Logo
Logo

कहिलेसम्म पोको पारेर सडकमा फोहोर फाल्ने ?


नविन राई


काठमाडौं अल्कापुरी कान्तिपुरी नगरी यतिबेला फोहरको डंगुरले छोपिएको छ । महानगरपालिका बेला–बेला फोहोरको डंगुरसँग जिस्किरहेको हुन्छ । सडकमा हिड्ने पैदलयात्रु नाक थुनेर हिँड्छन् । यस्ता दृृश्य नौलो होइन, बारम्बार दोहोरिरहेको हुन्छ अर्थात महानगर र फोहोरको यस्तै लुकामारी चलिरहन्छ ।

यस्तै गएको एक साताभन्दा बढी काठमाडौंको फोहोर उठ्न सकेन । फोहोर नउठ्दा महानगर दुर्गन्धित बन्दै थियो । आफ्नो माग पूरा नगरेको भन्दै सिसडोलबासी आन्दोलित भएपछि काठमाडौंका चोक र गल्लीहरूमा फोहोरको डंगुर थुप्रिए ।

महानगरपालिका र आन्दोलनरत प्रभावित क्षेत्रका वासिन्दाबीच सहमति भएपछि शुक्रबारबाट फोहोर उठेको छ । तर, कहिलेसम्मका लागि भन्ने सरकारले सिसडोलबासिमाथि गर्ने व्यवहारमा भरपर्छ ।

राजधानीका लागि फोहोर उठ्न नसक्नु कुनै नयाँ समस्या होइन । महानगरमा फोहोर व्यवस्थापनको समस्या सधैँं हुँदै आएको छ । राजधानीले ल्यान्डफिल साइटको समस्या बारम्बार भोग्दै आएको छ । गत मंसिरमा पनि सिसडोलबासी आन्दोलित भएपछि काठमाडौंको फोहोर दुई सातासम्म उठ्न सकेन ।

शिक्षा, स्वास्थ्य, सडकलगायत विकास निर्माण गर्नुपर्नेलगायतका १८ बुँदे माग पूरा नभएपछि सिसडोलबासी फोहोर उठाउन अवरोध गरेका थिए । त्यसको प्रत्यक्ष असर राजधानीबासीले भोग्नुपर्यो ।

हाल काठमाडौं उपत्यकाको १८ स्थानीय तहबाट दैनिक एक हजार मेट्रिक टन र काठमाडौं महानगरपालिकाबाट मात्र दैनिक ५०० मेट्रिक टन फोहर निस्कने गरेको छ । काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

सिसडोलमा २०६२ सालमा तीन वर्षको फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्यान्डफिल निर्माण गरिएका थियो । चार पटकसम्म विस्तार गरेर अहिलेसम्म पनि त्यहिँ फोहर व्यवस्थापन गरिँदै आएको छ ।

सिसडोलमा अस्थायी रूपमा फोहोर फाल्ने र त्यस बीचमा दीर्घकालीन व्यवस्थापनका लागि नुवाकोटकै बञ्चरे डाँडामा पूर्वाधार तयार पारेर फोहोर प्रशोधन केन्द्र बनाइसक्ने सरकारको तयारी थियो ।

बञ्चरे डाँडामा चार दशकसम्म फोहोर व्यवस्थापन गर्ने प्लान्ट बनाउन त्यसबेला तत्कालीन स्थानीय विकास मन्त्रालयले जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग सहमति गरेको थियो । तर, प्रशोधन केन्द्र नबन्दा १५ वर्षपछि फेरि सिसडोलमै फोहोर फालिँदै आएको छ । फोहोर व्यवस्थापन राज्यका लागि ठूलो चुनौतीको रूपमा खडा भएको छ ।

फोहोर व्यवस्थापनको कठिनाई उपत्यकाबासीले सबैभन्दा बढी भोग्नुपरेको छ । राजधानीबासी सडकमा फोहोर थुपार्नु बाध्य छन् । बढ्दो जनघनत्वले काठमाडौंमा फोहोर व्यवस्थापन थप जटिल हुँदै गएको छ । जताततै फोहोरको थुप्रोले सहर कुरूप बन्दै गएको छ ।

