Logo
Logo
दल विवाद

जसपामा विवाद बढ्दै, पूर्वराजपाका सांसदहरुको अलगै छलफल

ओली सरकारमा जान नहुने उपेन्द्र–बाबुराम समूहको अडान


दृष्टि संवाददाता


काठमाडौं । सत्ता समीकरणले जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । आफ्ना माग केपी शर्मा ओली नेतृत्वकै सरकारले पूरा गर्ने भन्दै जसपाको पूर्व राष्ट्रिय जनता पार्टीका नेताहरुले आफ्ना सांसदहरुलाई व्रिफिङ गरेका छन् ।

आफूले उठाएका माग पूरा हुने अवस्थामा ओलीलाई साथ दिनुपर्ने अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायतको निश्कर्ष छ । यो समूहले आफ्ना सांसदहरुलाई पार्टीबाट निर्वाचित निलम्बित सांसद रेशम चौधरीलगायत २०८ नेता कार्यकर्ताका मुद्दा फिर्ता लिने प्रक्रिया प्रधानमन्त्री ओलीले सुरु गरेको व्रिफिङ गरेका छन् ।

त्यस्तै पहिलो चरणमा नेता तथा कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताको माग कार्यान्वयनमा आउने र दोस्रो चरणमा संविधान संशोधन, मधेस–थरुहट आन्दोलनबारे गिरीशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक र नागरिकता विधेयकलगायतका विषयमा छलफल हुने अध्यक्ष ठाकुरले आफ्ना सांसदहरुलाई जानकारी गराएका छन् ।

तर, अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई समूह भने माग पूरा भएकै अवस्थामा पनि प्रतिगमनकारी ओलीलाई साथ दिननहुने पक्षमा छन् । उनीहरुको यो अडानलाई पूर्वराजपाका नेताहरुले कुण्ठा भन्ने गरेका छन् । यादव यसअघि नै ओली सरकारमा सामेल भएको र पछि बाहिरिएकाले उनीभित्र कुण्ठा रहेको पूर्वराजपाका नेताहरुले आरोप लगाउँदै आएका छन् ।

तर, पूर्व समाजावदी समूहका नेताहरुले प्रतिनिधिसभा विघटनको ओली प्रयास विरुद्ध सडकमा उत्रिएको जसपाले उनैलाई साथ दिन नहुने तर्क गर्नेगरेका छन् । हिजा (बिहीबार) मात्र पूर्वराजपा सम्बद्ध सांसदहरुलाई अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतो लगायतले ओली सरकारसँग अहिलेसम्म भएको समझदारीको व्रिफिङ गरेका थिए ।

पूर्वराजपा र पूर्व समाजवादीको संसदीय दलको कार्यालय अहिले पनि छुट्टा–छुट्टै छ । गत वर्ष बैशाख ११ गते ओलीले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउने चलखेल गरेकोभन्दै राजपा र समाजवादी एकीकृत बनेको थियो । ठिक एक वर्षपछि उनै ओलीका कारण पार्टी फुटको संघारमा पुगेको छ । हिजो सिंहदरवार संसदीय दलको कार्यालयमा बसेको पूर्वराजपाका सांसदहरुलाई पार्टी फुट्ने अवस्था आउँन सक्नेभन्दै तयारी अवस्थामा रहन भनिएको एक सांसदले बताए ।

पूर्वराजपा र पूर्वसमाजवादीका सांसदहरु १६/१६ जना रहेका छन् । पार्टी फुटाउँनै पर्ने अवस्था आउँदा पूर्वसमाजवादीका पनि केही सांसद तान्ने दाउमा पूर्वराजपा रहेको छ । गत बैशाखमा पार्टी फुटाउन तयार बनेका समाजवादी पार्टीका प्रदीप यादव, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, डा. सुरेन्द्र यादव, रेणु यादव, रुही नाज, इस्तियाक राई र कलुदेवी विश्वकर्मा अहिले ठाकुर–महतो समूहसँग नजिक रहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्