Logo
Logo

आज चैते दसैं, दुर्गा भवानीको उपासना गरी मनाईंदै


दृष्टि संवाददाता


काठमाडौं । आज चैते दसैं दुर्गा भवानीको उपासना गरी मनाइँदै छ । दानवी शक्तिमाथि दैवी शक्ति र असत्यमाथि सत्यको विजयस्वरूप देवी भागवत्, कालिका पुराण, चण्डी पाठ गरी चैत शुक्ल अष्टमीका दिन दसैं मनाउने प्रचलन छ ।

यो दिन अशोकको फूल खानाले रोगव्याधि र शोक नाश हुन्छ भन्ने जनविश्वास छ । गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले कोरोना सङ्क्रमणबाट बच्न राजगुठीअन्तर्गतका सबै देवस्थल र भगवती मन्दिरमा सरकारले भनेअनुसारको सङ्ख्यामा मात्र भक्तजनलाई व्यवस्थित प्रवेश गराइने बताए ।

हनुमानढोका दरबारस्थित मूलचोकमा ५४ राँगा र ५४ बोकाको बलि दिएर दशैँघरमा अर्चना गर्ने परम्परा छ । चैते दशैँका दिन नै जमलस्थित तीनधारा पाकशाला परिसरबाट सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर)को रथयात्रा सुरु हुँदैछ ।

रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. २५ का वडाध्यक्ष नीलकाजी शाक्यले रथयात्राको सम्पूर्ण पूर्वतयारी सम्पन्न भएको जानकारी दिए । कुनै किसानले जमिन खन्दा जमल तीनधारामा आर्यावलोकितेश्वर भेटिएको र राजा गुणकामदेवले केलटोलस्थित कनक चैत्य महाविहारमा बुद्धको पश्चिमतर्फ राख्ने आदेश भएको वंशावलीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्