Logo
Logo

प्रशासन सुधारको नयाँ रणनीतिक योजना सफल होला ?


दृष्टि संवाददाता


काठमाडौं, २६ चैत
सार्वजनिक प्रशासन व्यापक सुधार ल्याउने उदेश्यले सरकारले दश वर्षे रणनीतिक योजना बनाएको छ । बुधबार सार्वजनिक गरिएको योजनामा सेवामा सुधारदेखि कर्मचारीको सरुवा–बढुवालाई अनुमानयोग्य बनाउनेसम्म छन् । तर, योजना पूर्णरुपमा कार्यान्वायन हुनेमा कर्मचारीहरु नै विश्वस्त छैन ।

रणनीतिक योजना सार्वजनिक गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना, मुख्यसचिव शंकरदास बैरानी र सङ्घीय मामिला मन्त्रालयका सचिव एकनारायण अर्या

उपप्रधानमन्त्री ईश्वर पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना, मुख्यसचिव शंकरदास बैरानी र सङ्घीय मामिला मन्त्रालयका सचिव एक नारायण अर्यालले योजना सार्वजनिक गर्दै प्रशासनमा सुधारमा जोड दिएका छन् ।
नेपाल सरकारका सबै जसो सचिव उपस्थित सो कार्यक्रममा रणनीतिक योजना सार्वजनिकसँगै निजामती सेवाका विविध पक्षमा छलफल भएको थियो ।
मुख्यसचिव वैरागीको अध्यक्षमा भएको सो कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा झिंगे टसाई सोच रहेकाले परिवर्तनको आवश्यकता औंल्याएका थिए । ‘अहिले निजामती प्रशासन भित्र रहेको प्रमुख समस्या हो सोचमा सकारात्मक परिवर्तनको अभाव, निजामती प्रशासन अझैसम्म (माफ गर्नुहोला एउटा शब्द प्रयोग गर्न चाहन्छु) झिंगे टसाई सोचबाट मुक्त हुन सकेको छैन,’ उनले भने,‘यसलाई विरासतमा पाएको भन्ने गरिएतापति समयको गतिसँग प्रशासन परिवर्तन हुन नसकेको रुपमा यसलाई बुझ्नु पर्दछ भन्ने म यहाँहरुसमक्ष राख्न चाहन्छु । त्यसैले होला निजामती प्रशासनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको छ ।’
के छ रणनीतिक योजनामा ?
‘सबल सङ्घीयता, सक्षम,सुदृढ र उत्तरदायी सार्वजनिक प्रशासन’को सोचसहित ल्याइएको योजनामा स्थानीय तहको सबलीकरण, तहगत अन्तरसम्बन्धको सृदृढीकरण एवम् व्यवसायिक, सदाचारी र उत्प्रेरित कर्मचारीतन्त्रको विकास गरी सार्वजनिक सेवा प्रवाहमा उत्कृष्टता ल्याउने’ उदेश्य राखिएको छ ।

सरकारले पहिलो पटक यस्तो योजना सार्वजनिक गरेको हो । सरोकारवालाहरुमा सङघीयताका सम्बन्धमा समान बुझाई र समझदारी कायम गर्नु, जनप्रतिनिधि र कर्मचारीबीच सहयोगात्मक भावनाबाट कार्यसम्पादन गर्नुृ, नागरिकमा सार्वजनिक प्रशासनप्रति विश्वास अभिवृद्धि गर्नु, सार्वजनिक सेवा प्रशासनमा प्रतिभावान जनशक्तिलाई आकर्षण गर्नु र टिकाइराख्नु जस्ता विषयलाई योजनाका प्रमुख चुनौतीका रुपमा राखिएको छ । विभिन्न रणनीतिक स्तम्भहरु बनाई त्यसलाई कायान्वायन गर्न कार्यनीतिहरु बनाइएको छ । सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन अवकाशप्राप्त जनशक्तिको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्ने योजना राखिएको छ ।

सेवा प्रवाहमा सुधार ल्याउने प्रमुख उदेश्य हो
एकनारायण अर्याल, सचिव सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
यो रणनीतिक योजनाको मुख्य काम भएको सेवा प्रवाहमा सुधार ल्याउने हो । निजामती प्रशासनलाई नजितामुखी बनाउने रणनीतिक योजना बनाइएको हो। तीन तहको सरकारबीच समन्वयलाई प्रभावकारी बनाउने छ । अझ महत्वपूर्ण उदेश्य भनेको संघीयतालाई बलियो बनाउने हो । जनप्रतिनिधि र कर्मचारीबीच समन्वय बढाउन खोजेका छौं ।

प्रतिक्रिया दिनुहोस्