धनगढी । धनगढी उपमहानगर भित्रका निर्माणाधिन सडक अलपत्र बन्दा यहाँका स्थायबासीले सास्ती खेप्नुपरेको छ । आधा भत्काएर अलपत्र छाडिएको सडकका कारण नगरक्षेत्र गर्मीयाममा धुलाम्यै र वर्षातमा हिलाम्यै बन्ने गरेको छ ।

सडकको खाल्डाखुल्डी र धुलोका कारण यात्रुलाई हिँडडुल गर्नसमेत समस्या हुने गरेको छ । नगर क्षेत्रमा निर्माण भइरहेका सडक निर्माण कार्यले तिव्रता नपाउँदा स्थानीयले सास्ती खेप्नु परेपनि यसतर्फ नगरपालिकाको ध्यान जान सकेको छैन । हिलो र धुलोका कारण पैदल यात्रुलाई समेत आवत–जावत गर्न समस्या हुने गरेको धनगढी उप–महानगरपलिका–४ का पृथ्वी घिमिरेले बताए ।
धनगढी उपमहानगरपालिकाले निर्माण गरिरहेका हुलाकी तथा मुख्य सडकको सडक निर्माण कार्यप्रति उपमहानगरले चासो नदेखाउँदा नगरबासीलाई सास्ती हो । उनले भने, ‘धनगढीको शहीद गेटदेखि क्याम्पस रोडसम्म सडक निर्माण कार्य ठप्प छ । सो सडक क्षेत्रको छेउछाउमा ढल तथा नाला व्यवस्थापनका लागि खाडल खनेर त्यतिकै छाडिएको छ ।
उपमहानगरको रोवहरमा निर्माण भइरहेका सडकमा पानी छर्कनु काम समेत भएको छैन । जसका कारण यो चैतमासको हावाहुरीले नगरक्षेत्र धुलाम्यै भएको उनको भनाइ छ । धुलाम्यै र खाल्डाखुल्डीका कारण सवारी दुर्घटनाको समेत जोखिम बढेको छ ।
स्थानीयवासीका अनुसार निर्माण कम्पनी, आयोजना कार्यालय र धनगढी उप–महानगरपालिकाको बेवास्ताका कारण शहीद गेट–क्याम्पस रोड, क्याम्पस चोक फुलबारी, हुलाकी सडक र एसियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेका अन्य सडकको काम समेत अलपत्रझैँ भएको छ ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढी नगर क्षेत्रका सडकको अवस्था देख्दा दुःख लागेर आएको मोहन्याल गाउँपालिका वडा–७ का हर्क माझीले बताए । उनले भने, ‘प्रदेशको राजधानी भएको नगर क्षेत्रका सडकको अवस्था त यस्तो भने अरु क्षेत्रका सडकको अवस्था कस्तो होला ?’
प्रदेशको राजधानी धनगढीमा विशेषगरी मानिसहरु उपचारका र काम विशेषले विभिन्न जिल्लाबाट आउने गर्दछन् । उनीहरुले धनगढी नगर क्षेत्र फोहोर, धुलाम्य र हिलाम्यै देख्दा के सन्देश लिएर जालान भन्ने धनगढी उप–महानगरपालिका र प्रदेश सरकारका लागि प्रश्न खडा भएको छ ।
उप–महानगरपालिकाले सडक निर्माणका रोकिएका सबै काम अघि बढाइने जनाएको छ । तैपनि धुँवा, धुलो र फोहरमैलासँगै बाँच्न बाध्य स्थानीयवासीले कहिलेसम्म सास्ती भोगिरहनुपर्ने हो, थाहा छैन ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी उप–महानगरमा धुवाँमात्रै छैन, अलपत्र सडकका कारण धुलो उत्तिकै छ । धुलोकै कारण स्थानीयबासीमा स्वास्थ्य समस्याका साथै सवारी दुर्घटना बढ्ने खतरा बढेर गएको छ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा विभिन्न सात र हुलाकी सडकगरी आठ सडकहरु निर्माण भइरहेका छन् । तर, कुनैपनि सडकको निर्माण कार्यले तिव्रता पाउन सकेको छैन । निर्माणाधिन सडक धुलाम्य हुनुमा सरोकारवालाको कमजोरी भएको देखिन्छ ।
क्याम्पस चोकदेखि मनोहरा नदीसम्म निर्माण भइरहेको हुलाकी सडकको लम्बाई साढे तीन किलोमिटर छ । त्यहाँको अवस्था पनि उस्तै छ । तीन महिनाभित्र सम्पन्न गर्नेगरी गत असारमा सो सडकको ठेक्का सम्झौता भएको थियो । धनगढी नगरले निर्माण गरिरहेको उक्त सडक अलपत्र भएको छ ।
सडकमा निर्माण सामग्री र अधुरो नाली बनाएर छोड्दा दुर्घटनाको जोखिम बढ्नुका साथै नगरको सौन्दर्य नै बिग्रिएका छ ।
उप–महानगरपालिकाले सबै सडकको निर्माण समयमै सम्पन्न गर्न निर्माण कार्यमा आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको बताएको छ । हुलाकी सडकलगायत एसियाली विकास बैंकको ऋण सहयोगमा एक दशमलव ३८ किलोमिटरको धनगढी मुख्य सडक, संघीय प्रहरी कार्यालयदेखि ६ लेन सडकसम्म दुई दशमलव ७ किलोमिटर सडक, सात सय मिटरको क्याम्पस गेट–जाखोर ताल सडक, तीन दशमलव ६५ किलोमिटरको शहीद गेट–क्याम्पस रोड सडक, आठ सय ७० मिटरको डिभोटी–पिपल चौतारा सडक, एक दशमलव १५ किलोमिटरको हसनपुर सडक र चार सय ३० मिटरको मालपोत सडकको निर्माणको काम अलपत्र अवस्थामा छ ।












