काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेटिङका आधारमा केपी ओलीलाई प्रधानमन्त्रीमै कायम रहने अवस्था सिर्जना गरिएको बताएका छन् ।

शनिबार काठमाडौंमा निजामति ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘पार्टीबाटै हटाइएको व्यक्तिलाई सर्वोच्चले बिचित्रको फैसला गरी प्रधानमन्त्रीमै राखिदिएको छ ।’
अध्यक्ष प्रचण्डले तत्कालीन नेकपामा ७० प्रतिशत केन्द्रीय सदस्यबाट ओलीलाई पार्टीबाटै हटाइएको बताउँदै भने, ‘ओलीलाई पार्टीबाट हटाउनेबित्तिकै छलछाम र सेटिङका आधारमा प्रधानमन्त्रीमै कायम रहने अवस्था सिर्जना सर्वोच्चको फैसलाले गरेको छ ।’
संसद पुर्नस्थापनासम्म आइपुग्दा सरकारात्मक भएपनि त्यसपछिको अदालतको फैसला जनताले गरेको परिवर्तन विरोधीको रुपमा आएको उनको भनाइ छ । उनले वैधानिकरुपमा अघि बढेको पार्टीविरुद्ध माग्दै नमागेको विषयमा फैसला गरेर शक्तिलाई जबरजस्ती डिभोर्स गराइएको दावी गरे ।
अध्यक्ष प्रचण्डले भने, ‘त्यसैले फेरि आन्दोलनमा जानुको विकल्प छैन । र, मजदुर, किसानलाई दुःख नदिइकन आन्दोलन गर्नुको विकल्प छैन ।’ उनले अब केही दिनमै नयाँ सरकार बन्ने समेत दावी गरे ।












