Logo
Logo

‘अब धरहरा ढल्दैन’


शम्भु श्रेष्ठ


भीमसेन स्तम्भको नामले चर्चित धरहरा दुईपटक ढल्यो । वैशाख ११ गते पुनःनिर्मित धरहराको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘अब धरहरा ढल्दैन ।’ २०७२ साल वैशाख १२ गतेको भूकम्पले धरहरालगायत धेरै सम्पदाहरु भत्किए । ती सबै सम्पदाहरुको पुनःनिर्माण भइरहेका छन् । यसमा नेपाली जनता खुशी छन् ।

यता, धरहरा ठडिदै गर्दा त्यो धरहराको शिलान्यास र उद्घाटन गर्ने प्रधानमन्त्री ओलीको जग भने बिना भूकम्प भत्किएको छ । माओवादीसँग पार्टी एकता नगरेको भए उनले प्रधानमन्त्रीको रुपमा न धरहराको शिलान्यास गर्न पाउँथे, न त उद्घाटनको अवसर नै ।

प्रधानमन्त्रीका रुपमा आफूले धरहरा, रानीपोखरी पुनःनिर्माण गरेकोमा गर्व गरिरहँदा उनलाई धरहराको चुचुरामा पुर्याउने नेकपा एमालेका लाखौँ नेता, कार्यकर्ता यतिबेला पीडामा छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएदेखि अहिलेसम्म नेपालको कम्युनिष्ट आन्दोलनले यति क्षति, अपमान र पीडा भोग्नुपरेको थिएन । समयले नेपाल कम्युनिष्ट पार्टीलाई दुईतिहाइको धरहरामा पु¥यायो । जुन उपलब्धिको रक्षा पार्टी अध्यक्षको नाताले ओलीले गर्न सकेनन् । र, २०७७ पुस ५ गते संसद् विघटन गरेर कम्युनिष्ट आन्दोलनको धरोहरा ढाले ।

अब उनलाई धरहरा बनाउनु छैन । त्यसैले उनी भन्दैछन्, ‘अब धरहरा ढल्दैन ।’ भीमसेन स्तम्भ त ओलीले बनाए । अब पुष्पलालले बनाएको धरहरा बनाउन सिँगो कम्युनिष्ट आन्दोलन जाग्नुपर्ने बेला आएको छ । जननेता मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’लाई माक्र्सवादको सिर्जनात्मक प्रयोग भनेका थिए । त्यसलाई अहिले कुरुप बनाउन खोजिएको छ । मदन भण्डारीले जग हालेको ‘जबज’को धरहरा ढल्ने अवस्थामा पुगेको छ ।

नेपालकै इतिहासमा कम्युनिष्ट पार्टीले दुईतिहाइ बहुमत पायो । शान्तिपूर्ण संघर्षको माध्यमबाटै राज्यसत्तामा पुगेर समाजवाद लागू गर्ने मदन भण्डारीको सपनालाई ७० वर्षपछि नेपाली जनताले साथ दिए । तर, उनकै उत्तराधिकारी ओली प्रतिगमनकारी बने । दुईतिहाइको उपलब्धि भुँइ न भाँडो’ बनाए ।

मदन भण्डारी दूरदर्शी नेता थिए, उनले जनतालाई भोकै राखेर पशुपतिमा सुनको जलप लगाउनुपर्छ, राम मन्दिर बनाउनुपर्छ । हाम्रा भगवान भनेका तिनै ढुंगाका मूर्ति हुन्, कहिल्यै भनेनन् । बरु हाम्रा जीवित भगवान भनेका जनता हुन् भनेका थिए ।

तर, आज माक्र्सवाद, लेनिनवादको रथ उल्टो कुदिरहेको छ । माक्र्सवादी, लेनिनवादीहरु राम नाम जप्दै चितवन माडीमा पुगिरहेका छन् । यो भन्दा ठूलो बौद्धिक दिवालियापन अर्थात् वैचारिक विचलन एमालेभित्र अरु के होला ? विघटनको संघारमा पुगेको एमाले र ओली गुटलाई अब रामराम भन्न सकिएला, काँध थाप्न सकिन्न ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पले ढालेको धरहरा त उठ्यो, अब ०७७ पुस ५ गते ओलीले ढालेको नेपालको कम्युनिष्ट आन्दोलनको धरहरा उठ्न सकेन भने, नेपालको स्वतन्त्रता, सार्वभौमिकता र स्वाधीनता नै समाप्त हुने दिशामा जानेछ । यो ख्यालठट्टा अथवा ओलीले गर्ने जस्तो उखान टुक्काको विषय होइन ।

किनभने, ओलीको पुस ५ गतेको असंवैधानिक कदमले नेपालको राजनीतिले बाटो बिराएको छ । दुईतिहाइको प्रधानमन्त्री स्वयं चौबाटोमा पुगेका छन् । त्यो चौबाटोबाट कता जाने स्वयं प्रधानमन्त्रीलाई थाहा छैन । त्यसैले सचेत नेपाली जनता प्रतिगमनविरुद्ध फेरि उठ्नुपरेको छ ।

भन्न त मेरियट होटलको भेटघाटमा प्रधानमन्त्री ओलीले माधवकुमार नेपाललाई ‘आफू चार पटक भुइँमा पछारिएर धुँलो टकटक्याउँदै फेरि उठे’ भने । त्यो उनको भ्रम हो । पुस ५ गतेपछि उनी उठ्नै नसक्ने गरी पछारिएका छन् । अब नेपालको इतिहासमा उनी कहिल्यै धुलो टक्टक्याएर भुइँबाट उठ्न सक्ने छैनन् ।

प्रतिक्रिया दिनुहोस्