Logo
Logo

अख्तियारमा सेटिङ मिलाउन रजिष्ट्रार काठमाडौँमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकले घुस लिएको अभियोग लागेर राजीनामा दिएपछि उनले घुस लिएर तामेलीमा राखेको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फाइल पनि खोलिने डरले यहाँका पदाधिकारीहरुमा दौडधुप शुरु भएको छ ।

खासगरी तत्कालीन उपकुलपति दासले प्रतिष्ठानमा ठूला ठेक्का तथा सामान खरिद र विद्यार्थी भर्नामा व्यापक भ्रष्टाचार गरेको निवेदन अख्तियारमा परेपछि क्षेत्रीय कार्यालयले छापामारेर एक गाडी कागजपत्र कब्जामा लिई अनुसन्धान थालेको थियो । झण्डै एक बर्ष रिपोर्ट बनाउन लागेको थियो । तर केन्द्रमा पुगेको सो फाइल किन अघि बढेन, म आफँै आश्चर्यमा परेको छु भनी हाल अख्तियारबाट बाहिरिएका क्षेत्रीय निर्देशक डुल्लु बस्नेत बताउँछन् ।

३ वर्षअघि आयोगको पूर्वी क्षेत्रीय कार्यालय इटहरीले प्रतिष्ठानमा भएको आर्थिक अनियमितता छानबिन गर्ने क्रममा तत्कालीन उपकुलपति प्राडा बलभद्र दासले ठूलो आर्थिक अनियमितता गरेको पाएपछि ८ करोड बिगोसहित मुद्दा चलाउन केन्द्रीय कार्यालय पठाएको थियो । तत्कालीन क्षेत्रीय निर्देशक डुल्लुराज बस्नेतले बृहत् अनुसन्धान गरी पठाएको सो फाइलमाथि कुनै कारबाही नगरी उल्टै अख्तियारले तामेलीमा राखेको थियो । सो फाइल आयुक्त राजनारायण पाठकले कब्जामा लिई दराजमा थन्क्याएका थिए । अहिले पाठकमाथि नै कारबाही हुने भएपछि उनले घुस खाई तामेलीमा राखेका सबै फाइलमाथि अनुसन्धान शुरु गरिएको कुरा हालै अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले जानकारी दिएका छन । यदि प्रतिष्ठानको फाइल खोलेर मुद्दा चलाउने हो भने तत्कालीन उपकुलपति दाससहित तत्कालीन कार्यसमितिका सबै सदस्यहरु जेल पर्ने निश्चित भएपछि हाल सो फाइललाई तामेलीमा नै राख्नको लागि प्रतिष्ठानका बहालवाला रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, शिक्षाध्यक्ष गुरु खनाल, पूर्वउपकुलपति वीपी दास काठमाडौँमा शक्तिकेन्द्र धाइरहेका छन् । उनीहरुले उपकुलपतिसँग बिदा पनि स्वीकृत नगराई लामो समय काठमाडाँै बसिरहेको हुनाले प्रतिष्ठानको शैक्षिक तथा प्रशासनिक काम कारबाही प्रभावित भइरहेको कुरा प्रतिष्ठानका डाक्टर कर्मचारीहरु बताउँछन् ।
प्रतिष्ठानको सो फाइललाई तामेलीमा राख्न ३ वर्षअघि डा. दासले सप्तरी कन्चनपुरका आफ्ना गाउँले साथी तत्कालीन प्रहरीका पूर्व एआइजीमार्फत् होटल अन्नपूर्णमा बसेर घुसको लेनदेन गरेको कुरा त्यतिबेला सार्वजनिक भएको थियो ।
खासगरी तत्कालीन उपकुलपति दासले प्रतिष्ठानमा ठूला ठेक्का तथा सामान खरिद र विद्यार्थी भर्नामा व्यापक भ्रष्टाचार गरेको निवेदन अख्तियारमा परेपछि क्षेत्रीय कार्यालयले छापामारेर एक गाडी कागजपत्र कब्जामा लिई अनुसन्धान थालेको थियो । झण्डै एक बर्ष रिपोर्ट बनाउन लागेको थियो । तर केन्द्रमा पुगेको सो फाइल किन अघि बढेन, म आफँै आश्चर्यमा परेको छु भनी हाल अख्तियारबाट बाहिरिएका क्षेत्रीय निर्देशक डुल्लु बस्नेत बताउँछन् ।


