Logo
Logo

सरकार परिवर्तन गर्न खोज्नेहरू विकास विरोधी हुन : प्रधानमन्त्री


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधी र अस्थिरता निम्त्याउन खोज्नेहरु सरकार परिवर्तनको खेलमा लागेको आरोप लगाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं साधरण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओली भने, ‘सरकार किन परिवर्तन गर्नुपर्‍यो ? पुनर्निर्माणका काम अघि बढिरहेकाले हो ? कि अरु केही कारण छन् ?’

भूकम्पले ध्वस्त बनाएका संरचनाहरुको पुर्ननिर्माण, अस्पताल र बाटाहरु निर्माणका लागि सरकारले उल्लेखनीय काम गरेको उनले दाबी गरे ।

विकास विरोधी र मुलुकमा अस्थिरता निम्त्याउन खोज्नेहरुले सरकारको विकल्प खोज्नेतर्फ उन्मुख भएको भन्दै उनले त्यस्ता क्रियाकलापमा संलग्नहरुलाई ‘सकुनी’को संज्ञा दिए ।

मुलुकमा अस्थिरता ल्याउन खोज्नेहरुले संसदीय अंक गणितलाई व्यक्तिगत स्वार्थका लागि दुरुपयोग गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै उनले आफुले त्यस्तो हुन नदिने दाबी गरे ।

उनले राजनीतिमा देखिएका सकुनीहरुले संसदको अंकगणितलाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न खोजेको उल्लेख गर्दे सकुनीका गोटी नै फ्याँक्न आफू एक्कै पर्याप्त भएको दाबी गरे ।

उनले भने, ‘अस्थिरता ल्याउन खोज्ने तत्वहरु, संसदीय अंकगणितलाई गलत प्रयोजनका लागि पुर्याउने प्रयासहरु, अस्थिरताका लागि अंकगणितको दुरुपयोग गर्न खोज्ने प्रयासहरु विल्कुलै सकारात्मक होइनन् । देश हितमा छैनन् । विकासको पक्षमा छैनन् । शान्तिको पक्षमा छैनन् । के भएको थियो ? केही भएको थियो र ? सरकार विकासका काममा लागिरहेको थियो । लागिरहेको छ । कहिले तमासा गरेका छन् ।’

उनले थपे,  ‘तपाईंहरु आफ्ना उद्योगमा लाग्नुहोस् । यी कुराहरुलाई त मै ठेगान लगाइहाल्छु । तपाईहरु आफ्नो काममा लाग्नुहोस् । मलाई सरकार जान्छ कि भन्ने कुनै पिर पनि छैन । पहिले पनि म सरकारबाट हटाइएको हुँ । फेरि जनताले ल्याए । केही छैन १८/२० महिना होला । त्यसपछि फेरी यस्तो अंकगणितलाई वरपर पार्न खोज्ने खालका सकुनीका गोटी पनि फ्याँकिने छन् । गोटी नै फ्याक्दिएपछि सकुनीले के लडाउँछ ?’

प्रतिक्रिया दिनुहोस्