Logo
Logo

पत्रकार महासंघमा प्रेस चौतारी पराजयको कारण


ध्रुव लम्साल


  • ध्रुव लम्साल

नेपाल पत्रकार महासंघको निर्वाचन सम्पन्न भएको निक्कै दिन भयो । सामाजिक सञ्जालमा चर्चा अझ बाँकी नै छ । निर्वाचनमा विजय र पराजय भएका उम्मेद्वारहरुले आफ्ना मतदातालाई धन्यवाद आशयका सन्देश प्रवाह जारी राखेका छन् ।

निर्वाचनमा पराजय भोगेका केही उम्मेद्वारले भने नक्कली पत्रकारकै कारण ‘मैले हारेँ’ समेत लेखे । जबकि तीमध्ये कतिपय नक्कली पत्रकारकै मतले जितिन्छ कि भन्दै उम्मेद्वार बनेका पनि थिए । चुनाव हारिसकेपछि अन्तर्घात भएको अनुमान गर्नु र आफ्नै मतदातालाई गाली गर्नुलाई उम्मेद्वारका व्यक्तिगत कमजोरीका रुपमा बुझ्दा फरक पर्दैन ।

नेपाल पत्रकार महासंघको इतिहासमा यसपालि पहिलोपटक प्रत्यक्ष मतदान भयो । त्यसकारण पनि यो निर्वाचनलाई विषेश रुपले हेरियो । विभिन्न संगठनहरुबीचको गठबन्धन र चिटबिना मतदाताले मत हाल्नै नसक्ने परिपाटीले भने पहिलोपटक नै प्रत्यक्ष निर्वाचनको मर्ममाथि प्रहार गरेको महसुस भयो ।

आजीवन प्रेस स्वतन्त्रताका वकालत गरेका वरिष्ठ पत्रकारहरुले विभिन्न पदमा बागी उठेका उम्मेद्वारहरुलाई फकाउन जुन प्रयत्न गरे त्यो प्रयास आफैंमा प्रत्यक्ष निर्वाचनमाथिको अर्को प्रहार थियो ।

प्रत्यक्ष निर्वाचनमा मुलुकभरका पत्रकारहरुले आफूलाई मन परेका नेताहरुलाई छान्न पाउनुपर्छ । तर, वरिष्ठ ठेकेदार पत्रकारहरुले राजनीति दलका निर्देशनमा त्यो अवसर दिएनन्, पार्टीले तोकेका उम्मेद्वारका लागि भोट माग्नेभन्दा धेरै समय बागी उम्मेदवार फकाउनमा खर्च गरे ।

केही सीप नलागेपछि केही श्रमजीवी पत्रकारहरुलाई पार्टीले कारवाही नै गरेको विज्ञप्तिसमेत सार्वजनिक गरे । भातृ संस्थामा अवसर नपाएका केही थान व्यक्तिहरुलाई महासंघमा ‘स्पेश’ दिएर श्रमजीवी पत्रकारलाई कारवाही गरिएको प्रसंग केही दिन चर्चाको विषय बन्यो ।

१२ हजार ८०० सदस्य रहेको महासंघमा १२ हजार हाराहारीमा मत खस्यो । पाँचसय हाराहारी मत बदर भएको प्रसंगले गैर पत्रकारलाई सदस्य बनाएको तर्कलाई बलियो बनाउछ । यस प्रसंगमा थप बहस जरुरी छैन ।

अहिलेको नेतृत्वले महासंघमा पत्रकारलाई मात्रै सदस्य बनाउने आँट गर्यो भने आगामी दिनमा ‘वरिष्ठ दाजुहरु’लाई बागी फकाउने झन्झट आइपर्ने छैन ।

को कति बलियो ?
हरेक निर्वाचनमा सहभागी संगठन प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर, मिडिया नेपाललगायत आफ्ना सदस्य यति भनेर दाबी पेस गर्छन र त्यही अनुरुप संगठनहरुबीच गठबन्धन हुन्छ । केही वर्षदेखि प्रेस चौतारी नेपालले आफूलाई मुलुककै ठूलो संगठन दाबी गर्दै आएको छ । त्यसपछिको ठूलो संगठन हो प्रेस युनियन ।

