Logo
Logo

विद्यालय, सिनेमा हल र पार्टी प्यालेस बन्द गर्न सिफारिस


दृष्टि संवाददाता


काठमाडौं । कोरोनाभाइरसको नयाँ लहर फैलिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरुको प्रत्यक्ष पठनपाठन, फिल्म हल र पार्टी प्यालेस बन्द गर्न आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेत्र त्रिपाठीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा सिफारिसमाथि छलफल हुने बताएका छन् । उनले नयाँ खाले ‘युके भेरियन्ट’को असर युवामा देखिएकाले पठनपाठन भर्चुअल माध्यमबाट गर्न विद्यालयहरुलाई सिफारिस गरेको बताए ।

मन्त्री त्रिपाठीले स्वास्थ्य मापदण्डमा सबै सचेत नहुने हो भने अवस्था फेरि भयावह हुने बताउँदै विद्यालयमात्र नभएर सिनेमा हल र पार्टी प्यालेसहरु पनि बन्द गर्न सिफारिस गरिएको बताए ।

तर, यता रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्ने स्वास्थ्य मन्त्रालयको सूचना भने बुधबार खारेज भएको छ । यसरी व्यवसाय बन्द गराउने भए मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने भन्दै स्वास्थ्य मन्त्रालयको सूचना बाध्यकारी नहुने सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् ।

बुधबार स्वास्थ्य मन्त्रालयले जारी गरेको १० बुँदे सूचनाको ७ नम्बर बुँदामा ‘रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि कडाइका साथ बन्द गर्न गराउन अनुरोध छ’ भनिएको थियो ।

मन्त्रालयको सूचना जारी भएको भोलिपल्ट बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृहमन्त्रालयका सचिव, सहसचिवसहित उपत्यकाका तीनवटै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का सीडीओ र पर्यटन बोर्डका सीईओको आकस्मिक बैठकले स्वास्थ्य मन्त्रालयको सूचना बाध्याबारी नहुने गृह प्रशासनको निणर्चयसँगै अब रात्रिकालीन व्यवसायमा लगाइएको प्रतिवन्ध फुकुवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्