Logo
Logo

एमालेको बैठक बस्दै, माधव पक्षलाई कारवाही गर्ने तयारी


दृष्टि संवाददाता


काठमाडौं । सत्तारुढ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा विहान ११ बजे बस्ने बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल सहित ३२ जनालाई सोधिएको स्पष्टीकरणबारे छलफल हुने भएको छ ।

पार्टी विभाजनसम्मको संकटमा पुगेको एमालेमा केहीदिन देखि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले एक्लाएक्लै छलफललाई तीव्रता दिएका छन् । उनले लगातार दुईदिन वरिष्ठ नेता नेपालसँग छलफल गरेका थिए ।

हिजो (बिहीबार) भएको छलफल पनि निश्कर्षमा पुग्न सकेन । आज बस्ने बैठकमा अध्यक्ष ओलीले लगातार भएका छलफलहरुका बारेमा पनि व्रिफिङ गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बैशाख ६ गते बसेकै बैठकको निरन्तरता हो ।

यसअघि मंसिरमा महाधिवेशन तोक्दै अध्यक्ष ओलीले केन्द्रीय कमिटीलाई नै महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेका थिए । ६ गतेको बैठकले माधवपक्षीय नेताहरु प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सबैले स्पष्टीकरण पनि बुझाइसकेका छन् ।

आजको बैठकमा पार्टीको सांगठानिक र राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुनेछ । केन्दीय सदस्यहरुको कार्यविभाजनका लागि संगठन विभाग प्रमुख विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल र टोपबहादुर रायमाझी सदस्य रहेको कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि आजको बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्