Logo
Logo

माओवादीबाट एमाले भएका आङबुहाङको सांसद पद गयो


दृष्टि संवाददाता


मोरङ । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बोहाङको प्रदेशसभा सदस्य पद गएको छ । नेकपा (माओवादी केन्द्र)बाट ताप्लेजुङ को १ (ख) निर्वाचन क्षेत्रबाट निर्वाचित भएका आङ्बोहाङले एमालेमा प्रवेश गरेकाले प्रदेशसभा सदस्य पद गुमाएका हुन् ।

प्रदेशसभाको बिहीबारको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले मन्त्री आङ्बोहाङले दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐनअनुसार प्रदेशसभा सदस्यबाट हटाउन माओवादी केन्द्रले प्रदेशसभा सचिवालयमा दर्ता गराएको पत्र पढेर सदनमा सुनाए । उनले प्रदेशसभामा एक प्रदेशसभा सदस्य पद रिक्त भएको सदनलाई जानकारी गराए ।

आङ्बोहाङलाई मन्त्रीमा बसिरहन पुनः शपथ ग्रहण गर्नुपर्ने कानुनी व्यवस्था छ । प्रदेशसभा सदस्य नभएका व्यक्ति ६ महिनामात्रै मन्त्री हुन पाउने संवैधानिक व्यवस्था रहेको छ ।

६ महिनाभन्दा बढी प्रदेशसभाको कार्यकाल रहेको अवस्थामा रिक्त पदका लागि उपनिर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसका लागि प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्य पद रिक्त भएको जानकारी निर्वाचन आयोगलाई दिनेछ ।

प्रतिक्रिया दिनुहोस्