Logo
Logo

अध्यक्ष र प्रधानमन्त्री ओली नै बनुन् : वरिष्ठ नेता नेपाल


दृष्टि संवाददाता


वीरगञ्ज । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पदका लागि नभई कम्युनिष्ट पार्टी बचाउनका लागि मात्र अघि सरेको स्पष्ट पारेका छन् ।

आज (शनिबार) वीरगञ्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गदै नेता नेपालले सिद्धान्त, सत्य र न्यायका लागि आफू कार्यकर्ता माझ आएको बताएका छन् ।

वरिष्ठ नेता नेपालले आफूलाई अध्यक्ष र प्रधानमन्त्री नचाहिने पनि स्पष्ट परो । उनले भने, ‘कतिलाई लाग्दो हो, केपी ओलीको प्रधानमन्त्री खोस्न लागिपरेको छ । त्यसो होइन, उनी नै प्रधानमन्त्री बनुन्, २० भोटले हारेको अध्यक्ष पनि चाहिंदैन । केपी ओलीसँगको लडाइँ सिद्वान्त, सत्य र न्यायका लागि हो । कम्युनिष्ट पार्टीलाई ओली र ओली प्रवृत्तिबाट बचाउनका लागि हो ।’

नवौं महाधिवेशनबाट ओली अध्यक्ष बनेपछि पार्टीमा समस्या आउन थालेको उनको टिप्पणी छ । पार्टी पदाधिकारी, केन्द्रिय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा अल्पमतमा परेका कारण ओली बैठक फेस गर्न नसकेर भाग्ने गरेको उनले बताए ।

‘राम्रो मान्छेले राम्रो मान्छे खोज्छ, साधुले साधुलाई नै रोज्छ । खराबले खराब मान्छे खोज्छ’ उनले भने, ‘केपी ओलीसँग कस्तो कस्तो मान्छे छन्, मैले भनिरहनु पर्दैन । पार्टीको विकासमा ओली नै बाधक छन् ।’

सही विचार, सही पार्टी र सही नेतृत्व बनाउन र सिद्वान्तप्रति प्रतिवद्ध कार्यकर्ता बन्न उनले सुझाए । कार्यक्रममा नेता घनश्याम भुसालले नेपालका कम्युनिष्टहरुले ७० वर्षसम्म गरेको त्याग तपस्या, बलिदानलाई तहसनहस पार्ने काम ओलीले गरेको आरोप लगाए ।

‘कम्युनिष्ट पार्टीको कुनै दिन बहुमतको सरकार हुन्छ, त्यो सरकारले मजदूर, किसान, मध्यमवर्ग, पेशाकर्मी, उद्योगी व्यवसायीका समस्यालाई समाधान गर्दै देशको विकास गर्छ भन्ने आशा र विश्वास थियो,’ उनले भने ‘जनताले बहुमत दिएपनि केपी ओलीले तानातानीलाई निरन्तरता दिए ।’

ओलीले गरेको बदमासीलाई सुधार गर्न र पार्टीको रक्षाका लागि कार्यकर्ता एकजुट हुनुपर्नेमा उनले जोड दिए । भेलाले बालगोपाल थापाको अध्यक्षतामा समानान्तर जिल्ला कमिटी गरेको छ ।

कमिटीमा सुदीप लामा, विचारी यादव, प्रद्युम्न सेढाईं, शम्भु गुप्ता लगायत १७५ जना सदस्य छन् । केपी ओली समूहको जिल्ला अध्यक्षमा प्रभु हजरा छन् ।

प्रतिक्रिया दिनुहोस्