्व स्वास्थ्य संगठनले एअर क्वालिटी इन्डेक्स (एक्युआइ) ३०० भन्दा बढी हुनुलाई ‘घातक’ भनेको छ ।

देशको प्राकृतिक स्रोतसाधन, वनजंगल, अमूल्य वनस्पति र जनावरका अवैध सिकार, तिनका सिङ, छालासम्ममा गरिने तस्करीले आज विश्व पर्यावरण र वैश्विक इको सिस्टममै गम्भीर संकट देखापरेको छ ।

वनजंगलमा वर्षेनी लाग्दै गएको डढेलोले नेपाल मात्र नभई विश्व नै जलवायु परिवर्तनको गम्भीर संकटबाट गुज्रिरहेको छ । पर्यावरणविद्हरूले जानकारीअनुसार सही समयमा कार्बन उत्सर्जन नघटाउने हो भने पृथ्वीका हरेक जीवको अस्तित्व खतरामा हुनेछ ।

यसको खतरा नेपाल लगायतका विकासोन्मूक देशमा बढी देखिने छ । र अहिले नेपालमा अचानक वायुमण्डलमा थपिएको यो वातावरणीय प्रदूषण र वनको डढेलोले चिन्तित बनाएको छ ।

जैविक विविधतामा ठूलो सहयोग पुगाएको चुरे क्षेत्रको संरक्षण गर्नका लागि सरोकारवाला निकायको ध्यान जान जरुरी देखिन्छ । चुरे क्षेत्रको संरक्षण गरिने हो भने यसले पछिल्लो समय पृथ्वीमा देखा परेको दैविक प्रकोप र प्राकृतिक प्रकोपको समस्यालाई नियन्त्रण गर्ने विज्ञहरुले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्