काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सांसद नभए पनि मन्त्री बन्नेहरूलाई ‘पदलोलुप’को संज्ञा दिँएका छन् । उनले पदलोलुपको झुन्ड बोकेर देशको मर्यादामा आघात पुर्याउने काम भइरहेको समेत दाबी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरूको सांसद पदसँगै मन्त्री पद गुमिसक्दा पनि फेरि धमाधम मन्त्रीमा पुनर्नियुक्ति गरिरहेका बेला एमाले माधव—झलनाथ समूहका नेता रावलले विरोध जनाएका हुन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखका छन्‚ ‘प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक प्रमाणित हुँदा पनि कुनै दायित्त्व नलिने, पार्टीको विधान, पद्धति र प्रक्रिया मिचेर पार्टी प्रणाली मानेको स्वाङ गर्ने, संसद सदस्य नभएर पनि मन्त्री पदमा टाँसिएका पदलोलुपहरूको झुन्ड बोकेर देशको मर्यादामा आघात गर्ने चरित्र नै आज देशको समस्या हो।’
गृहमन्त्री थापासहित मन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई दल त्याग गरेको भन्दै माओवादी केन्द्रले संसद् सचिवालयलाई पत्र पठाई सांसद पदबाट बर्खास्त गरेको हो ।
योसँगै उनीहरूको मन्त्री पद पनि गुमेको थियो । तर‚ प्रधानमन्त्री ओलीले सांसद नभए पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संविधानको धारा प्रयोग गरेर उनीहरूलाई पुनः मन्त्रीमा नियुक्त गरेका छन् ।











