Logo
Logo

कार्यविभाजनमा ओली समूहकै सात जना असन्तुष्ट (नामसहित)


दृष्टि संवाददाता


काठमाडौं । वरिष्ठ नेता माधव नेपाल समूहलाई किनारा लगाउँनै महाधिवेशन आयोजक कमिटी बनाएका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै समूहका धेरै नेताहरु असन्तुष्ट बनेका छन् । केन्द्रीय कमिटीमा हारेका, निर्वाचनका बेला अन्तर्घात गरेकाहरुले स्थायी कमिटी र विभिन्न जिम्मेवारी पाएपछि लामो समय पार्टीमा काम गरेकाहरु किनारामा परेका छन् ।

 

उनीहरु ओलीसँग रुष्ट बनेका छन् । हिजो (शुक्रबार) बालुवाटारमा ओलीलाई निरन्तर साथ दिंदै आएकाहरुले जिम्मेवारी नपाएपछि असन्तुष्टिको बहारै देखियो । पहिलो कुरा त केन्द्रीय कमिटी नै विघटन गरी महाधिवेशन आयोजक कमिटी बनाएका ओलीले स्थायी कमिटी पुनर्गठन गरेका छन् ।

उनले वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल सहितका नेताहरुलाई मात्र होइन, आफूसँगै रहेकाहरुलाई पनि उचित जिम्मेवारी दिन नसकेपछि उनको आलोचना सुरु भएको छ । संविधान र पार्टीको विधान मिचेका अध्यक्ष ओलीले एक जना महिलालाई पनि स्थायी कमिटीमा ल्याएनन् ।

स्थायी कमिटी सदस्यहरुको नाम सार्वजनिक गर्ने वित्तिकै राधा ज्ञवाली र उमा कोइरालाले महिला नपरेको भन्दै सुरुमै असन्तुष्टि जनाए । उनीहरुको असन्तुष्टिलाई वेवास्ता गर्दै ओलीले बैठक अघि बढाए । बैठकमा ओलीको भनाइ उदृत गर्दै एक महिला नेतृले भनिन्, ‘अहिले यो विषयमा प्रवेश नगरौं, पहिलेकै निरन्तरता हो । पछि छलफल गरेर थप गर्न सकिन्छ ।’

स्थायी कमिटी पुनर्गठन र जिम्मेवारी हेरफेरमा खगराज अधिकारीको पनि असन्तुष्टि रह्यो । उनले केन्द्रीय कमिटीमा हारेका रघुवीर महासेठलाई स्थायी कमिटीमा ल्याइएकोमा असन्तुष्टि जनाए । महासेठको नाम नलिकन उनी केन्द्रीय सदस्य पनि नरहेकालाई किन स्थायी कमिटीमा ल्याइयो भन्दै उफ्रिए । अधिकारीलाई गण्डकीमा कुनै पनि जिम्मेवारी दिइएन । आफूलाई गण्डकीबाटै पाखा लगाइयो भन्दै अधिकारीले चित्त दुखाए ।

यसअघि एमाले गण्डकी प्रदेशको सहईन्चार्ज रहेका अधिकारीलाई स्वास्थ्य विभागको प्रमुख बनाएर थन्क्याइएको छ । खिमलाल भट्टराई पनि सन्तुष्ट रहेनन् । भूगोलको जिम्मेवारी पाउने आशा गरेका भट्टराईलाई विद्यार्थी विशेष कमिटीमा थन्क्याइएको छ । एमालेमा विद्यार्थी विशेष र अखिल दुई कमिटी रहेको छ । अखिलको इञ्चार्जमा माधव ढुंगेललाई ल्याइएको छ ।

आफूभन्दा जुनियर माधव समान बनाएपछि राष्ट्रियसभाका प्रमुख सचेतक रहेका भट्टराई आक्रोशित बने । उनी बैठकबाट बाहिरिन खोजेपनि अरु नेताहरुले रोकेका थिए । त्यस्तै विजय गच्छदारसँग पराजित सुनसरीकी भगवती चौधरी निकै दुखि भइन ।गच्छदारसँग थोरै मतले हारेकी चौधरीले आफूलाई चुनाव हराउन भूमिका खेलेका जगदीश कुसियतलाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिएपछि आक्रोश पोखिन ।

उनी बैठकस्थलबाटै बाहिर खोजेपछि अरुले रोकेका थिए । असन्तुष्टि राख्नेहरुमा नेपालगंजका मोहम्मद हारुन पनि रहेका छन् । उनले नेपालगंजका रैथाने हारुनलाई हटाएर रुकुमका खेममान खड्कालाई त्यहाँको ईन्चार्ज बनाइएपछि उनी आक्रोशित पोखे ।

विराटनगरबाट ल्याएर रुपनारायण श्रेष्ठलाई काठमाडौँ महानगरको सहईन्चार्ज बनाइएपछि अर्को असन्तुष्टि देखियो । असन्तुष्टहरुले ओलीसँगै रहने वा नरहने भन्नेबारे निर्णय नगरेपनि यसरी काम गर्न सकिदैन बरु संघर्ष गर्ने चेतावनी दिन थालेका छन् । माओवादीबाट एमाले प्रवेश गरेका प्रभु साह लगायतका केही नेता पनि असन्तुष्ट बनेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्