Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : कोरोना संक्रमितको संख्या वृद्धिदेखि समर्थन फिर्ता लिन माओवादीलाई प्रधानमन्त्रीको चुनौतीसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. नेपालमा कोरोना भाइरसको संक्रमणमा पुनः वृद्धि, पछिल्लो २४ घण्टामा चार सय ९६ नयाँ संक्रमित थपिए, एकैदिन मृत्यु हुनेको संख्या पनि १३, २४ घण्टामा काठमाडौं उपत्यकामा ४६ जना आईसियु र १३ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी, नयाँ वर्ष मनाउन सीमाबाट स्वदेश फर्कनेको संख्या बढीरहेपनि परीक्षण नहुँदा जोखिम बढ्ने संकेत, कोभिड–१९ को दोस्रो लहरले प्रभावित तुल्याए पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाको सरकारलाई सुझाव ।

२. आफूलाई हटाउन मन भए सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीको चुनौती, गठबन्धन बनाएर आएपनि आगामी निर्वाचनमा एमाले एक्लै लड्ने ओलीको उद्घोष, सभामुखले प्रतिनिधिसभाको बैठकलाई बन्धक बनाएको प्रधानमन्त्रीको आरोप, आत्मालोचना गरेर पार्टीमा फर्कन ओलीको माधव नेपाल समूहलाई सुझाव ।

३. पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई गुट स्वार्थको साधन मात्रै बनाएको एमाले वरिष्ठ नेता माधवकुमार नेपालको आरोप, राजनीतिक प्रतिवेदन जारी गर्दै ओली नसच्चिएसम्म पार्टीभित्रको समानान्तर गतिविधि नरोक्ने अडान, ६५ जिल्लामा समानान्तर कमिटी घोषणा, एमसीसी रोक्नु प्रत्येक नागरिकको कर्तव्य भएको भीम रावलको तर्क, सरकारको नियतविरुद्ध एक हुन आह्वान ।

४. सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नहकुल सुवेदीविरुद्धको रिट सर्वोच्च अदालतले खारेज, न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुवेदीको योग्यतालाई लिएर दायर रिट खारेज गर्ने फैसला, सुवेदीले न्याय सेवाको सहसचिवस्तरको कर्मचारी र उच्च अदालतको मुख्य न्यायाधीशमा रहेर काम गरेको र दुवै पदमा रहेर गरेको अवधि जोड्दा संविधानअनुसार सर्वोच्चको न्यायाधीश बन्ने योग्यता पुग्ने फैसलामा उल्लेख ।

५. प्रतिनिधिसभाको बैठकमा सोमबार पनि सत्तापक्ष र प्रतिपक्षबीच आरोपप्रत्यारोप, सत्तापक्ष सांसदद्वारा सरकारको बचाउ, सरकारले हालै वितरण गरेको मानपदवीमा नयाँ नसक्सा नसमेटिएको, संसदलाई क्रियाशिल नबनाएको, शिलान्यास लहर चलाएर विकास गरेको भ्रम छर्न खोजेको भन्दै प्रतिपक्षको आलोचना, प्रधानमन्त्री केपी शर्मा ओलीको ‘एग्रेसिभ लिडरसिप’बाट प्रतिपक्षी दल तर्सिएको भन्दै सत्तापक्षद्वारा सरकारको रक्षा, तक्मामा चुच्चे नक्सा नराख्नुको कारण सरकारले बताइसकेकाले भ्रम नर्छन प्रतिपक्षलाई सुझाव ।

६. प्रतिनिधिसभा अन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कानून, न्याय तथा मानवअधिकार समितिमा नियुक्त, घनश्याम भुसाल, मोतीलाल दुगड र वर्षमान पुनलाई अर्थ समितिमा पठाइयो, गिरिराजमणी पोखरेल र योगेशकुमार भट्टराईलाई शिक्षा तथा स्वास्थ्य समितिमा नियुक्त, पूर्व सभामुख कृष्णबहादुर महरा र लिलादेवी सिटौलालाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा राखियो ।

७. नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक आठ महिनाको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या करिब ७५ प्रतिशतको गिरावट, संख्या घटेपनि ६ खर्ब ४२ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिदा ९ खर्ब ४३ अर्बको आयात, निर्यात ब्यापारमा सुधार, सातामै ३४ अर्ब रुपैयाँले ऋण बिस्तार, निक्षेप २२ अर्बले मात्र बढ्यो, ऋणमा आक्रमक हुँदा तरलता अभाव, चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण ।

८. शेयर बजार उच्चतम अंक २ हजार ६ सय ९४ अंकसम्म पुगेर फकियो, २ हजार ६ सय ७४ अंकसम्म झरेको बजार १७ दशमलव २० अंकको बढोत्तरीसँगै २ हजार ६ सय ९१ दशमलव ५५ अंकमा बन्द, २ सय १६ कम्पनीको कारोबार, सात अर्ब ६१ करोडको कुल कारोबारमा एउटै कम्पनीको अधिकतम २५ करोडसम्म किनबेच, नयाँ आर्थिक वर्षमा ब्रोकर कम्पनीको लगानीकर्तालाई उपहार,नयाँ टिएमएसमा कारोबार ।

९. चर्च ब्वाइज युनाईटेड शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबलको उपाधि जित्न सफल, सुपर सिक्सको अन्तिम लिग खेलमा झापा फुटबल क्लब २–१ गोल अन्तरले पराजित, नेपालमा पहिलो पटक हुन लागेको नेपाल सुपर लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी खेल्ने, बैशाख चार गतेबाट सुरु हुने त्रिदेशीय टी २० क्रिकेट प्रतियोगिताका लागि मलेसिया र नेदरल्याण्ड्स टिम भोली काठमाडौं आउने, भारतमा जारी १४ औं संस्करणको आइपीएलमा किंग्स इलेभन पञ्जाब र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदै ।

१०.र, भारतमा कोरोना भाइरसका संक्रमितको संख्यामा रेकर्ड, एकैदिन १ लाख ६९ हजार संक्रमित, भारतको उत्तर प्रदेशका शैक्षिक संस्था बन्द, म्यान्मारमा सैन्य ‘कू’ पछि अपदस्थ गरिएकी प्रजातन्त्र नेतृ आङ सान सुचीमाथि सोमबार नयाँ फौजदारी अभियोग लगाइयो, इरानद्वारा आफ्नो एउटा परमाणु केन्द्र आतंककारीको निशानामा परेको दावी ।

प्रतिक्रिया दिनुहोस्