Logo
Logo

ढुक्क भएर औद्योगिक विकासमा लाग्न प्रधानमन्त्रीको आग्रह


दृष्टि संवाददाता

567
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापार असन्तुलन घटाउनेतर्फ वर्तमान सरकार गम्भीर भएर लागेको बताएका छन् ।

शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औँं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यापार घाटा घटाउन उल्लेखनीय सफलता प्राप्त नभए पनि त्यसमा क्रमिक सुधार आएको बताए ।

उनले मजदूरका समस्या नरहेकाले बन्द, हडताल सधैँका लागि बन्द भएको र मुलुक आर्थिक विकासका साथै सामाजिक क्षेत्रको विकासका लागि दृढ संकल्पका साथ अघि बढिरहेको दावी गर्दै मुलुकमा व्यापारको वातावरण बनेकाले ढुक्क भएर औद्योगिक विकासमा लाग्न उद्यमी व्यवसायीलाई आह्वान गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘सरकार व्यवसायी, रोजगारदाता र मजदूरहरुबीचको सुमधुर सम्बन्धबाटै औद्योगिक उन्नयन हुने भएकाले समस्या भए समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध छ ।’

प्रधानमन्त्री ओलीले वैदेशिक लगानीका रुपमा ठूलो धनराशि मुलुकमा भित्रियोस् भन्ने उद्देश्यले सरकारले न्यूनतम वैदेशिक लगानीमा सीमा तोकेको स्पष्ट गर्दै खुद्रा लगानीबाट समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार तुल्याउन कठिन हुने बताए ।

उनले प्राविधिक र वित्तीय रुपमा सुदृढ उद्योग व्यवसायबाट नै आर्थिक समृद्धिको लक्ष्य हासिल हुने विचार व्यक्त गर्दै देश विकासको बाटोमा अग्रसर हुन उद्योग व्यवसायी मात्र नभई हरेक पेशा र व्यवसायका व्यक्ति अघि बढ्नुपर्नेमा जोड दिए ।

संयुक्त राष्ट्रसंघले निर्धारण गरेका दिगो विकासका लक्ष्य हासिल गर्न सरकार लागिपरेको र त्यस निम्ति दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न जरुरी भएको बताउँदै उनले वर्तमान सरकार स्पष्ट दृष्टिकोण र मार्गचित्र तयार गरी अघि बढिरहेको दावी गरे ।

प्रधानमन्त्रीले देशको औद्योगिक विकासका बाधक, ऐननियम र कानून प्रतिकूल भए तिनलाई समयानुकूल संशोधन र परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गर्दै साझा संकल्पका साथ राष्ट्र निर्माणमा जुट्न आग्रह गरे ।

रोजगारीका अवसर सृजना, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न उद्यमी–व्यवसायीलाई आह्वान गर्दै लगानीकर्तालाई पनि उत्पादकत्व वृद्धिका निम्ति अभिप्रेरित गर्न उनले अनुरोध गरे ।

‘प्रक्रियाको जञ्जालबाट सरलीकरणतर्फ जान जरुरी छ, एकद्वार प्रणालीलाई प्रभावकारी बनाउँछौँ, प्रशासनिक झन्झट पनि अन्त्य गर्छौँ’, महासंघका अध्यक्ष शेखर गोल्छाले स्वागत मन्तव्यका क्रममा उद्योगी–व्यवसायीले व्यहोर्नुपरेका कठिनाइसम्बन्धी गुनासोको जवाफमा प्रधानमन्त्रीले त्यस्ता व्यवधान चिरेर छाड्ने दृढता व्यक्त गरेका छन् ।

कोरोना भाइरस पुनः प्रकट भएकामा गम्भीर चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सबैलाई सचेत रहन तथा सावधानी अपनाउन आग्रह गरे ।

‘समयमै सचेतना अपनाऔँ, पुनः बन्दाबन्दी गर्नुपर्ने परिस्थिति नआओस्, संक्रमणको गति जसरी पनि रोक्नुपर्छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेका सुरक्षाका उपाय र निर्देशनको पूर्ण पालना गर्नुपर्नेमा जोड दिँदै उनले महासंघको प्रकाशन ‘राष्ट्रिय आर्थिक रुपान्तरण–२०३०’ पुस्तक सार्वजनिक गर्नाका साथै निर्यात व्यापार, पर्यटन, निर्माण, उत्पादनका क्षेत्रमा योगदान गरेका उद्योगीहरुलाई सम्मान पनि गरेका छन् ।

मुलुकको अर्थतन्त्रमा करीब ७० प्रतिशत योगदान दिइरहेको निजी क्षेत्रले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने सरकारको लक्ष्यलाई हरतरहले साथ दिइरहेको बताउँदै अध्यक्ष गोल्छाले आर्थिक रुपान्तरणका कार्यक्रमहरुलाई कार्यान्वयन गर्न सरकारीस्तरबाट पनि सहयोग हुनुपर्नेमा जोड दिए ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पूर्वाधानको क्षेत्रमा लगानी बढाउन सके आर्थिक विकासमा टेवा पुग्ने विचार व्यक्त गर्दै अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्