Logo
Logo

‘जसपाले ट्याँउ–ट्याँउ, म्याउँ–म्याँउ गरेर अर्थ छैन’


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले जनता समाजवादी पार्टीले नयाँ सरकार बनाउने विषयमा जसपाले छिट्टै निर्णय दिनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले जसपाले मुलुकलाई धेरै अन्योलमा नराखी आफ्नो निर्णय छिटो गर्नुपर्ने बताएका हुन् ।

नेता थापाले जसपाले नक्कली कुरा गर्न थालेको आरोप समेत लगाए । थापाले भने, ‘जसपाले धेरै घुमाउनुहुँदैन, तपाईंहरूलाई प्रधानमन्त्रीलाई समर्थन गर्नुछ भने सरकारमा जानुस्, विकल्प खोज्नुछ भने आउनुस्, आफ्नै नेतृत्वमा सरकार बनाउनुछ भने त्यो प्रस्ताव राखेर हिम्मत गर्नुस्, ट्याँउ–ट्याँउ, म्याउँ–म्याँउ गरेर धेरै अर्थ छैन ।’

कांग्रेसले नयाँ सरकारको लागि पहल गर्ने निर्णय गरेर बैठक समेत बोलाएको र माओवादीले पनि ओली नेतृत्वको सरकारको विस्थापन चाहेकाले अब जसपाले निर्णयलाई लम्ब्याउन नहुने नेता थापाको भनाइ छ ।

‘कि सिधै केपी ओली जिन्दाबाद भन्नुस्, कि विकल्प खोज्छौं भन्नुस्, कि चुनावमा जान्छौं भन्नुस्, तपाईंहरूले संसद्लाई र आफू निर्वाचित भएर आएको ठाउँमा पनि जवाफ दिनुपर्छ ।’ थापाले भने ।

प्रतिक्रिया दिनुहोस्