Logo
Logo

पाकिस्तानले मुक्त ग-यो आफ्नो कब्जाको भारतीय विमानचालक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ फागुन । पाकिस्तानले आफ्नो कब्जा लिएको भारतीय वायुसेनाका विमानचालकलाई शुक्रबार मुक्त गरेको छ ।
गएको २६ फेब्रुअरीमा पाकिस्तानले एउटा भारतीय लडाकु विमानलाई आफ्नो भूमिमा खसालिदिएको थियो । उक्त लडाकु विमानका चालक अभिनन्दन वर्तमान त्यसपछि पाकिस्तानको कब्जामा परेका थिए । उनलाई पाकिस्तान र भारतको अटारी सीमामा भारतीय पक्षलाई बुझाइएको हो ।
अभिनन्दनलाई विमानमा राखेर इस्लामाबादबाट लाहौर हुँदै पाकिस्तानी सेनाका गाडीले स्थलमार्गबाट वाघा पुगेका ल्याएका थिए । भारतीय वायुसेनाका अधिकारीहरू पनि हस्तान्तरण कार्यक्रममा उपस्थित थिए ।
वर्तमानलाई स्वागत गर्न हजारौँ भारतीयहरू सीमा क्षेत्र अटारीमा जम्मा भएका थिए । उनीहरूले हातमा मिष्ठान्न, विभिन्न नारा लेखिएका ब्यानर र माला बोकेको देखिन्थ्यो । उनीहरुले अभिनन्दनलाई आफ्नो ‘हिरो’ भएका बताएका छन् । एकले अन्तर्राष्टिय मिडियालाई भने, ‘हाम्रा नायक आफ्नो देश फर्किन लागेकाले हामी धेरै खुसी छौँ ।’ अभिनन्दनलाई स्वागत गर्न पुगेका सवैसाधारणले ‘भारत माताकी जय’ भन्दै नाचगान गरेका थिए ।
अभिनन्दन वर्तमानलाई स्वागत गर्न भारतको पञ्जाब राज्यका मुख्यमन्त्री अमरिन्दर सिंहलगायत अटारी पुगको थिए । उनी मुक्त हुनुभन्दा अगाडि भारतका प्रधानमन्त्रीले तमिलनाडुको कन्याकुमारीमा बोल्दै तमिलनाडु निवासी वर्तमानप्रति आफू गौरवान्वित भएको बताएका थिए । अभिनन्दनलाई अटारीबाट सिधै नयाँदिल्ली ल्याइएको थियो ।
गएको १४ फेब्रुअरीमा भारत प्रशासित कश्मिरमा पृथकवादी आक्रमण भएपछि भारत–पाकिस्तानबीच तनाव चुलिएको छ । त्यो आक्रमणमा ४२ जना भारतीय सुरक्षाकर्मीले ज्यान गुमाएका थिए । सो घटनामा पाकिस्तान संलग्न भएको भारतले आरोप लगाएको छ । तर पाकिस्तानले त्यसको खण्डन गर्दै आएको छ । उक्त घटनाको जैश–ए मोहम्मदले जिम्मेवारी लिएको थियो । त्यसपछि भारतले पाकिस्तानको बालाकोटमा हवाई आक्रमण गरेको थियो । यसै क्रममा भारतले आफ्नो वायुसेनाका विमानहरू प्रयोग गरेर विभिन्न कारबाही गरेको थियो। त्यसको आफूले प्रतिरोध गरेको पाकिस्तानले बताएको छ ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्