औद्योगिक तथा घरेलु फोहोरकै व्यवस्थापन हुन नकसकेको बेला नेपालमा विद्युतीय फोहोरको जोखिम उस्तै छ । विद्युतीय सामग्रीको बढ्दो उपयोग र त्यसको उचित व्यवस्थापन हुन सकेको छैन ।

विद्युतीय फोहोरसम्बन्धी अनुसन्धानकर्ता त्रिभुवन विश्वविद्यालयकी सहायक प्राध्यापक ज्योति गिरीका अनुसार अहिले नै हाम्रो देशमा कुल फोहोरको पाँच प्रतिशत विद्युतीय फोहर हुने गरेको छ । अहिले आउने फोहोर भनेको विगतमा न्यून विद्युतीय सामग्री प्रयोग हुँदाको हो । अहिले जसरी पछिल्लो समय यस्ता सामग्रीहरूको उपयोग बढेको छ, यसले भविष्यमा ठूलो चुनौति निम्त्याउने देखिन्छ ।

राजधानीको फोहोर वषौँदेखि पेचिलो विषय बनिरहेपनि अहिलेसम्म कसैले गम्भीर रुपमा लिएको पाइँदैन । न सरोकारवाल निकाय गम्भीर छ, न त आमसर्वसाधारण नै । तर, कसैले पनि आफूद्वारा सिर्जित फोहोर कसरी व्यवस्थापन गर्ने भनेर सोचेको पाइँदैन ।

आफूले उत्पादन गरेको सामान्य खालको फोहोरसमेत सरकारी निकायले व्यवस्थापन गरिदियोस् भन्ने मानसिकता छ । हामीले आफ्नो घर, भान्छा कोठामा उत्सर्जन भएको फोहोर उचित व्यवस्थापन गर्न सकिरहेको छैनौँ । जसले फोहोर व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।

फोहोर व्यवस्थित हुन नसक्दा राज्यलाई ठूलो घाटा हुने देखिन्छ । पहिलो त पर्यटन आगमनमा असर पुर्याउँछ । दोस्रो जनस्वाथ्यमा गम्भीर समस्या उत्पन्न हुन्छ । तसर्थ, उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्न जरुरी छ ।

सडक र खाली ठाउँमा ल्याएर फोहोर फाल्ने समस्याले उपत्यका आक्रान्त छ । जतासुकै फोहोर फाल्ने चलन हट्न सकेको छैन । रातपरेपछि प्लाष्टिकमा पोका पारेर घरको छतबाट नजिकैको सडकमा फाल्ने, गाडीबाट बदाम खाँदै खोस्टा सडकमा फाल्ने, चक्लेट, चाउचाउ र विस्कुटका खोलहरू जहाँ खायो त्यहिँ फाल्ने हाम्रो बानी हट्न नसक्नु पनि अर्को समस्या हो । यस्ता बानी र झिनामसिना फोहोरले कति रोग व्याधी फैलाउँछ भन्ने ज्ञान नहुँदा समस्य थपिँदै गएको छ ।

कमसेकम आफूद्वारा सिर्जित फोहोर आफैँले उचित व्यवस्थापन गर्नुपर्छ भन्ने सकारात्मक सोच सबैमा हुन जरुरी छ । फाहोरको समस्याभन्दा डरलाग्दो समस्या भनेको समाजमा रहेको फोहोरसम्बन्धी अज्ञानता हो । अर्कोतर्फ सरकारी निकायको मुख ताक्ने परम्पराले पनि फोहोर व्यवस्थापनमा कठिनाइ थपेको छ ।

