Logo
Logo

क्रिकेट संघमा चन्दको मनपरी, आइसिसीबाट निलम्बन फुकुवा तत्काल नहुने


दृष्टि संवाददाता


काठमाडौं, २६ चैत ।
आर्थिक अपारदर्शिताकै कारण लामो समय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को जरिवाना हुँदै निलम्वनसम्म व्यहोरेको नेपाल क्रिकेट संघ (क्यान) ले फेरि पुरानै बाटो पछ्याएको छ । क्रिकेटलाई माथि उठाउने भन्दा कमाउने धन्दामा संघका पदाधिकारी लाग्दा क्यानको निलम्बन पूर्ण रुपमा फुकुवा हुन सकेको छैन ।

आइसिसीले आफ्नो आर्थिक निर्देशिका पालना गर्न नसकेको भन्दै क्यानलाई लामो समयदेखि आर्थिक जरिवाना लगाउदै आएको थियो । अरु कारण पनि थपिएपछि झण्डै पाँच वर्षअघि आइसिसीले क्यानमाथि निलम्बनकै निर्णय गरेको थियो ।

आइसिसीकै निर्देशनअनुसार नयाँ विधानको निर्णाण र त्यसअनुसार भएको नयाँ निर्वाचनमार्फत नयाँ कार्यसमिति आएपछि झण्डै दुई वर्षअघि निलम्बन आंशिक रुपमा खोलेको छ । आइसिसीले क्यानमाथिको निलम्बन आंशिक रुपमा खोलेको पनि आगामी अशोजमा दुई वर्ष पुग्दैछ ।

नेतृत्वको कार्यशैली अझै चित्त बुझ्दो नहुँदा आइसिसीले अझै क्यानमाथिको निलम्बन पूर्णरुपमा हटाएको छैन । यसबिचमा अध्यक्ष चतुरबहादुर चन्दको कार्यशैलीका कारण क्यानमाथिको निलम्बन चाढै पूर्णरुपमा फुकुवा हुने सम्भावना टाढिदै गएको देखिएको छ ।

लामो समय आइसिसीको निलम्बनसम्मको कार्वाही झेलेपछि सच्चिने आशा गरिएको क्यान नेतृत्व फेरि पनि पुरानै बाटोमा फर्किएको छ ।यो सम्पूर्ण नेपाली क्रिकेटका लागी दुःखको कुरा हो । क्यानमा अध्यक्ष चन्दले प्रशासनिक र आर्थिक दुबै क्षेत्रमा अपारदर्शी काम गर्न थालेका छन् ।

स्वयंसेवी भुमिकामा रहेका अध्यक्ष चन्दले आफ्नै सवारी चालकको नाममा पाँच लाख ४० हजार भत्ता झिकेर खानेदेखि कार्यसमितिमा छलफल नै नगरी आफ्नो व्यक्तीगत निर्णयमा आफ्नो निकटकालाई जागिर दिनेसम्मको निर्णय गरेका छन् ।

क्यानको विधान वा कुनै पनि निर्णयमा अध्यक्षले आर्थिक सुविधा लिने निर्णय छैन । खेलकुद संघको नेतृत्व स्वयंसेवी नै हुने गर्दछ । तर, क्यानबाट गाडी सुविधा लिएका चन्दले सवारी चालकको नाममा पाँच लाख ४० हजार भत्ता बुझेका छन् ।

यति मात्रै हैन, उनले आफू निकटका व्यक्तीलाई आफ्नो एकल निर्णयमा जागिर दिनेसम्मका काम गरेका छन् । क्यानमा अध्यक्ष चन्दले मिडिया हेर्ने गरी भानु (भानुभक्त) सिग्देललाई मासिक 2० हजार तलब खाने गरी नियुक्ती दिएका छन् । सार्वजनिक संघ संस्थाहरुमा पदपूर्ती खुल्ला प्रतिस्पर्धामार्फत हुनुपर्नेमा नियम मिचिएको छ ।

त्यसमाथि सिंग्देल यसअघिदेखि नै सचिव अशोकनाथ प्याकुरेल संयोजक रहेको मिडिया समितिको सदस्यको रुपमा छन् । यो जिम्मेवारी स्वयंसेवी हो । यो समितिमा बसेका व्यक्तीहरुले मासिक तलब लिन मिल्दैन । तर, अध्यक्ष चन्दले आफ्नो एकल निर्देशनमा सिग्देललाई मासिक तलब दिने व्यवस्था मिलाएका छन् । अध्यक्ष चन्दले सिग्देललाई मासिक तलब दिनू भनी आफ्नो लेखा शाखालाई निर्देशनात्मक पत्र दिएका छन् ।

