Logo
Logo

सिपाही- हवल्दारलाई विदा सहज भयो तर डिउटी अवधि अझै असहज


दृष्टि संवाददाता


काठमाडौं, ३१ चैत
प्रहरी हवल्दार र जवानको वार्षिक बिदा सहज बन्दै गएको छ । प्रहरी प्रधान कार्यालयले अनिवार्य रुपमा घर विदा दिन निर्देशन दिएपछि विदाको समस्या कम भएके छ । तर, दैनिक १८ घन्टा खट्नुपर्ने बाध्यता अझै हट्न सकेको छैन ।

प्रहरी प्रधान कार्यालयले फागुनसम्ममा तल्लो दर्जाका प्रहरीको ड्युटी समय घटाउने योजना बनाएको थियो । ‘उनीहरूको ड्युटी घटाउन प्रयास भइरहेको छ । कोसिस भए पनि सम्भव हुन भने सकेको छैन,’ प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले भने । जनशक्ति अभाव भएकाले ड्युटी समय घटाउँदा सुरक्षा व्यवस्थापनमा प्रभाव पर्ने भएकाले तत्काल सम्भव नदेखिएको एक प्रहरी अधिकारीले बताए ।

जागिर छाड्ने क्रम बढेपछि प्रहरी प्रधान कार्यालयले तल्लो तहका प्रहरीको समस्या बुझ्न सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा सहभागी झन्डै पाँच हजार प्रहरीले १२ देखि १८ घन्टासम्म ड्युटी गर्नुपर्ने, आवश्यकताअनुसार बिदा नपाएको र बिदा पारदर्शी पनि नहुने, कामको उचित मूल्यांकन नभएको, व्यवहार र अवसर समान नभएकोलगायत विभिन्न १३ वटा साझा समस्या सुनाएका थिए । त्यसपछि प्रहरी कार्यालयले मनोबल बढाउन गत मंसिरदेखि सबै प्रहरीले वर्षमा न्यूनतम ४२ दिन बिदा पाउने व्यवस्था गरेको थियो । त्यसलाई कार्यान्वयन गर्न सफ्टवेयरमार्फत निगरानी गर्ने र कसैले अटेर गरे कारबाही गर्ने व्यवस्था गरिएको छ । बिदासम्बन्धी समन्वयका लागि प्रहरी प्रधान कार्यालयमा एसपीलाई सम्पर्क व्यक्ति तोकिएको छ । बिदा नदिने केही प्रहरी अधिकृतलाई प्रहरी मुख्यालयले सचेतसमेत गराएको छ  ।

जनशक्ति अभावले नियमावलीमा भएको बिदाको सुविधा प्रहरीले पाउँदैनथे । नियमावलीमा प्रहरीले ३० दिन घर बिदा र १२ दिन भैपरी बिदा पाउने व्यवस्था छ । जनशक्ति नै कम रहेको र दरबन्दी पनि रिक्त हुने भएकाले प्रहरीहरूलाई कार्यबोझ छ । प्रहरी भर्ना गरेर ड्युटीमा खटाउन करिब एक वर्ष तालिम गर्नुपर्छ । त्यही अवधिमा हजारौँ पद रिक्त भइसकेका हुन्छन् । यसका लागि एक वर्षमा अनिवार्य अवकाश पाउने प्रहरीबराबरको भर्ना प्रक्रिया अगाडि नै सुरु गर्नुपर्नेबारे छलफलसमेत भएको थियो । खासगरी उपत्यका र तराईका जिल्लामा कार्यरत प्रहरीले धेरै समय खट्नुपरेको सर्वेक्षणमा बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्