Logo
Logo

शोकमा मन्त्री अधिकारीको गाउँ, सम्झिँदै भक्कानिँदै स्थानीय


- दृष्टि न्युज/संवाददाता


तस्बिर राजधानी दैनिकबाट सभार

कास्की, १७ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्रप्रसाद अधिकारीको अकल्पनीय निधनले उनको जन्मगाउँ शोकमा डुबेको छ । पोखराको भरतपोखरीस्थित उनको गाउँमा आफन्तजन तथा गाउँलेको रुवावासी चलेको छ । जहाँ सबैको आँखा रसाएका छन् । छिमेकीलाई सान्त्वना दिन उपस्थित भएकाहरू नै भावविह्वल बनेर विकासप्रेमी नेता मन्त्री अधिकारी सम्झिँदै भक्कानिरहेका छन् ।
भरतपोखरीको जामुनेबोटमा २२ वैशाख २०२६ मा जन्मिएका छरितो बानीबेहोराका अधिकारीलाई राजनीतिमा डो¥यायोे । आमा लक्ष्मी अधिकारी र पिता इन्द्रप्रसाद अधिकारीका ज्येठा छोराका रूपमा जन्मिएका अधिकारीले प्राथमिक शिक्षा गाउँकै शान्ति उदय माविबाट पूरा गरेका थिए । उनी सानै उमेरदेखि जिज्ञासु, तार्किक र चनाखो स्वाभावका रहेका अधिकारीलाई पढाउने गुरु रविन्द्रनाथ आचार्य सम्झन्छन् । समृद्धिको मार्गप्रशस्त गरेका हँसिलो स्वभाव, रिसाउन नजान्ने, अनुशासित र ठूलालाई कदर गर्ने मन्त्री अधिकारीको सानैदेखिको बानी रहेको उनले स्मरण गरे ।
सारा गाउँ शून्य भएको छ, टुहुरो बनाएको छ र उनले परिकल्पना गरेका विचारलाई राज्यले सधैं सम्मान गरोस् भन्ने चाहना रहेको छिमेकी विष्णुमाया आचार्य पछैयोरीले आँखा पुछ्दै भनिन् । गाउँका ८८ वर्षेे वृद्ध केशव आचार्य बलिन्द्र धारा आँसु बगाउँदै छन् । उनी बोल्नसमेत सक्दैनन् । उनले यत्ति भने, ‘दैवले ह¥यो बाबुलाई ।’
पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुको इकाइ सभापतिदेखि पर्यटनमन्त्रीसम्म बनेका मन्त्री अधिकारी एक प्रतिबद्ध विकासप्रेमी युवा नेता थिए । सानैदेखि राजनीतिक गतिविधिमा रुचि राख्ने अधिकारी विद्यालयमा अनेरास्ववियु, रेडक्रस हुँदै क्लबमा संलग्न भए ।
२०४४ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष हुँदै २०५६ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बनेका थिए । उनी पटक–पटक गरी ६ महिना जेल बसेका थिए । २०६४ र २०७० को संविधानसभा निर्वाचन तथा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गरेका अधिकारी कास्कीबाट लगातार तीनपटकसम्म संसदीय निर्वाचन जित्ने एक मात्र नेता थिए ।यसैबीच, मन्त्री अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्रीलगायत मन्त्रीहरूले उनको परिवारका सदस्यलाई बिहीबार भेटेका छन् ।
पोखरा–५ मालेपाटनस्थित मन्त्री अधिकारीको निवासमा पुगेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत प्रदेशका सबै जना मन्त्रीहरूले अधिकारीका बाबुआमा तथा सदस्यलाई भेटी सान्त्वना दिए । छोराको निधनको खबरले शोकाकुल बाबु इन्द्रप्रसाद अधिकारी र आमा लक्ष्मी अधिकारीलाई बुधबार दिउँसो प्लेनमार्फत काठमाडौं लगिएको थियो ।
मन्त्री अधिकारीको गृह जिल्लामै राजकीय सम्मानका साथ अन्त्येष्टि हुने सरकारको निर्णयपछि काठमाडौं पुगेका अधिकारीका बाबुआमासहित परिवारका १२ जना सदस्य बिहीबार दिउँसो पोखरा आएका हुन् । मन्त्री अधिकारीका १० वर्षे कान्छा छोरालगायत अन्य भाइ पोखरा आइपुगिसकेका छन् । श्रीमती विद्या भट्टराई र जेठा छोरा शुक्रबार मात्र आइपुग्ने परिवारजनले जनाएको छ ।
मन्त्री अधिकारीको पार्थिव शरीर शुक्रबार पोखरा ल्याई दिउँसो १ बजेदेखि पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सम्मान तथा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने प्रदेश सरकारले तयारी गरेको छ । नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले राष्ट्रिय सम्मान दिने स्थान निर्माण गरेको छ ।
श्रद्धाञ्जलीपछि शव नयाँबजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक हुँदै रामघाटमा पुगेर राजकीय सम्मानका साथ अन्येष्टि गरिने गण्डकी प्रदेशको बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले समेत संघीय सरकारका पर्यटनमन्त्री अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै राजकीय सम्मानका साथ हुने अन्त्येष्टिमा कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ ।
अधिकारीको निधनको खबरले पोखरा स्तब्ध भएको छ । सरकारले सार्वजनिक बिदा घोषणा गरेकाले पनि होला बिहीबार सुनसान रह्यो ।

प्रतिक्रिया दिनुहोस्