यसपालिको निर्वाचनमा ठूलो भएको दाबी गर्ने प्रेस चौतारी दुई फ्याक भयो । प्रेस चौतारी केपी ओली समूह र माधव नेपाल समूहमा विभक्त भएपछि ओली समूहले विप्लव, जसपा, मिडिया नेपाललगायत सात संगठनसँग गठबन्धन गर्यो भने, माधव नेपाल समूहले प्रेस युनियन, प्रेस सेन्टरलगायत अन्य १० वटा संगठनसँग मिलेर प्रतिगमनविरोधी मोर्चा बनायो ।

चुनावी नतिजाले ‘सरकारी चैतारी’ शून्य सिटमा चित्त बुझाउन बाध्य भयो भने, माधव नेपाल समूहले केन्द्रमा दुई सचिवसहित छ केन्द्रीय सदस्य जित्यो ।

निर्वाचनमा उम्मेदवारले पाएको मतको आधारमा विष्लेषण गर्दा समग्रमा सिंगो प्रेस चौतारी बलियो संस्थाको रुपमा देखिन्छ । अध्यक्षका उम्मेदवारमध्ये विपुल पोखरेलले ६ हजार ७४१ मत पाउँदा निर्मला शर्माले ३ हजार ९१५ मत पाइन् ।

विपुललाई भोट दिनेमा नेपाली कांग्रेस निकट प्रेस युनियनसहित १० संगठनका सदस्य थिए भने निर्मलालाई भोट दिनेमा प्रेस चौतारी ओली समूहसहित ६ संगठन थिए । त्यसो त शर्मालाई उम्मेद्वार बनाउनुको अर्को पनि कारण थियो ।

महिला भएकै कारण आम महिला पत्रकारको मत ल्याउँछिन् भन्ने । अन्य संगठनका महिलाहरु पत्रकारले सहानुभुतिपूर्वक मत दिए पनि । अन्य पाँच संगठन त छदैछ । यसअर्थमा ओली समूहको मुलुकभर २५ सय बढी भोट रहेको मान्न सकिन्छ । यसलाई यसरी पनि बुझौं, एशोसिएट सचिवका रुपमा उम्मेद्वार बनेका रामेश्वर कार्की पत्रकारभन्दा पनि ओली समूहका इमान्दार कार्यकर्ताको रुपमा चिनिन्छन् ।

उनलाई ओली समूहका कसैले पनि भोट दिन छुटाएनन् र गठबन्धन गरेका बाहेक अरुले एक भोट पनि दिएनन् । उनले पाएको मत थियो २ हजार ८०० । यसैमा केन्द्रित हुने हो भने ओली समूहको भोट प्रष्ट हुन्छ ।

प्रेस चौतारीकै अर्को हाँगा माधव नेपाल समूह गएको निर्वाचनमा सबैभन्दा चेपिएको संगठन हो । मूल नेतृत्ववाट छुट्टिएर प्रेस युनियन र प्रेस सेन्टरसँग गठबन्धन गरेको नेपाल समूहले पदाधिकारीमा (कान्छा) दुई सचिव पाउन पनि ठूलै संघर्ष गर्नुपर्यो ।

चौतारी फुटिसकेपछि युनियनले हामी ठूला भयौं भन्नु र सेन्टरले त्यसपछिको ठूलो हामी नै हौं भन्नु स्वभाविक हो । यस्तो समयमा माधव नेपाल समूहले हामी पेलियौँ भनेर दुःख मनाउ गर्नुको अर्थ पनि हुन्न । आफ्नो संगठनमा कति मत छ भन्नेमा संगठनको नेतृत्व गरेकाहरुलाई यथेष्ट जानकारी पनि थिएन । तर, मत परिणाम हेर्दा लाग्छ ।

माधव नेपाल समूहको भोट ओली समूहकै हाराहारीमा छ । हरेक उम्मेद्वारले पाएको मत परिणामलाई लिएर बस्तु निष्ठ अध्ययन गर्ने हो भने नेपाल समूहको मत प्रेस सेन्टरको भन्दा केही बढी छ ।

चौतारी दुई फ्याक हुँदा युनियन आफैंमा ठूला संस्था हो त्यसमा दुईमत छैन । तर, प्रेस चौतारी एक भएको भए केन्द्रमा धेरै पदाधिकारी र प्रदेश र जिल्लामा बहुमत सिट जित्ने थियो । तर, दुर्भाग्य प्रेस चौतारीको लागि यो निर्वाचन ‘भाइ फुटे गवार लुटे’ जस्तै भयो ।

लेखक : राजधानीडेली डट कमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्