उपकुलपति रौनियारलाई बर्खास्त गर्ने
अख्तियारले ८ करोड बिगोको फाइल बन्द गरेर उन्मुक्ति दिएपछि झनै हौसिएका डा दासले त्यसपछि मातृशिशु अस्पताल, मुटु तथा क्यान्सर अस्पतालको ३ वटा भवन बनाउन लगाएको ठेक्कामा ठेकदारबाट झण्डै २० करोड रकम कमाएका थिए । प्रतिष्ठानभित्रका अन्य वरिष्ठ डाक्टरहरु हुँदाहँुदै तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र स्वास्थ्यमन्त्री राजेन्द्र महतोलाई करोडौं रुपैयाँ चढाएर ५ बर्षअघि उपकुलपति भएका डा दासले पुनः दोस्रो पटक पनि भीसी बन्न ठूलो चलखेल गरेका थिए । तर नेपाली कांगे्रसका गगन थापा स्वास्थ्यमन्त्री भएको बेला उनले डा दासबाट घुस लिन इन्कार गरी प्रतिष्ठानकै अर्का पुराना वरिष्ठ प्राध्यापक डाक्टर राजकुमार रौनियारलाई उपकुलपति बनाएपछि डा दासका सबै योजनाहरु चकनाचुर भएको थियो ।


सिनेटले ग¥यो उपकुलपति हटाउने निर्णय
स्वास्थ्य मन्त्री उपेन्द्र यादवले वीपी स्वास्थ्य प्रतिष्ठानका उपकलुपति डा. आरके रौनियारलाई हटाउने निर्णय सिनेटबाट गराएका छन् । उपकुलपति हटाउने षड्यन्त्रमा विशेषगरी नेकपा एमाले मोरङ जिल्लाले सिफारिस गरी ५ वर्षअघि रजिष्ट्रार बनाएर पठाएका तुलबहादुर श्रेष्ठ लाग्दैआएका थिए् । अब २ महिनामात्र पदावधि बाँकी रहेका श्रेष्ठ रौनियारलाई जसरी भए पनि बर्खास्त गर्न विगत एक वर्षदेखि सामदाम दण्डभेद अपनाएर लागेका थिए । त्यसैको परिणामस्वरुप उनले वर्तमान प्रधानमन्त्री तथा मन्त्रीहरुलाई दबाब दिन स्थानीय नेतादेखि पार्टीका केन्द्रीय नेताहरुसमेत परिचालित गरेका थिए । गत महिना मात्र रजिष्ट्रार श्रेष्ठले धरानका स्थानीय नेकपाका नेता कार्यकर्ताहरुको एउटा ठूलो समूहलाई प्रतिष्ठानमा पठाई उपकुलपतिलाई घेराबन्दीमा पारेर पत्रकारहरुकै सामुन्ने जागिर खुस्काइदिने धम्की दिएर हिँडेका थिए । तिनै नेता कार्यकर्ताले हाल प्रतिष्ठानका तुलपति तथा प्रधानमन्त्री केपी ओलीलाई लिखित तथा मौखिक निवेदन दिएर बर्खास्त गर्न दबाब दिंदैआएका थिए । सोही दबाबका कारण मन्त्री उपेन्द्र यादवको दबाबमा यही फागुन १६ गते काठमाडौँमा प्रतिष्ठानको सिनेटको बैठक राखी सहकुलपति तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवमार्फत उपकुलपति रौनियारलाई पदबाट हटाउन सिफारिस गरिएको छ ।


रजिष्टारको चेककाण्ड अख्तियारले लुकायो
रजिष्टार श्रेष्ठले प्रतिष्ठानसँग कुनै कारोवार र साइनो नभएका जीवन पौडेलको नाममा ५ लाख ५० हजारको चेक काटेर भुक्तानी दिएको फेला परेपछि प्रतिष्ठानमा हल्लीखल्ली मच्चिएको थियो । २०७५ बैशाख २३ गते एनआइसी एशिया बैंकमा रहेको बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खाता नम्बर २३४१०१४८०५५२४०१४ को चेक नम्बर १६७५०६५० बाट जीवन पौडेलको नाम काटिएको चेक उपकुलपतिले फेला पारे पछि उनले रजिष्टारमाथि चेक काण्डको छानवीन गरियोस् भनी प्रधानमन्त्रीलाई पत्राचार गरेको थियो ।
अधिकतम ५ लाखसम्मको रकममा मात्र हस्ताक्षर गर्न पाउने अख्तियारी पाएका रजिष्टारले कसरी साढे ५ लाखको चेकमा हस्ताक्षर गरे ? त्यसमाथि कुनै कारोवार नगरेका मानिसलाई टिप्पणी समेत नउठाई कसरी त्यत्रो रकमको चेक काटियो ? प्रतिष्ठान सूत्रले दिएको जानकारी अनुसार चेक काण्ड चर्केर जाँदा हस्ताक्षर गर्नेहरु जेलसम्म पर्नसक्ने भएकाले सो काण्ड सामसुम पार्न गत महिना सो रकम प्रतिष्ठानको खातामा पुनः जम्मा गरिएको बताइन्छ । तर गएको रकम पुन कस्को नामबाट जम्मा हुन आयो भन्ने कुरा थप खोजीको विषय भएको छ । यसबारेमा त्यहाँका केही कर्मचारीले अख्तियारको पुर्वी क्षेत्रीय कार्यालयमा निवेदन दिएपछि अख्तियारले सो चेक काण्डको अनुसन्धान थालेको कुरा हालका निर्देशक महेश प्रसाईले पत्रकारहरुलाई जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्