Logo
Logo

हेल्लो, म भरतमोहन बोलेको…


शम्भु श्रेष्ठ


हेल्लो, म भरतमोहन बोलेको । शम्भु कमरेड होइन ?
हो कमरेड म शम्भु बोलेको ।

अलि सुनिएन शम्भु कमरेड, अलि जोडले बोल्नुस् । ‘म्यासेन्जर’ हो वा ‘भाइबर’ कलबाट आएको भरतमोहनको आवाज थियो यो । यो आवाज अहिले पनि मेरो कानमा गुन्जिरहेको छ । उनी अस्वस्थ भएर अस्पताल भर्ना हुनुभन्दा करिब एक महिना अगाडि उनले फोन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न चाहेका थिए । उनीले बालुवाटारमा प्रधानमन्त्रीका पियहरुसँग पनि आफूलाई समय मिलाइदिन आग्रह गरेका थिए । तर, कसैले उनको फोनको ‘रेस्पोन्स’ गरेनन् । त्यसपछि ओलीसँग भेट्न चाहेको कुरा बालुवाटारमा पु¥याइदिन उनले मलाई फोन गरेका थिए ।
उपप्रधानमन्त्री भइसकेका भरतमोहन जस्तो नेतालाई बालुवाटारले किन ‘माइनस’ गर्न खोजेको होला भन्ने कुरा मनमनै सोचे । उनको यो कुरा प्रधानमन्त्री ओलीको कानसम्म पु¥याउन मैले पनि पटक–पटक राजेश बज्राचार्यलाई फोन गरे । राजेशले मेरो पनि फोन उठाएनन् । त्यसको केही दिनपछि फेरि भरतमोहन कमरेडले मलाई फोन गरेर सोधे– ‘के भयो शम्भु कमरेड ? ओलीसँग भेट भयो ?’ मैले भने– मेरो पनि फोन उठाएको छैन । अनि भरतमोहन कमरेडले भने– ‘के भएको होला ओलीलाई ? यसरी देश चल्छ ? मैले त देश चलेको देखेको छैन । कम्युनिष्ट पार्टीको यत्रो बहुमत आएको छ । यस्तो बेलामा जनताको मन जित्ने काम फटाफट गर्नुपर्छ । तर, सरकार केमा अल्झियो, अल्झियो । मलाई ठूलो चिन्ता लागेको छ । यो उमेरमा मैले केही लिन ओलीसँग भेट्न खोजेको होइन, केही दिनका लागि हो । तर, पनि भेट्ने समयनै दिँदैनन् । कस्तो गैरजिम्मेवार सचिवालय हो । म जत्तिको मानिसलाई भेट्न टाइम मिलाउन नसक्ने कस्ता पिए राखेका होलान् ओलीले । ओलीलाई भन्दिनु है– यस्तै पारा हो भने देश डुब्छ । यस्तो अवसर फेरि आउँदैन ।’
उमेरले ८२ पुगे पनि भरतमोहनको जोश जाँगर युवाको भन्दा कम थिएन । देशकै चिन्ता, सरकारकै चिन्ता लिँदालिँदै उनी अस्वस्थ भएर ‘मेडिसिटी’ अस्पताल भर्ना भए । मेडिसिटीमा उनलाई हेर्न एक पटक प्रधानमन्त्री ओली पुगेको कुरा उनका सम्धी कृष्ण आचार्यले मलाई सुनाए । सयौँ पटक फोन गर्दा पनि प्रधानमन्त्रीका पिएहरुले फोनको ‘रेस्पोन्स’ नगरेपछि उनले दृष्टिमा एउटा अन्तर्वार्ता छापेर आफ्नो कुरा ओलीसमक्ष पु¥याउने माध्यम रोजे । उनले ओलीलाई भन्नुपर्ने कुराहरु बुँदागत रुपमा टिपे । उनको अन्तर्वार्ता मंसिर ११ गते मंगलबारको ‘दृष्टि’को अंकमा छापिएको छ । अन्तर्वार्तामा उनले भनेका छन्– ‘मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला उहाँ (ओली) गृहमन्त्री म अर्थमन्त्री थिएँ । त्यो बेलामा पनि सँगै काम गरेको अनुभवले ओलीले केही गर्नुहुन्छ भन्ने विश्वास छ । मनमोहनजीको नौ महिना सरकारले गरेका कामको प्रभाव अहिलेसम्म छ । त्यो सरकारले भन्दा बढी चमत्कार ओली नेतृत्वको सरकारले गर्छ भन्ने मलाई पूरा विश्वास थियो । त्यो आधारमा मैले केपी ओलीलाई राष्ट्रिय ‘हिरो’ भनेर लेख पनि लेखे । बोले पनि । जब बजेट आयो, म त खल्र्याङखुर्लुङ भएँ । ओ हो यो के भयो ? कम्युनिष्ट सरकार यत्रो लामो अनुभव भएको ओली प्रधानमन्त्री छन् । जबजको अर्थतन्त्र कस्तो हुन्छ भन्ने दस्तावेज पार्टी कार्यालयमा सुरक्षित छ । तर बजेट आश्चर्यलाग्दो आयो । म दुःखी भएँ ।’
यो अन्तर्वार्ता दृष्टिमा छापिएपछि धन्यवाद दिन उनले फोन गरे । ‘अन्तर्वार्ता राम्रो छापिदिनुभएछ । धन्यवाद छ । यो अन्तर्वार्ता ओलीलाई पनि एक पटक गम्भीर भएर पढ्न भन्दिनु । मैले त्यहाँ धेरै कुरा बोलेको छु । मैले बोलेको कुरा गम्भीर छन् ।’
त्यसपछि फेरि पनि उनको फोन आयो– शम्भु कमरेड, त्यो अन्तर्वार्ता ओलीले पढ्नु भयो कि भएन ? मैले भने– ओलीले नपढ्ने त कुरै भएन । हरेक मंगलबार बिहानै उहाँले दृष्टिको ‘हेडलाइन’ हेर्नुहुन्छ । बेलुकी पत्रिका पढ्नु हुन्छ । त्यसो भए ठिकै छ भनेर फोन राख्न मात्र के थालेका थिए । उनले फेरि भने आजको ‘नयाँ पत्रिका’मा पनि मेरो लेख छ । पढ्नु होला । त्यहाँ पनि मैले ओलीलाई रचनात्मक सुझाव दिएको छु । के गर्नु देशको चिन्ता लाग्छ ।’ मलाई लाग्छ बजेट बनाउँदा पनि उनीसँग कुनै सल्लाह लिइएन । उनको कुरा सुन्दा ओली प्रधानमन्त्री भएपछि उनी र ओलीको भेटै भएन ।
‘आफ्नो गाउँ आफैँ बनाऔँ’, वृद्धाभत्ताको आरम्भ गर्ने दक्षिण एशियाको पहिलो अर्थमन्त्री कमरेड भरतमोहन अधिकारी हामीबीच रहनु भएन । अस्पताल भर्ना हुनुभन्दा अगाडि अत्यन्तै सक्रिय अधिकारी र दृष्टिबीच दुई दशकभन्दा अगाडिदेखिको सम्बन्ध छ । उनी कुलेश्वर बस्थे । म रविभवन । एक दिन चिया खान बोलाए निवासमा । म ‘मर्निङवाक’ गर्दै उनको निवासमा पुगे । उनले दैनिक पत्रिका पढ्दै थिए । र, मसँग सोधे– दृष्टिलाई यस्तै दैनिक बनाउन सकिन्न ? मैले भने– सकिन्छ । अनि रकम जम्मा गर्ने उपाय पनि तिनै भरतमोहन कमरेडले निकाले । उनले भने– ल एउटा सहकारी खोलौँ, दुई÷चार करोडको शेयर बेचौँ । अनि त्यही पैसाले दैनिक पत्रिका, टेलिभिजन खोलौँ । दृष्टि सहकारीको जन्म उनको यही शब्दका कारण भयो । त्यसको उद्घाटन पनि अधिकारीले नै गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरमा आइतबार पशुपति आर्यघाटमा दागबत्ती दिँदै तीन छोरी । तस्बिर : रासस

