Logo
Logo

धरहराको उद्घाटन आज, सबै काम सक्न अझै एक वर्ष लाग्ने


दृष्टि संवाददाता


काठमाडौं । भूकम्पमले क्षति पुर्याएको धरहराको निर्माण सम्पन्न भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन कार्यक्रमरहेको छ । बाहिरी सजावटको कार्य सकिन अझै एक वर्ष समय लाग्ने भएपछि प्रधानमन्त्री ओलीले धरहरा मात्रै तयार गरेर उद्घाटन गर्न लागेका हुन्। भूकम्प गएको ६ वर्ष पुगे पनि पुनर्निर्माणमा विवाद भएपछि २०७५ मा मात्रै धरहराको पुनर्निर्माण सुरु भएको थियो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले धरहरा निर्माणमा अधिकांश नेपालमै उत्पादित निर्माण सामग्री प्रयोग गरिएको बताए। उनका अनुसार सर्वोतम, जगदम्बा, अल्ट्रा, होङ्सीलगायत सिमेन्ट प्रयोग भएको छ भने फलामे डन्डीतर्फ पनि नेपालमै उत्पादित अम्बे, लक्ष्मी र जगशक्ति डन्डीलगायत प्रयोग भएकोे छ। यसबाहेक एसी, बिजुलीका अत्यावश्यक सामग्री भने छिमेकी मुलुकबाट ल्याएर जडान गरिएको छ।

२०७२ सालमा गएको भूकम्पमा लडेको धरहरा पुनर्निर्माण गर्ने विषयमा लामो समय विवाद भएपछि सुरु भएको पुनर्निर्माण कार्य तीव्र गतिमा भए पनि ठेकेदार कम्पनीले तोकिएको समयमा पूरा गर्न सकेको थिएन। म्याद थप गर्दै पुनर्निर्माण गर्दै आएको कम्पनीले धरहराको बाहिरी काममा अझै समय लाग्ने जनाएको छ।

पुनर्निर्माण प्राधिकरणका अनुसार बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्रबाट भने २२ तलाको छ। त्यस्तै, जमिनमुनि दुई तलाको भूमिगत संरचनाको कार्य पनि बाँकी रहेको छ। धरहरा क्षेत्रका बाँकी संरचनाको काम भने जारी नै रहने बताइएको छ।

सर्वसाधारणका लागि भने आगामी माघदेखि मात्रै खुला हुनेछ। उपत्यकामा आउने पर्यटकका लागि लागि यो नयाँ गन्तव्य हुनेछ। धरहराको बाहिरी सुन्दरताको काम सकिएपछि मात्रै आम नागरिकको लागि खुल्ला गरिने ठेकेदार कम्पनीले जनाएको छ।

प्रधानमन्त्री भीमसेन थापाले १८८८ सालमा महारानी त्रिपुरा सुन्दरीदेवीका लागि यो धरहरा निर्माण गराएका थिए। तर १९९० सालको भूकम्पले पहिलो पटक ११ तले धरहरा भत्काएको थियो भने २०७२ सालको भूकम्पले धराहर फेरि भत्काएको थियो। १९९० सालपछि पुनर्निर्माण गर्दा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाले पहिलेको ११ तले धरहराको उचाइ घटाएर नौ तलाको बनाउन लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्