Logo
Logo

स्वास्थ्य मापदण्ड पुरा गरेर मात्र शैक्षिक गतिविधि गर्न सुझाव


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरसको जोखिम बढिरहेकै बेला शैक्षिक संस्थाहरु बन्द हुने हो कि भन्ने चिन्ता सुरु भएको छ । तर, सरकारले जेठभित्र विद्यालय तहको परीक्षा सक्ने तयारी जारी राखेको छ ।

पछिल्लो समय कोरोना भाइरसको नयाँ सङ्क्रमण बढेको र यसले विद्यालय तहको पठनपाठन र परीक्षालाई समेत प्रभावित पार्न सक्ने आंकलन गरिएका बेला सरकारले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै परीक्षाको तयारी भइरहेको जनाएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विद्यालयहरूले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै शैक्षिक कार्यक्रम अगाडि बढाउनुपर्ने बताए। जेठमा तय गरिएका परीक्षा कार्यक्रम सोहीअनुसार नै सञ्चालन हुने जानकारी उनले दिए ।

कोरोनाको नयाँ ग्राफ कसरी अगाडि बढ्छ भन्ने आधारमा मात्र कुनै निर्णय हुनसक्ने भन्दै उनले हाल परीक्षाको कार्यतालिका हेरफेर सम्बन्धमा नसोचिएको र कुनै छलफलसमेत नभएको जानकारी दिए ।

सोमबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य सुरक्षा सबैले अपनाउनुपर्ने स्पष्ट गर्दै आउँदो जेठ, असार महिनामा कोरोना सङ्क्रमण उच्च बिन्दुमा पुग्न सक्ने बताएका थिए । स्वास्थ्य मापदण्ड प्रभावकारी रूपमा पालना नभए कोरोना पुनः उच्च बिन्दुमा पुग्न सक्ने चेतावनीसमेत उनले दिएका थिए। उनले शैक्षिक संस्थाहरुलाई भर्चुअल माध्यामबाट लैजानुपर्ने सुझाव दिएका थिए ।

राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ १३ गतेदेखि गर्ने निर्णय गरिसकेको छ । यसका साथै जेठ अन्तिम साताबाट कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

सरकारले जेठभित्र विद्यालय तहका अन्य कक्षाको परीक्षा पनि पूरा गर्न र असारबाट नयाँ शैक्षिक सत्र प्रारम्भ गर्ने निर्णय गरेकोले सबै कक्षाको अन्तिम परीक्षा जेठभित्रै सक्नुपर्ने अवस्था छ । आजको गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्