Logo
Logo

नेपाल वायुसेवा निगममा अर्बौ घोटाला


दृष्टि संवाददाता


काठमाडौं । ट्याक्सी ड्राइभरलाई एयरबसको पाइलट बनायो भने त्यो संस्थाको हालत कस्तो हुन्छ ? भन्ने कुराको एउटा उदाहरण बनेको छ, नेपाल वायुसेवा निगम ।

पञ्चायत निरंकुश व्यवस्थामा सबैभन्दा बढी कर तिर्ने यो संस्था बहुदलीय व्यवस्थाको पुनःस्थापनासँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सिध्याए । ४६ साल अघि अन्तर्राष्ट्रिय सेवातर्फ ४० प्रतिशतसम्मको बजार हिस्सा निगमले लिइरहेकोमा २०६६ सालमा आएर ३ प्रतिशतमा खुम्चन पुग्यो ।

धमिजा, लाउडा, चेज एयर, चिनियाँ विमान खरिद÷भाडा प्रकरणदेखि ठूलठूला घोटाला भए, नेता मोटाए, निगम ‘हाड र छाला’मा रुपान्तरण भयो ।

केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री भएपछि अब निगम सुधार हुन्छ, भन्ने अपेक्षा धेरैको थियो । तर, ओलीले न्यारोबडी खरिद काण्डमा अर्बौ घोटाला गरेर भागेका मदन खरेलजस्तो भ्रष्ट व्यक्तिलाई झापा घर भएकै कारण पुनः निगममा भित्र्याए ।

२०७५ भदौ ३१ गते नियुक्त भएका खरेल आउनासाथ श्वेतपत्र जारी गरेर निगम टाट पल्टिएको घोषणा गरे । विमान खरिदको लागि ऋण दिने कर्मचारी संचय कोष र नागरिक लगानी कोषलाई यो घाटाले तर्साइदियो, साथै सरकारले २० अर्ब रुपैयाँ नदिए निगम टाट पल्टिन्छ भन्ने घोषणा गरे ।

निगमसँग भएको दुईवटा न्यारोबडी, दुईवटा वाइडबडी, तीनवटा ट्वीनअटर र ६ वटा चिनियाँ जहाज सञ्चालन गरेर संस्थालाई मुनाफातिर लैजाने सोच नै बनाएनन् । जापानको नारिता उडाउनुपर्ने जहाजलाई ओशाका पुर्याए ।

अन्य एयरलाइन्ससँग कमिशन खाएर साउदी अरेबिया र दक्षिण कोरिया उडाउनुपर्ने योजना आफ्नो घर्रामा थन्क्याए । आन्तरिक सेवातर्फ विमान थपेर सेवा विस्तार गर्ने योजना पनि थन्काएर निजी हवाई सेवा कम्पनिहरुकै चाकडीमा लागे ।

विदेशी एयरलाइन्ससँगको साठगाँठमा चारवटा एयरबसलाई पूर्ण क्षमतामा चलाउनेतर्फ ध्यान नै नदिएपछि निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषसँग लिएको ऋणको ब्याजसमेत तिर्न सकेनन् । र, २०७६ माघ ५ गते राति हङकङ हुँदै १५ महिनामा राजीनामा दिएर अष्ट्रेलिया भागे ।

त्यसपछि पर्यटन सचिवबाट ‘रिटायर्ड’ भएका सुशील घिमिरेलाई प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको सिफारिसमा प्रधानमन्त्री ओलीले निगमको अध्यक्ष नियुक्त गरे । घिमिरेको प्रशासनमा अनुभव भए पनि बजार व्यवस्थापनमा कुनै अनुभव नभएको कारण उनले व्यापारिक योजना बनाउनै सकेनन् ।

