Logo
Logo

उपप्रधानमन्त्रीको टिप्पणीप्रति कर्मचारीको आक्रोश


दृष्टि संवाददाता


काठमाडौं, २५ चैत ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन झिंगे टसाई सोचबाट मुक्त हुन नसकेको टिप्पणी गरेकोमा कर्मचारीहरु आक्रोशित भएका छन् । बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरुबीच निजामती सेवाका विविद पक्ष सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा झिंगे टसाई सोच प्रमुख समस्याको रुपमा रहेको बताएका थिए। कर्मचारीलाई नकारात्मक देखाउन खोजेको भन्दै उनीहरुले आलोचना गरेका छन् ।


समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको उपप्रधानमन्त्रीको भनाई थियो । त्यसैले निजामती प्रशासनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको बताए । उनले भने ‘अहिले निजामती प्रशासन भित्र रहेको प्रमुख समस्या हो सोचमा सकारात्मक परिवर्तनको अभाव, निजामती प्रशासन अझैसम्म (माफ गर्नुहोला एउटा शब्द प्रयोग गर्न चाहन्छु) झिंगे टसाई सोचबाट मुक्त हुन सकेको छैन । यसलाई विरासतमा पाएको भन्ने गरिएतापति समयको गतिसँग प्रशासन परिवर्तन हुन नसकेको रुपमा यसलाई बुझ्नु पर्दछ भन्ने म यहाँहरुसमक्ष राख्न चाहन्छु । त्यसैले होला निजामती प्रशासनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको छ ।’

कर्मचारीतन्त्र आफैमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको पनि उपप्रधानमन्त्री पोखरेलले बताए । ढिलासुस्ती, भ्रष्ट्राचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने लगायतका प्रवृतिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठने गरेको बताए । उनले भने ‘कर्मचारीतन्त्र आफैमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास राम्ररी जित्न सकिरहेको छैन ।

यसका पछाडि केही यस्ता कारणहरु छन जसले कर्मचारीतन्त्रको गरिमालाई कमजोर र जिर्ण बनाउँदै लगेका छन भनेर भन्न सकिन्छ । ढिलासुस्ती, भ्रष्ट्राचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने र राम्रो उद्देश्यका लागि पनि जोखिम बोक्न नचाहने प्रवृतिजन्य संस्कारका ऐजरुहरु कर्मचारी तन्त्रमा पलाउँदै गएका छन् भनेर आम टिप्पणी हुने गरेको छ । यसले नागरिक र कर्मचारीतन्त्रको बीचमा दुरी बढाउँदै लगेको छ ।’

म्याक्स वेबरको वेबेरियन मोडलको कर्मचारी तन्त्रका सकारात्मक पक्षलाई ग्रहण गर्दागर्दै पनि कर्मचारी तन्त्रका नकारात्मक पक्षलाई हटाउन नसकिएको पनि उपप्रधानमन्त्री पोखरेलले बताए । कर्मचारीतन्त्र निष्पृय, असंवेदशिल र जडसमूह नभएकोले कर्मचारी तन्त्रले आफूलाई संवेदनशिल, गतिशिल मानवहरुको विवेकशिल समूहको रुपमा स्थापित गर्न सक्नुपर्ने बताए । उनले भने ‘कर्मचारीतन्त्र निष्पृय, असंवेदनशिल र जड समूह होइन र हुन सक्दैन । यो एउटा संवेदनशिल र गतिशिल मानवहरुको विवेकशिल समूह हो । यस हिसाबले आफूलाई यसले अगाडि बढाउनुपर्छ । त्यसैले कर्मचारी तन्त्रले आफ्नो उत्तरदायित्व बुझ्नुपर्ने हुन्छ र जवाफदेहिता सम्झनुपर्ने हुन्छ ।’
कर्मचारीतन्त्रलाई दोष दिएर उपप्रधानमन्त्रीले आफ्नो कमजोरी लुकाउन खोजेको एक उच्च प्रशासकको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्