क्यानमा कार्य सहजताका लागीथोरै पदाधिकारीहरुको कार्य सम्पादन समिति पनि छ । त्यही कार्य सम्पादन समितिलाई समेत जानकारी पनि नदिइ अध्यक्ष चन्दले आफ्नो ठाडो लिखित आदेशमा सिग्देललाई मासिक तलब दिन क्यानको लेखा शाखालाई निर्देशन दिएका छन् । सिग्देल त्यही व्यक्ती हुन्, जसले नेपालमा क्रिकेट समर्थक समाजको गठन गरी अध्यक्ष बनेका थिए ।

सुरुवातमा क्यान र क्यान नेतृत्वको चर्काे आलोचना गर्ने सिग्देल आफै चोरबाटोबाट जागिर खान पुगेका छन् । अरुको गल्तीमा औंला उठाउने उनी अहिले क्यानको सबै गल्ती लुकाउने प्रयासमा देखिन्छन् । उनको जागिर र दोहोरो चरित्र नेपाली क्रिकेटका लागि घातक छ ।

नेपाली क्रिकेटमा उनको जुन पृष्ठभुमि छ, त्यसअनुसार उनले क्यानमा जागिर खानै मिल्दैन । क्रिकेटको फ्यान क्लब र क्रिकेटको प्रशासनिक निकाय क्यानबीचको सम्बन्ध नै सधै पक्ष र प्रतिपक्षको जस्तो हुने गर्दछ । फ्यान क्लबको नेतृत्वले क्यान नेतृत्वलाई सधै सजग गराउने काम गर्नुपर्दछ ।

अझै पनि क्रिकेट समर्थक समाजको मुख्य जिम्मेवारीमा रहेका सिग्देल आफै क्यानमाकर्मचारीको रुपमा नियुक्त भएपछि फ्यान क्लबको भुमिका नै कमजोर हुने देखिएकोछ ।

सम्भावित क्षती
अध्यक्षको नजिक रहेर क्यानभित्र छिरेका व्यक्तीहरुले नै नेपाली क्रिकेटमा ठूलो क्षती पुराउदै आएका छन् । यसको सिलसिला क्यानको पहिलो निर्वाचित अध्यक्ष टंक आङ्बुहाङको पालादेखि नै सुरु भएको हो ।

आङ्बुहाङ क्यानमा निर्वाचित हुँदा उनकै प्यानलबाट केन्द्रीय सदस्य आएका थिए संजिव पाण्डे । औषधी बेच्ने व्यवसायमा संलग्न पाण्डे अध्यक्ष आङ्बुहाङको निक्कै नजिक थिए । अंग्रेजी राम्रोसँग नजान्ने अध्यक्ष आङ्बुहाङले आइसिसीसँग करेस्पोन्ड हुने आफ्नो इमेल उनै पाण्डेलाई चलाउन दिएका थिए । उनै पाण्डेले पनि अंग्रेजीमा राम्रोसँग रिप्लाई दिन नजान्दा आइसिसीले बारम्बार चेतावनी दिएको थियो ।

त्यसपछि पूर्वकप्तान पारस खड्काको नेतृत्वमा खेलाडीहरुले नै आर्थिक अनियमितताको आरोपसहित तत्कालिन अध्यक्ष आङ्बुहाङ, वर्तमान अध्यक्ष चन्द (त्यसबेला उपाध्यक्ष) सहितका पदाधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेद दिएपछि उनीहरुविरुद्ध मुद्धा चलेको थियो । त्यसपछि उनीहरु निलम्वित हुँदा दीपक कोइरालाले कार्यबहाक अध्यक्षको जिम्मेवारी पाएका थिए । अंग्रेजीमा कमजोर कोइरालाले पनि आइसिसीसँग करेस्पोन्ड गर्ने आफ्नो इमेल हेर्ने जिम्मेवारी तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सिइओ) भावना घिमिरेलाई नै दिए ।

आइसिसीसँग करेस्पोन्ड गर्ने अध्यक्ष र सिइओको छुट्टा छुट्टै इमेल हुन्छ । कर्मचारी र नेतृत्वलाई पठाउनुपर्ने इमेल आइसिसीले छुट्टा छुट्टै इमेलमा पठाउने गर्दछ । आङ्बुहाङले दुबै मेल सिइओ घिमिरेलाई हेर्न दिदा अरु समस्या निम्तिएको थियो ।

