Logo
Logo

बल्खुमा एमाले केन्द्रीय कार्यालयको अत्याधुनिक भवन शिलान्यास


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयको नयाँ भवन शिलान्यास गरिएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मदननगर बल्खुमा पुरानो कार्यालय रहेको जग्गामा भवन शिलान्यास गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर उनले भवन शिलान्यास गरे । तीन रोपनी जग्गामा निर्माण हुने भवन अत्याधुनिक हुने एमालेले जनाएको छ । एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा हुँदै भवन शिलान्यास गरिने भनिएपनि किचलोले रोकिएको थियो ।

बल्खुमा २०५१ सालमा एमालेको भवन बनाइएको थियो । २०७२ सालको भूकम्पले सो भवन भत्किएको थियो । भवन भत्किएपछि धुम्बाराहीबाट पार्टी कार्यालय सञ्चालन हुँदै आएको थियो । बल्खुमा भवन निर्माण नहुञ्जेल थापाथलीमा कार्यालय सञ्चालन गर्ने गरी उद्घाटन आजै गरिंदैछ ।

आज नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवश पनि हो । स्थापना दिवसको अवसर पारेर एमालेले आफ्नो नयाँ भवनको शिलान्यास गरेको हो ।

एमालेको नयाँ बन्ने भवन नेपालकै अहिलेसम्मको अत्याधुनिक पार्टी कार्यालय हुनेछ । सभाहल, बैठक कक्षसहित पर्याप्त पार्किङको सुविधा हुने गरी भवनको डिजाइन गरिएको छ ।

मदननगर बल्खुमा अवस्थित जननेता मदन भण्डारीको शालिक नयाँ भवनको अगाडि पनि कायमै रहने बताइएको छ । भवन अपांगमैत्री बनाउनेगरि डिजाइन भइरहेको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्