Logo
Logo
समाचार टिप्पणी

२७ सांसदमाथि कारवाही किन ?


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टी र सरकारमा अल्पमतमा परेपछि रन्थनिएका छन् । यही झोंकमा ओलीले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायत २७ सांसदलाई पार्टी र संसदबाट निष्काशन गर्न स्पष्टीकरणको नाटक गरेका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले नवौं महाअधिवेशनबाट निर्वाचित पदाधिकारी लगायत केन्द्रीय कमिटीको बहुमत सदस्य आफ्नो पक्षमा रहेकाले राजनीतिक दल सम्बन्धी ऐनअनुसार निर्णय गर्न निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए ।

त्यसबाट तर्सिएका ओलीले आफूविरुद्ध लागेका केन्द्रीय सदस्य र पदाधिकारलाई गत फागुन २८ गते हटाएर माओवादी मन्त्रीलाई मनोनित गरेका थिए । जुन नेकपा एमालेको विधान विपरित छ । यस घटनाले फागुन २३ मा सर्वाेच्च अदालतले गरेको निर्णय समेत उल्लंघन गरेको छ ।

सर्वाेच्च अदालतले फागुन २३ गते नेकपा भंग गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई २०७४ जेठ २ गतेको स्थितिमा पुर्याइदिएपछि एमाले अध्यक्ष ओलीले विधान बमोजिम नवौं महाधिवेशबाट विजयी पदाधिकारी र केन्द्रीय सदस्यको बैठक राख्नुपर्ने थियो । विधान संवत् बैठक राख्दै एमालेलाई एकतावद्ध गर्दै जानुपर्नेमा अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले विधान विपरित काम गर्नु राम्रो होइन ।

त्यसमाथि आफ्नै पार्टी फोड्न उद्दत हुनुले ओलीको नियत ठीक छैन भन्ने देखिन्छ । पुष ५ पछि ओलीको क्रियाकलाप हेर्दा उनी कम्युनिष्ट आन्दोलन समाप्त पार्न हिँडेका छन् भन्ने बुझिन्छ । त्यही चिन्ताले एमालेलाई बलियो बनाउन माधव–झलनाथ समूहले चैत्र ४ र ५ गते सानेपामा राष्ट्रिय कार्यकर्ता भेला गरेका हुन् । उक्त कार्यकर्ता भेलामा ७७ जिल्ला र जनवर्गीय संगठनका बहुमत पदाधिकारी र सदस्य उपस्थित थिए ।

सानेपाबाट एमाले शुद्धिकरण अभियान थालेका माधव–झलनाथ समूहले ६६ जिल्लामा कमिटी निर्माण गरेका छन् । माधव–झलनाथ समूहले गरेको देशव्यापी आन्दोलनबाट तर्सिएर ओलीले उक्त समूहमाथि कारवाहीको धम्की दिएका हुन् ।

अहिले प्रतिनिधिसभामा नेकपा एमालेको १२१ सांसद छन् । ति मध्ये २७ जना सांसदले फ्लोर क्रस गरी कर्णलीको घटना दोहोर्याउने हुन् कि भन्ने शंका ओली गुटलाई छ । त्यसैले ओलीले आफूले विश्वासको मत लिनु अगाडि नै आफूविरुद्ध लाग्न सक्ने सांसदलाई कारवाही गर्न थालेका हुन् ।

ओली गोयल रोडम्याप अनुसार जसपाको समर्थनमा सरकार टिकाउने र चुनाव गराउने पक्षमा छन् । यो कम्युनिष्ट आन्दोलन समाप्त पार्ने रोडम्याप हो ।

प्रतिक्रिया दिनुहोस्