Logo
Logo

३६ करोड कमिसन बुझाएका भट्टलाई पुन: सचिवको जिम्मेवारी


दृष्टि संवाददाता


धनगढी । पठानसिंह बोहरा सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री हुँदा इन्द्रदेव भट्ट सचिव थिए । मन्त्री बोहरा र सचिव भट्टको मिलेमतोमा धेरै बेरुजू भयो । सोही बेरुजू मिलान गर्न उही भट्ट सचिवको रुपमा भौतिक पूर्वाधार विकास मन्त्रालय पुगेका छन् ।

मन्त्री बोहरासँग मिलेर सचिव भट्टले पाँच करोड रुपैयाँको बेरुजू गरेका छन् । २०७५/०७६ मा भौतिक पूर्वाधार मन्त्रालयको सचिव हुँदा उनको नाममा बेरुजू देखिएको थियो । महालेखाले उनीबाट बेरुजू असुल उपर गर्न निर्देशन दिइसकेको छ ।

बेरुजूमा परेका भट्ट पुनः सचिवकै रुपमा सोही मन्त्रालय आउनुको पछाडि दुई कारण मानिएको छ । एक, बेरुजू मिलान गर्न । दुई, आर्थिक वर्षका योजनाबाट कमिशन असुल्न ।

मन्त्री बोहरा र सचिव भट्टबीच विशेष सम्बन्ध छ । मन्त्री बोहराकै योजनामा सचिव भट्ट तीन पटक यसै मन्त्रालयका सचिव भएका छन् । बोहरा मन्त्री रहेकै बेला सचिव भट्टको सरुवा भएको थियो । तर, तत्कालीन नेकपाका प्रदेश अध्यक्ष कर्ण थापा र प्रदेशसभा सदस्य लीलाधर भट्टसँग मन्त्री बोहराले बिन्ति बिसाएपछि सचिव भट्टको सरुवा रोकिएको थियो ।

मुख्यमन्त्री त्रिलोचन भट्टले केही महिनाअघि मन्त्री बोहरालाई बर्खास्त गरेका थिए । उनै पूर्वमन्त्री बोहराले आफूले बनाएका योजनाबाट कमिशन उठाउन संघीय सरकारसँग लाइन मिलाएर भट्टलाई सचिवकै रुपमा साविककै मन्त्रालयमा ल्याएको बताइन्छ ।

स्रोतका अनुसार शुरुको वर्षमा मात्रै सचिव भट्टले मन्त्री बोहरा, कर्ण थापा र लीलाधर भट्टलाई ३६ करोड रुपैयाँ कमिशन बुझाएका छन् ।
बोहरासँगको मिलेमतोमा सचिव भट्ट अनेक धन्दामा सामेल छन् । बैतडीका योजनाहरुमा सचिवको मनपरी चल्ने गरेको छ ।

भौतिक पूर्वाधार विकासमा प्रयोग हुने सिमेन्टहरुमा समेत कमिसनकै लोभमा सचिव भट्टको आँखा बलेको छ । धेरै आयोजनामा सचिव भट्टकै दवावमा नामै नसुनिएका सिमेन्ट पठाउने गरिएको छ । नामै नसुनिएका कमसल सिमेन्ट पठाइएका कारण बैतडीका २५ योजनाको अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्