Logo
Logo

लोकतन्त्र खतरामा छ : पूर्वराष्ट्रपति डा यादव


दृष्टि संवाददाता


नवलपरासी । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकको लोकतन्त्र खतरामा रहेको बताएका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका तिलकप्रसाद सापकोटाद्वारा लिखित ‘यात्रा निरन्तर’ पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले लोकतन्त्र रक्षाका लागि सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताए।

संविधान जारी गर्दा र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदा कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको भन्दै डा यादवले लोकतन्त्रको रक्षाका लागि पनि अब कांग्रेसले नेतृत्व गर्नुपर्ने बताए ।

‘नेपालमा लोकतन्त्रको नागरिक जग बलियो छ’, यादवले भने, ‘नेपालमा नगारिक सचेत छन्, हरेक राजनीतिक परिवर्तनमा जनताले साथ दिएका छन् ।’ राजनीतिक परिवर्तनका क्रममा विश्वभर छरिएर रहेका नेपालीहरुले साथ दिएको भन्दै यादवले अबको पद्दति कसरी बलियो बनाउने भन्नेमा लाग्नुपर्ने बताए ।

संविधान जारी गर्ने क्रममा आफूले देशभित्रको समस्या समाधान गरेर जाऊँ भन्दा कांग्रेसले नै आफूलाई छाडेको डा यादवको भनाइ छ ।

‘संविधान जारी गर्दा तराई–मधेसको समस्या समाधान गरौँ देशमा शान्ति आउँछ भनेको थिएँ’ उनले भने, ‘तर त्यो बेलामा कांग्रेसले नै मलाई एक्लै बनायो ।’

संविधान र देशलाई केन्द्रविन्दुमा राखेर शान्ति स्थापना गर्न सकिने उनको भनाइ थियो । सामाजिक व्यक्तित्व तिलकप्रसाद सापकोटाले ‘यात्रा निरन्तर’ मार्फत विगतमा भएका राजनीतिक घटनाक्रमका बारेमा यथार्थ चित्रण गर्नुभएको भन्दै डा यादवले यसबाट वर्तमान युवापुस्ताले पाठ सिक्न सक्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्