Logo
Logo

डढेलो रोक्न ‘फायर फाइटर’ हेलिकप्टर किन्ने सरकारकाे तयारी


दृष्टि संवाददाता


प्रतिकात्मक तस्वीर

काठमाडौं । सरकारले डढेलो नियन्त्रणको दीर्घकालिन समाधानका लागि अग्नि नियन्त्रक विमान (फायर फाइटर हेलिकोप्टर) किन्ने भएको छ।

मंगलबार रक्षा मन्त्रालयको चौमासिक बजेट समीक्षा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हाल देशमा बढ्दो ढढेलो नियन्त्रणमा प्रयोग हुने हवाइजहाज र हेलिकप्टर खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् ।

ठूलो मात्रामा र विकट जंगलका डडेलोमा हालका दमकल र जनशक्ति पर्याप्त नहुने भन्दै उनले यस्तो निर्देशन दिएका हुन् । ‘अहिलेका जस्ता आगलागीमा प्रयोग गर्न सकिने र अरु बेला तिनलाई अन्य काममा पनि लगाउन सकिने बहुउपयोगी हेलिकप्टर वा हवाइजहाज ल्याउनेतर्फ गृहकार्य थालिनु पर्छ’, प्रधानमन्त्रीले भने ।

उनले हाल देशमा भएकै हवाईजहाज वा हेलिकप्टरमा अग्नी नियन्त्रक यन्त्र जडान गरेर तत्कालको समस्या समाधान गर्न सकिने भए सोका लागि समेत कार्य प्रारम्भ गर्न सेनालाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले आगलागीको परिणाम स्वरुप उत्पन्न वायु प्रदुषणले स्वास्थ्य समस्या देखिनेतर्फ सचेत गराउँदै केही दिनयता आफूले समेत असहज महशुस गरेको बताए । ‘मभन्दा बुढाबुढी र रोगीलाई त झन् के भएको हुँदो हो ? त्यसैले विमान किनाैँ ’, उनले भने  ।

विमान कुन देशबाट किन्ने लगायत यसका खरिद प्रक्रिया टुंगाउन बाँकी छ । फायर फाइटर विमान चैत, वैशाख, जेठ र असार ४ महिना अग्नि नियन्त्रणका लागि प्रयोग गर्ने र बाँकी समय अन्य व्यावसायिक प्रयोजनमा लगाउन सकिनेबारे समेत छलफललाई अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्