२०५४ सालको निर्वाचनमा उनले विराटनगर जाऔँ भने । म उनीसँगै मोरङको रंगेली पुगेँ । त्यहाँ सयौँ कांग्रेसका कार्यकर्ताले एमाले प्रवेश गरे । यो सन्दर्भलाई उनले एमालेको उज्वल भविष्यसँग जोडे । किनभने त्यो क्षेत्रमा एमाले कमजोर थियो । तर, युवाहरुमा एमालेप्रतिको आशा र विश्वास उनले जगाएका थिए । उनी अर्थमन्त्री भएकै बेला फोन गरेर स–परिवार केबुलकार चढेर मनकामना जान आग्रह गरे । उनीसँग म र मेरो परिवार पहिलोपटक केबुलकार चढेर मनकामना पुगे । यस्ता धेरै अविस्मरणीय क्षण मैले भरतमोहन कमरेडसँग बिताएको छु । जहिले भेटे पनि ‘भिजन’कै कुरा गर्ने । नकारात्मक सोच उनीमा कहिले पनि आएन । सादा जीवन, उच्च विचारका धनी थिए स्वर्गीय अधिकारी । अस्ति पार्टी कार्यालयमा उनको पार्थिव शरीरमा फूलको गुच्छा चढाइरहँदा उनले भनेका शब्द शब्द कानमा गुन्जिरहेको थियो । गुन्जिरहनेछन् ।
हार्दिक श्रद्धाञ्जलि भरतमोहन कमरेड ।

प्रतिक्रिया दिनुहोस्