Logo
Logo

लोकतन्त्र जोगाउन ओलीको बहिर्गमन पहिलो शर्त


शम्भु श्रेष्ठ


दुईतिहाइ मतसहित २०७४ फागुन ३ गते प्रधानमन्त्री पदमा नियुक्त भएका केपी शर्मा ओलीसँग आज १२१ मत पनि छैन । ०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा नेपाली जनताले नेकपा एमाले र माओवादी केन्द्रसँगको गठबन्धनलाई १७४ स्थानमा जिताएर पाँच वर्षसम्म सरकार सञ्चालन गर्ने जिम्मेवारी सुम्पिएका थिए ।

प्रधानमन्त्री ओली स्वयं आफैँप्रति इमान्दार भएको भए आज उनले यो अवस्था भोग्नुपर्ने थिएन । ‘विनाशकाले विपरीत बुद्धि’ भनेझैं सत्ता उन्मादमा आफैँले आफैँलाई सिध्याए । अहिले पनि प्रतिनिधिसभामा कम्युनिष्ट पार्टीहरुको १७६ मत छ । तर, ओली मरुभूमिमा पानीको प्यास मेटाउन दौडिरहेका छन् । करिब पैतालिस लाख मतदाताले एमाले र माओवादीलाई भोट हालेका थिए ।

त्यसको मतलब कम्युनिष्ट पार्टीकै सरकार बन्नुपर्छ भन्ने जनमत हो । त्यो जनमत कुल्चँदै ओली आज आएर कम्युनिष्टइतरको सरकार बनाउन उद्यत छन्, जुन कुरा जनमतको अपमान हो । यस्तो अपराध गर्नेलाई इतिहासले दण्डित गर्नेछ ।

पाँच वर्षसम्म सरकार सञ्चालन गर्न अक्षम पार्टी अध्यक्ष र प्रधानमन्त्री ओलीले राजीनामा गर्ने हो भने अर्को कम्युनिष्ट नेता आफ्नै पार्टी एमालेबाट प्रधानमन्त्री बन्ने सम्भावना छ । त्यो विकल्पलाई छाडेर कम्युनिष्ट विरोधी शक्तिलाई सत्ता सुम्पन खोज्नु गैरकम्युनिष्ट चरित्र हो ।

ओलीजस्ता चौध वर्ष जेल बसेका नेताबाट यस्तो अपराध हुनु नेपालको कम्युनिष्ट आन्दोलनको लागि ठूलो घात हो । पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीजस्ता नेताहरुप्रतिको अपमान हो । नेपालको कम्युनिष्ट आन्दोलनलाई केपी ओली एक्लैले यो स्थानमा पुर्याएका होइनन्, त्यसमा सयौं शहीदको बलिदानी र लाखौं जनताको रगत बगेको छ ।

सत्तरी वर्षपछि नेपालको कम्युनिष्ट पार्टीले प्राप्त गरेको दुईतिहाइ मत ओलीको खोक्रो राष्ट्रवादले आर्जन गरेको होइन, त्यो त कम्युनिष्ट पार्टीप्रति आम जनताको आशा र भरोसा हो । जसलाई ओलीले कुल्चिए । एउटा सामान्य नागरिकको जति नैतिकता पनि अब उनीमा बाँकी छैन ।

ओली राष्ट्रवादी होइनन्, विदेशी दलाल हुन् भन्ने कुरा पुस ५ गतेको घटनाले पुष्टि गर्यो । अब उनको हातबाट गर्नुपर्ने अन्य अपराध पनि गराइने छ । त्यो अपराध पुस ५ गतेको भन्दा खतरनाक हुने भएकोले यो संविधान जोगाउन पनि उनको बहिर्गमन पहिलो शर्त हो ।

जसका लागि फेरि पनि नेकपा एमाले, नेकपा माओवादी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी एक ठाउँ उभिनैपर्छ । किनभने, अहिले ओलीले जे जस्ता हर्कत गर्दै आएका छन्, त्यो उनको आफ्नो बुद्धिले होइन, कसैको योजनामा गर्दैछन् । त्यो योजना असफल पार्न पनि आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने पार्टीले खुट्टा कमाउनु हुन्न ।

प्रधानमन्त्री ओलीले देउवालाई पनि ‘ब्ल्याकमेलिङ’ गरेका छन् । त्यसैले देउवा ओलीसँग डराएका हुन् । सत्ताको आडमा देउवा र आरजुले अर्बौ कालोधन कमाएका छन् । त्यसको प्रमाण ओलीसँग भएकै कारण देउवा ओलीसँग भएकै कारण देउवा ओलीसँग टाँस्सिन बाध्य भएका हुन् । त्यसो त सत्ताको आडमा लुट मच्चाउने नेताहरु हरेक पार्टीमा छन् ।

तर, अरुको तुलनामा ओली र देउवाले बढी नै लुट मच्चाएको आरोप पनि छ । दूधले नुहाएका नेता कोही नभएकै कारण ओलीलाई पनि स्वीस बैंक खाताको डर छ । विशेष विमानबाट बालुवाटार छिरेका विशेष दूतले त्यही खाता खोल्न खोजेपछि पुस ५ को घटना भएको हो भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्