Logo
Logo

‘म्यानमार हिंसाबारे नेपाल सरकारको गहिरो चिन्ता’


दृष्टि संवाददाता


काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संविधानले हिँड्न भनेको बाटो हिँड्नु नै वाञ्छनीय हुने बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री ज्ञवालीले प्रधानमन्त्रीको राजीनामा माग्‍नेहरुलाई संविधानसम्मत तरिकाले अघि बढ्न सुझाव दिएका हुन् ।

‘सरकार हटाउनका लागि पनि संविधानले प्रस्ट बाटो देखाइदिएको छ । त्यसैले अन्यथा बाटोभन्दा संविधानले जुनजुन बाटो हिँड्न भनेको छ । त्यही बाटोमा हिँड्नु वाञ्छनीय हुन्छ,’ उनले भने ।

ज्ञवालीले म्यानमार हिंसाप्रति नेपाल सरकारको गहिरो चिन्ता र चासो रहेको पनि बताए । उनले भने- ‘म्यानमारको पछिल्लो विकसित घटनाका सन्दर्भमा नेपाल सरकारको गहिरो चिन्ता र चासो रहँदै आएको छ।’

शान्तिपूर्ण प्रदर्शनमा पनि धेरै नागरिकको ज्यान गएको आफूहरुले देखेको भन्दै मन्त्री ज्ञवालीले त्यसविरुद्ध संयुक्त राष्ट्रसंघले पारित गरेको ‘रिजुलोसन’मा समेत नेपालले सर्मथन जनाएको बताए।

नागरिक नेताहरुलाई हिरासतमा लिने सैनिक सरकाको कदमबारे सरकारले तत्कालै विज्ञप्ति निकालेर विरोध समेत गरेको जनाए ।

नेपालको विदेश नीतिको आधारभूत पक्ष मानवअधिकार र लोकतन्त्र भएको भन्दै उनले सरकारले जुनसुकै हिंसाको विरोध गर्ने बताए।

‘हामी संलग्न विभिन्न संरचनाहरू छन्,’ उनले भने, ‘हामीसँग सार्क, बिम्स्टेक, बिबिआइएन लगायत क्षेत्रीय फोरम छन्। ती सञ्चालनको हामी सहमत भएको विधि छ । त्यस्ता फोरममा दुई पक्षीय विषय वा कुनै खास देशको घटनाबारे छलफल गरिँदैन ।’

मन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको केही दिन पहिलेको बंगलादेश भ्रमणबारे पनि प्रतिनिधिसभालाई जानकारी गराएका छन् । उनले राष्ट्रपतिको बंगलादेश भ्रमणका क्रममा भएका सहमतिबारे पनि जानकारी दिएका थिए ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्