Logo
Logo

मन्त्री अधिकारी ‘नयाँ सोच राख्ने विकासवादी नेता’


- दृष्टि न्युज/संवाददाता


–नारायण ढुङ्गाना
काठमाडौँ । सर्वसाधारण तथा शुभेच्छुकले ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा परी दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी दूरगामी योजना बनाउनसक्ने नयाँ सोच भएका विकासवादी नेताको रुपमा स्मरण गरेका छन् ।

उनीहरूले मन्त्री अधिकारी राजनीति र विकासलाई एकैसाथ अघि बढाउन सक्ने र विमति राख्ने शक्तिसँग पनि समन्वय गरी निकास निकाल्न सक्ने क्षमता भएका व्यक्तिको रुपमा सम्झिए ।
उहाँको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणकी कर्मचारी ललितपुरकी देवीमायाँ खड्काले अहिलेसम्म आएका मन्त्रीहरूमध्ये केही गर्नुपर्छ, नयाँ काम देखाउनुपर्छ भन्ने व्यक्तिले छाडेर गएको भन्दै दुःख प्रकट गर्नुभयो ।
आँखामा टिलपिल आँशु बगाउँदै खड्काले स्मरण गर्नुभयो, “देशलाई समृद्ध पार्नुपर्छ भनेर लाग्ने उहाँले विमानस्थलको मुहार फेरेर हेर्न लायक बनाउनुभएको छ, विज्ञापन हटाएर एकीकृत गर्नुभयो, धेरै परिवर्तनका शुरुआत गर्नुभएको थियो, सबै अधुरै रहयो ।”
उहाँले थप्नुभयो, “दिवङ्गत हुनुभएका नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया पनि केही गरौँ भन्ने भावनाको हुनुहुन्थ्यो ।”
काठमाडौँका नवराज पोखरेलले मन्त्री अधिकारी केही गर्छु भन्ने भावना बोकेको युवा नेताको रुपमा सम्झँदै भन्नुभयो, “उहाँले नै यातायातमा विद्यार्थी छुटको कार्यक्रमलाई अगुवाइ गर्नुभएको थियो ।”
सानैदेखि राजनीतिक गतिविधिमा चासो राख्ने मन्त्री अधिकारी विद्यालयमा अनेरास्ववियु, रेडक्रस र क्लबमा संलग्न भएर विद्यार्थीलाई निःशुल्क कोचिङको व्यवस्था, पुस्तकालय, सरसफाइ, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसनलगायत माध्यमबाट राजनीतिक जागरणका गतिविधिमा क्रियाशील रहनुहुन्थ्यो । मन्त्री अधिकारीको योगदानको स्मरण गर्नुहुँदै शुभेच्छुक लक्ष्मी खड्काले युवा वर्गलाई अगाडि बढाउनुपर्छ भन्ने सोच राख्ने राजनीतिज्ञ गुमाएको प्रतिक्रिया दिनुभयो ।
पेशागत महासङ्घ नेपालका सभामुख किशोरकुमार नेपालीले पर्यटन क्षेत्रमा कसैले गर्न नसकेको काम मन्त्री अधिकारीले गरेको स्मरण गर्दै विकासवादी नेता हुनुहुन्थ्यो भन्नुभयो । नेपालीले समृद्ध नेपाल कसरी बन्न सक्छ भन्ने चिन्तामा डुब्ने मन्त्रीले नेपालका ठूला विमानस्थल निर्माणमा ठूलो भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।
विसं २०७४ को सङ्घीय संसद्मा कास्की क्षेत्र नं २ बाट निर्वाचित मन्त्री अधिकारी विसं २०६४ र २०७० को संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित हुनुहुन्थ्यो । उहाँले सार्वजनिक लेखा समितिलगायत विभिन्न उपसमितिमा रहेर विकृतिविरुद्धको नेतृत्व गर्नुभएको थियो । उहाँले संविधानसभामा राष्ट्रियहित संरक्षण समिति र युवाको दबाब समिति निर्माण गरी संविधानसभा निर्माणमा निरन्तर खबरदारी गर्नुभएको थियो ।
पाल्पाका हीरा नेपाल मन्त्री अधिकारीले विद्यार्थी राजनीति गर्दा आफूले शिक्षकको राजनीति गरेको सम्झँदै भन्नुभयो, “मेरो ३० वर्षे पुरानो चिनजान थियो, देशले एउटा भरोसा लाग्दो व्यक्ति गुमाउनु प¥यो ।” उहाँले विकासवादी नेताको रुपमा अधिकारीलाई चिनेको उल्लेख गर्नुभयो ।
संविधानसभा निर्माणमा सुरक्षा र अन्तर्राष्ट्रिय सीमाका विषयमा उपसमितिको नेतृत्व गर्नुभएका उहाँ विसं २०७० को चुनावपछि संसद्को विकास समितिमा सभापति बन्नुभयो । संसद्को विकास समितिमा रहँदा नेपालमा विकासको बहसलाई नयाँ उचाइ दिने अधिकारीले राष्ट्रिय गौरवका आयोजना र अन्य विकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशील रहँदै आउनुभएको थियो ।
श्रद्धाञ्जलिका लागि टुँडिखेल पुग्नुभएका जगन्नाथ खतिवडाले विविध क्षेत्रमा योगदान दिएका राष्ट्रको विकासका सम्वाहक गुमाएको स्मरण गर्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्