त्यसैबीच गत वर्ष ‘लकडाउन’ सुरु भयो । लकडाउनमा निगमले करिब ४० वटा चार्टर्ड उडान गर्यो । विदेशमा रहेका नेपालीहरुले हवाई भाडा महंगो भयो भनेर गुनासो गरे । तर, निगमका सञ्चालकहरुले भिएलएन काण्डमा जेल परेका राम श्रेष्ठको हारवेष्ट मुन, भागिरथ सापकोटाको गोछाली ट्राभल्स र मेघ केसीको मेग ट्राभल्स र सुनिल शर्माको सोसाइटी ट्राभल्सलाई चार्टर्डको जिम्मा दिइयो ।

यसरी काठमाडौंमा निगमको कार्यालय हुँदाहुँदै ट्राभल एजेन्टसँगको मिलेमतोमा टिकट बिक्री गरिएपछि निगमले चाहिने जति फाइदा उठाउन सकेन । लकडाउनमा पनि निगमका सञ्चालकहरु लुटमै व्यस्त रहे । त्यसबेला अहिलेका महाप्रबन्धक डिमप्रकाश पौडेल पनि सञ्चालकमध्ये एक थिए ।

निगम स्रोतका अनुसार ४० वटा चार्टड उडानबाट प्रति उडान ५० लाख कमिशन कुम्ल्याइयो । पछि विदेशमा रहेका नेपालीले आपत्ति जनाएपछि भाडादर तोकियो । त्यसका लागि पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा छानबिन कमिटी गठन गरिएको थियो । उक्त कमिटीले हङकङ र जापानमा बढी भाडा लिएको प्रतिवेदन मन्त्रालयलाई दिएको बुझिएको छ ।

आफैँ कार्यकारी अध्यक्ष भएका घिमिरेको कार्यकालमा सबैभन्दा ठूलो दुर्भाग्यपूर्ण निर्णय गरियो, चिनियाँ जहाज ग्राउण्डेड गर्ने । २०७७ असार १६ गते ६ वटा चिनियाँ जहाज बिनाकारण ग्राउण्डेड गरिएपछि निगम थप ओरालो लाग्यो । जहाज ग्राउण्डेड गरिए पनि त्यसको ऋण ब्याजको मिटर घुमेकै घुम्यै छ ।

इन्स्योरेन्सको पैंसा चढिरहेको छ । स्पेयर पार्टस् खिइएर कवाडी बन्न थालिसक्यो । तै पनि प्रधानमन्त्रीको कानमा डिमप्रकाश पौडेलले चिनी हाल्याहाल्यै छन् ।

तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईका प्रिय पात्र डिमप्रकाश पाण्डे चार्टर एकाउन्टेन्ट भए पनि उनलाई एयरलाइन्स व्यवस्थापनको कुनै अनुभव छैन । उनी निगमका महाप्रबन्धकमा नियुक्ति हुनु अगाडि बतास अर्गनाइजेसनका महाप्रबन्धक थिए ।

बतास अर्गनाइजेशन हवाई कम्पनी होइन, गाडी बिक्रेता कम्पनी हो । एउटा ट्याक्सी ड्राइभरलाई जहाजको पाइलट बनाउँदा जुन हविगत हुन्छ, अहिले निगमले त्यस्तै हविगत भोगिरहेको त्यहाँका कर्मचारीहरु बताउँछन् ।

निगममा पौडेलको नियुक्ति ‘लुट कान्छा लुट…’ बोलको गीतसँग ठ्याक्कै मिल्छ । महाप्रबन्धकमा पौडेल नियुक्त भएको ६ महिना बित्यो, तर उनले व्यावसायिक योजना बनाउन सकेका छैनन् । बरु निजी क्षेत्र र विदेशी एयरलाइन्ससँग साठगाँठ गरेर कुम्ल्याउनमै व्यस्त छ । यसको एउटा उदाहरण मलेसिया उडान पटक–पटक रद्द गर्नु हो ।