आइसिसीले समेत थाहा पाएपछि क्यानलाई बारम्बार सचेत गराएको थियो । क्यानमा अहिले त्यही क्रम दोहोरिएको छ । अध्यक्ष चन्दको पनि अंग्रेजी कमजोर छ । उनले पनि अहिले सिग्देललाई नै आफ्नो इमेल चलाउन दिएका छन् । अंग्रेजीमा मध्यम देखिएका सिग्देलबाट फेरि पनि पहिलेकै जस्तो समस्या निम्तिन सक्ने संकेत देखिएको छ ।

सिग्देलको क्यान पस्ने योजना सफल
सिग्देलको नेपाली क्रिकेटसँग त्यति लामो सम्बन्ध हैन । उनी आफ्नो काममा व्यस्त थिए । जव नेपाली क्रिकेटले एकपछि अर्काे अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हात पार्दै गयो, घरेलु समर्थकमा त्यसको लोकप्रियता पनि बढ्दै गयो । समर्थक पनि बढ्दै गए ।

नेपाली क्रिकेटको बढ्दो समर्थनलाई बुझेका सिग्देलले केही व्यक्तीलाई लिएर नेपाली क्रिकेट समर्थक समाज गठन गरी अध्यक्ष बने । क्रिकेटको सफलतासँगै आइसिसीबाट आउने बजेट पनि बढ्दै गयो । त्यसलाई बुझेका उनले आफूलाई कुनै पनि अवस्थामा क्यानभित्र प्रवेश गराउने अभियान सुरु गरे ।

त्यसका लागि दुई वर्षअघि नयाँ विधानअनुसार क्यानको नयाँ निर्वाचन सुरु हुँदा नै उनी क्यानमा प्रवेश गर्ने प्रयास गरेका थिए । त्यस बेला उनले बर्दियाबाट सदस्यताका लागि निवेदन दिएका थिए । तर, त्यस बेला क्रिकेटको सदस्य बन्नका लागी आवश्यक मापदण्ड नपुगेपछि आइसिसीले गठन गरेको इन्डिपेन्डेन्ट प्यानलले उनलाई सदस्यता दिन अस्विकार गरिदियो ।

त्यसपछि कुनै समय उनी आफैले तीब्र आलोचना गर्ने क्यानका वर्तमान अध्यक्ष चन्दसँग नजिकको सम्बन्ध बनाएर क्यान प्रवेश गर्न सफल भएका हुन् । चन्दले केही समयअघिबाटै उनलाई क्यानले आयोजना गर्ने प्रतियोगिताहरुमा मिडियाको जिम्मेवारी दिदै आएका थिए ।

उनी क्यानले किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना गरेको प्रधानमन्त्रीकप क्रिकेट प्रतियोगिता र काठमाडौं मेयरकप जस्ता प्रतियोगितामा मैदानमा मिडिया बक्सको जिम्मेवारीमा थिए । अहिले किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी महिला ललितपुर मेयर वुमन च्याम्पियनसिप टीट्वेन्टी क्रिकेट प्रतियोगितामा पनि सिग्देलको त्यही जिम्मेवारीमा छन् । उनी रिपोर्टिङका लागी आउने पत्रकारलाई खानाको प्याकेट बाढ्नेदेखि आवश्यक काममा सहयोग गर्ने गर्छन् ।

क्यानमा जिम्मेवारी पाउन थालेदेखि नै उनको भुमिकामा पनि परिवर्तन देखिएको छ । कुनै समय सामाजिक सञ्जालमा वर्तमान अध्यक्ष र उनको कार्यसमितिको तीब्र आलोचना गर्ने उनी अहिले त्यस्ता आलोचना दबाउने प्रयासमा देखिन्छन् । उनकै प्रयासमा आज भोली सामाजिक सञ्जालमा वर्तमान नेतृत्वले ठूला गल्ती गर्दासमेत कुनै विरोध देखिदैनन् । विगतमा समर्थकहरुले निरन्तर विरोधको स्टाटस लेख्ने नेपाली क्रिकेट समर्थक समाजमा आजभोली त्यस्ता कुनै पनि स्टाटस पोस्ट हुदैनन् । उनी आफै एड्मिन रहेकाले त्यस्ता स्टाटस एप्रुभ हुन दिदैनन् । यो अर्थमा हेर्दा समर्थक समाजको गठनदेखि अहिलेसम्म उनले क्यान प्रवेशका लागी गरेको अभियान भने पूरा भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्