Logo
Logo

लकडाउन र निषेधाज्ञामा के फरक छ ?


प्रदीपराज दाहाल


काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको छ ।

तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै सोमवार साँझ आदेश जारी गरि यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने जनाएका छन् । धेरैले यसलाई लकडाउन त केहीले निषेधाज्ञाका रूपमा व्याख्या गरेका छन् ।

के फरक छ ?
कोरोना भाइरससँगै अहिले अधिक प्रयोगमा आएको शब्द हो– ‘लकडाउन’ र ‘निषेधाज्ञा’ । कोरोना भाइरसविरुद्ध तयारीका रूपमा हेरिएको ‘लकडाउन’ बाध्यात्मक परिस्थिति हो । अर्को अर्थमा ‘लकडाउन’ भनेको ‘होम क्वारेन्टिन’को अवस्था हो ।

‘लकडाउन’ कोरोनाको महामारी एक स्थानबाट अर्को स्थानसम्म नफैलियोस् भन्नका लागि अपनाइएको कठोर सुरक्षा हो । यस्तै, निषेधाज्ञा भने अति आवश्यकीय क्रियाकलाप गर्न तथा उक्त क्रियाकलाप गर्ने निश्चित व्यक्तिहरु घर बाहिर निस्कन पाइनेछ । सर्वसाधारणले गर्न हुने र गर्न नहुने काम तथा गतिविधि किटान गरिएकाले निषेधाज्ञा धेरै नरम बन्देजात्मक व्यवस्था मानिन्छ ।

‘लकडाउन’ पुरै मुलुकमा नभएर निश्चित क्षेत्रमा बढी प्रभावकारी मानिन्छ । ‘लकडाउन’ भएको अवस्थामा विभिन्न क्षेत्रको भौतिक सम्बन्ध निश्चित समयका लागि विच्छेद सम्भावना रहन्छ । जस्तो कि काठमाडौं उपत्यकालाई ‘लकडाउन’ गरिँदा उपत्यकामा रहेका व्यक्ति अत्यावश्यक काममा त्यो पनि अनुमति लिएर मात्रै जान पाउनेछन् । चीनको बुहानमा सुरुमा यस्तै नीति अलबम्बन गरिएको थियो ।

‘लकडाउन’ घोषणन गरेका अन्य मुलुकको प्रचलनलाई सिको गर्दै २०७६ चैत ११ देखि नेपालमा पनि ‘लकडाउन’ सुरु भयो । यो कर्फ्युजस्तो कडा हुँदैन । सार्वजनिक स्थलमा हिडडुल गर्न प्रतिबन्ध लगाइए पनि बिहान तथा बेलुका निश्चित अवधि तोकेर बाहिर निस्कन र अति आवश्यक एवं दैनिक उपभोगका समान खरिद गर्न मौका दिइन्छ ।

‘लक डाउन’को पहिलो चरणमा नाका सिल गर्ने, नियमित सार्वजनिक यातायातको सेवा स्थगित गर्ने, डिपार्टमेन्टल स्टोर र सपिङ मल बन्द गर्ने, अति आवश्यक सेवाबाहेक सार्वजनिक अड्डा र सेवा निश्चित समयका लागि स्थगित गरिन्छ । ‘लकडाउन’ को मुख्य उद्देश्य भनेकै मानिसको भीड कम गर्नु हो ।

पहिलो चरणको ‘लक डाउन’ पछि पनि अवस्था सामान्य नभए दोस्रो चरणमा ‘लकडाउन’ कडा हुन्छ । नागरिकलाई घरमै अनिवार्यरुपमा बस्न आग्रह होइन, आदेश दिइनेछ । आदेश उलंघन गरे कारबाही गर्ने व्यवस्था हुनेछ । यो महामारीबाट बच्न लागि एकान्तवास अथवा ‘आइसोलेसन’ मुख्य उपायका रुपमा लिइएको छ ।

चीनले जनवरी २३ मा वुहान सहर ‘लकडाउन’ गरेको थियो । मानिसहरूलाई अत्यावश्यक सामान वा स्वास्थ्य सहायता लिन मात्र बाहिर जान दिइयो । बाहिर जानेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरियो । दुई सातापछि त्यसमा झनै कडिकडाउ गर्दै संक्रमणको सम्भावना रहेका व्यक्तिको खोजीमा घरघरमा गएर खानतलाश गरियो । र, भेटिएकालाई ‘क्वारेन्टिन’मा राखियो ।

भारतमा अहिले दोस्रो कोरोनाको लहर आएको छ । संक्रमितको संख्या दैनिक तीन लाखले बढीरहेको छ । निको हुनेको संख्यामा कमि आएको छैन भने संक्रमित थपिरहँदा अस्पताल भरिरहेका छन् । त्यसैले थप संक्रमण नफैलियोस् भनेर त्यहाँ पनि लकडाउन गरिएको छ ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले कोरोना नियन्त्रणलाई थप प्रभावकारी बनाउन संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम निषेधाज्ञाको निर्णय गरिएको छ । सरकारले नै के निषेध गर्ने र के नगर्ने तोकेको छ । त्यसैले लकडाउन र निषेधाज्ञा फरक हुन् ।

प्रतिक्रिया दिनुहोस्