घरभित्रै फोहोरको व्यवस्थापन आफैपनि गर्न सकिन्छ । थोरैमात्र विवेक पुर्याउने हो भने पनि ८० प्रतिशत फोहोरको व्यवस्थापन हुन्छ । घरभित्रै कुहिने र नकुहिने फोहोरको अलग व्यवस्थापन गर्न सकिन्छ । त्यो पनि दुर्गन्धविहीन तवरले । कुहिने फोहोरबाट कम्पोष्ट मल निर्माण गरी अर्गानिक खेती गर्न सकिन्छ । यदि, कुहिने फोहोरलाई कम्पोष्ट मल निर्माण गर्न सके फोहोर फाल्ने होइन, फोहोर खोज्दै हिँंड्ने मान्छेको भिड लाग्न सक्छ ।

फ्रान्ससहितका युरोपेली मुलुकहरूमा सकेसम्म कम फोहोर उत्पादन गर्ने र त्यो फोहोरलाई पुनः प्रयोग गर्ने विधि अपनाइएको छ । फिलिपिन्स, इन्डोनेसियालगायतका केही एशियाली मुुुलुकमा समेत शून्य फोहोरको अवधारणा अपनाइएको छ । जहाँका नागरिकले घरभित्र वा समुदायस्तरमा फोहोर व्यवस्थापन गर्ने गरेका छन् । नेपालमा पनि उक्त अवधारणा लागू गर्नुपर्ने हो भने फोहोर व्यवस्थापनमा टेवा पुग्ने छ ।

हाम्रा नीति तथा योजनामा फोहोर व्यवस्थापनलाई सडक, खानेपानी तथा ढल निकास जस्तै शहरी पूर्वाधारको रुपमा परिभाषित गर्नु आवश्यक छ । त्यसपछि मात्रै दीर्घकालीन रणनीति तथा अल्पकालीन कार्ययोजना तर्जुमा, लक्ष्य निर्धारण, आवश्यक बजेटसहितको ठोस कार्यक्रम र यसको कार्यान्वयनका आधारहरू तय गरी दिगोरुपमा फोहोर व्यवस्थापन गन सकिन्छ ।

आर्थिक अभाव, जनचेतनाको कमी, फोहोरमैलाबाट उत्पन्न हुने रोगव्याधीप्रति अनभिज्ञता र प्रचारप्रसारको कमीले पनि फोहोर व्यवस्थापनप्रति मानिसले गम्भीरतापूर्वक नसोचेको हुनसक्छ ।

०६८ सालमै फोहोरमैला व्यवस्थापन ऐन बनेको हो । फोहोरमैला व्यवस्थापन ऐन, २०६८ मा फोहोरलाई मोहोर बनाउन उत्प्रेरित गर्ने उल्लेख छ । तर, कार्यान्वयनमा सरोकारवाला निकायबीचको समन्वयको अभावले ऐन कागजमै समिति हुँदै आएको छ ।

उक्त ऐनका प्रावधानअनुसार हानिकारक फोहोरमैला उत्पादन गर्ने व्यक्ति वा संस्थाले तोकिएको बमोजिम व्यवस्थापन नगरे कारबाही हुने व्यवस्था गरेको छ । तर, अहिलेसम्म कसैमाथि कारबाही भएको थाहा भएको छैन । जथाभावी फोहोर फाल्नेमाथि कारबारही हुन सकेको छैन । यी र यस्ता विषय लागू गर्न जनचेतनाको आवश्यक छ ।

सभ्य मानिसको पहिचान सफा र स्वच्छ वातावरण निर्माण गर्नु पनि हो । यदि हामीले आफू र आफ्नो वरिपरिको वातावरण सफा राख्न सकेनौँ भने हामी सभ्य मानव बन्न सक्दैनौँ । संविधानले स्थानीय तहलाई फोहोरमैला व्यवस्थापनको जिम्मा दिएपनि उनीहरू एक्लैले गर्न सम्भव देखिँदैन । त्यसैले सरकारी निकाय, व्यवसायिक र चेतनशील समुदायको सक्रियताले मात्रै फोहोर व्यवस्थापन गर्न सम्भव देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्