Logo
Logo
समाचार टिप्पणी

सभामुख सिध्याउने प्रधानमन्त्रीको खेल


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यस्ता नेता हुन, जो मन नपरेकालाई जसरी पनि सिध्याउँछन् । केही कारण चाहिँदैन, मन नपरे पुग्यो । तर, मन परेकालाई मायाले अंगालो मार्छन्, कुख्यात अपराधी नै किन नहोस् !

ओलीको यो चरित्र पुष्टि गर्ने धेरै आधार छन् । धेरै लेख्नु पर्दैन, लोक जानकार छन् । उनको वरिपरि घुम्नेहरु हेर्दा पुग्छ । हरेक साँझ बालुवाटारमा हुने ‘तस्कर भोज’को कुरै गर्नु पर्दैन ।

प्रसंग सभामुख अग्निप्रसाद सापकोटाप्रति ओलीको योजनाको हो । ओली अहिले अग्निको ‘अ’ सुन्न समेत चाहँदैनन् । कसरी हुन्छ, सभामुख सिध्याउने ओलीको लक्ष्य बनेको छ । सभामुखबारे प्रधानमन्त्रीको धारणा के छ ? भन्ने ओलीका सार्वजनिक अभिव्यक्तिले पुष्टि गर्छन् । वहाना एमसीसी बनेको छ ।

ओलीलाई जसरी पनि (एमसीसी) पारित गर्नुछ । तर, राष्ट्रिय सुरक्षा नै अमेरिकालाई जिम्मा लगाउने सवालमा कोही तयार हुने अवस्था छैन । ओलीलाई भने जसरी पनि एमसीसी पारित गर्नु छ, त्यो पनि सार्वभौम सदनबाट !

एमसीसीप्रति ओलीको लगाव नयाँ होइन । वर्तमान सरकार गठन भएदेखि नै ओली एमसीसी पारित गर्न चाहन्थे । कृष्णबहादुर महरा सभामुख रहेको बेला पनि ओलीले नाभीदेखिको बल लगाएर पारित गर्न खोजेकै हुन् । तर, एमसीसी पारित गर्न राष्ट्रिय सहमति बन्न सकेन । त्यसको सबै तुष महारामाथि पोखेको सबैलाई थाहा छ । तत्थ्यहरुले भन्छ– एमसीसी पारित नगरेकै कारण महराको राजनीति ओलीले सिध्याए ! प्रमाण नपुग्ला तर, जनताले बुझेको यति नै हो ।

संसद अधिवेशन अन्त्य हुने अन्तिम दिनसम्म ओलीले एमसीसी पारित गर्न खोजे । एमसीसी पारित गर्न राष्ट्रिय समहति खोज्नकै लागि सर्वदलीय बैठक राखे । तर, पार नलागेपछि संसद अधिवेशन अन्त्य गरे ।

संसद अधिवेशन अन्त्य नहुँदासम्म ओलीले अनेक प्रयत्न गरेका थिए । त्यो अवधिमा सभामुख सापकोटाविरुद्ध ‘विष वमन’ गरे, धम्कि दिए, अनेक गरे । ओलीको केही पार लागेन । तर, ओली त्यतिमै रोकिएका छैनन् । कुनै न कुनै रुपमा महरा जस्तै सापकोटालाई सिध्याउन लागिपरेका छन् ।

सापकोटालाई सभामुखबाट गलत्याउन ओलीले पहिलो अस्त्रको रुपमा जनयुद्धको घटना अघि सारेका छन् । यो कुरा बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सभामुखविरुद्धको मुद्धा पेसी चड्नुले पुष्टि गर्छ ।

‘ओली–अदालत सेटिङ’ सबैलाई थाहा भएको कुरा हो । सेटिङमै सभामुखविरुद्धको मुद्धा पेसी चढेको हो । नत्र यत्ति नै बेला यो मुद्धा कोट्याउनु पर्ने कुनै कारण छैन । द्धन्द्धसँग जोडिएका मुद्धा व्यवस्थापन गर्ने छुट्टै संवैधानिक अंग हुँदाहुँदै यो मुद्धा अदालतले बेला–बेला कोट्याइ राख्नुपर्ने अरु कारण छैन । सापकोटालाई सभामुख हुन नदिन समेत यो मुद्धा उचालिएको थियो ।

सभामुखविरुद्ध ओलीको प्रहार यतिमा रोकिने देखिदैन । सभामुख सापकोटाका अन्य गल्ती÷कमजोरी खोज्न ओलीले ठूलो शक्ति प्रयोग गरेको बुझिन्छ । ओलीले कब्जा गरेको गुप्तचार संस्था राष्ट्रिय अनुसन्धान विभागको ठूलो संख्या सभामुख सापकोटाको पछि खटाइएको स्रोतको दावी छ । त्यति मात्र होइन, सापकोटाविरुद्ध वाह्य शक्ति समेत परिचालन गरेको बुझिएको छ ।

किन त्यसो गर्दैछन् ओली ?

सभामुख आफ्नो गोजीको बनाउने ओलीको योजना नयाँ होइन । महराको बर्खास्तीपछि ओलीले विश्वास पात्र सुवास नेम्वाङलाई सभामुख बनाउन खोजेका थिए ।

बेरोजगार नेम्वाङलाई रोजगारी पनि मिल्ने र नेम्वाङमार्फत एमसीसी पारित गर्ने ओलीको योजना थियो । तर, माओवादीसँग शक्ति सन्तुलन मिलाउनुपर्ने बाध्यताले नेम्वाङलाई सभामुख बनाउन ओली असफल भए । तर, नेम्वाङलाई सभामुख बनाएर आफू अनुकूल काम गर्ने ओलीको योजना अझै जिवित छ । त्यसैले कुनै पनि तरिकाले सापकोटालाई हटाउने ओलीको लक्ष्य बनेको हो ।

सभामुख सापकोटालाई सके कुनै मुद्धामा फसाउने नसके शक्ति सन्तुलन फेरबदल गरेर आफ्नालाई सभामुख बनाउने ओलीको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्