निजी क्षेत्रको हिमालयन एयरलाइन्ससँग साठगाँठ गरेर उनले जहाज नभएको निहुँमा मलेसिया उडान बन्द गरेपछि निगमलाई करोडौं नोक्सान भएको छ । त्यसैगरी चिनियाँ जहाज ग्राउण्डेड गरेर सोमेन्द्रजंग थापासँग एटिआर किन्ने योजना बनाएका छन् ।

पौडेल निगमको महाप्रबन्धक भएपछि निगमका एयरलाइन्सलाई आवश्यक पर्ने लुब्रिकेन्ट आयल बतासको एउटा कम्पनीमार्फत सप्लाइ गरेर करोडौं कमिशन खाएका छन् । त्यसैगरी पाइलट ट्रेनिङबाट पनि लाखौं डलर खाएका छन् । निगमको पाइलट ट्रेनिङ छ/छ महिनामा गर्नुपर्छ ।

त्यसका लागि निगमले प्रतिघण्टा तीन सय डलरमा इण्डोनेसियाको ग्लोबल ट्रेनिङ एभियशन जिटिएमा ट्रेनिङ गराउँदै आएकोमा पौडेल आएपछि त्यही ट्रेनिङका लागि बहराइनको गल्फ एभियशन एकेडेमी (जिएए)सँग प्रतिघण्टा ६ सय अमेरिकी डलरमा सम्झौता गरेका छन् । निगम स्रोतका अनुसार वर्षमा एक सयभन्दा बढी पाइलटले ट्रेनिङ लिने गरेका छन् ।

त्यसैगरी विभिन्न देशमा जीएसए नियुक्ति गर्दा समेत लुट मच्चाएका छन् । दुबईको जीएसए नियुक्त गर्न पौडेलले एएनटिए भन्ने कम्पनीका भारतीय नागरिक कुमार भन्नेसँग साठगाँठ गरेको निगम स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीलाई निगमभित्र के हुँदैछ भन्ने कुरा थाहा नहुन सक्छ । त्यसैले स्वीच थिचेर बालुवाटारमा रमाउनुभन्दा निगममा आएर बुझ्न त्यहाँका कर्मचारीले आग्रह गरेका छन् । कर्मचारी स्रोतका अनुसार विभिन्न पार्टीलाई भुक्तानी दिँदासमेत पौडेलले कमिशन खाने गरेका छन् । त्यसका लागि उनले अर्थ विभाग प्रमुख उमेश पौडेललाई हटाएर अनिषा खड्कालाई ल्याएका छन् ।

महाप्रबन्धक पौडेलले केही कम्पनीको बिल रोकेर राखेको झोंकमा पौडेललाई सरुवा गरेका हुन् । एउटा सामान्य कलमको भुक्तानी गर्न पनि पौडेलको आदेश चाहिने भएपछि पौडेलको नियत के हो भन्ने कुरा बुझ्न त्यहाँका कर्मचारीलाई गाह्रो भएन ।

अहिले उनले इञ्जिनीयरिङ डिपार्टमेन्टलाई अर्बौको पाटपूर्जा खरिदको टेण्डर गर्नु अगाडि आफूसँग सल्लाह गर्नुपर्ने भनेर दबाब दिने गरेका छन् । पाइलट र इञ्जिनीयरिङबाट कमिशन खान दशौं तहका रवीन्द्र शेरचन हुँदाहुँदै नवौं तहका दिपु ज्वारचनलाई अप्रेशनको जिम्मा लगाएका छन् ।

निगम सुधारको कुरा गर्ने एघारौं तहका गणेश चन्दलाई जिम्मेवारविहीन बनाएका छन् । निगम कर्मचारीहरुका अनुसार पौडेल, खरेलभन्दा निकम्मा महाप्रबन्धक हुन् । तत्कालीन पर्यटनमन्त्री भट्टराईले उनलाई नियुक्त गरेको भए पनि पद जोगाउन पौडेलले अर्थमन्त्री विष्णु पौडेल र कृषिमन्त्री पद्मा अर्यालको चाकडीमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्