Logo
Logo

सांसद पदसँगै चार नेताको मन्त्री पद पनि गुम्यो


दृष्टि संवाददाता


काठमाडौं, २६ चैत ।
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताको सांसद पदसँगै मन्त्री पद समेत गुमेको छ । तर, फेरि उनीहरु मन्त्रीमा नियुक्त भने हुन सक्नेछन् ।


मन्त्री रहेका माओवादी केन्द्रका सांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न भएको देखिएको भन्दै माओवादी केन्द्रले सांसदबाट हटाएको हो। ‘उहाँहरू सांसदबाट हटेसँगै मन्त्री पदबाट पनि हट्नुभयो’, पूर्वसभामुख एवम् प्रतिनिधिसभामा सत्तारूढ नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ’मन्त्री बन्न अब उहाँहरूलाई प्रधानमन्त्रीले संविधानको अर्को धाराबाट नियुक्त गर्नुपर्छ।’

संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुन सक्ने व्यवस्था छ। तर त्यसरी मन्त्री भएको व्यक्तिले ६ महिनाभित्र प्रतिनिधिसभा वा राष्ट्रियसभामध्ये एकको सदस्यता प्राप्त गर्नुपर्नेछ।

उनीहरूले अहिले संविधानको धारा ७६ को उपधारा ९ अनुसार मन्त्री भएका थिए। संविधानविद् एवम् नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीका अनुसार सांसद पद गएका व्यक्तिहरूले मन्त्री कायम रहन पुनः सपथ ग्रहण गर्नुपर्नेहुन्छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले शुक्रबार उनीहरुलाई फेरि मन्त्रीमा नियुक्तिको तयारी गरेका छन् । यो सरकार कायमै रहेपनि उनीहरु बढीमा ६ महिनासम्म मात्र मन्त्री हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्