Logo
Logo

अविश्वासको प्रस्ताव लैजान लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान


दृष्टि संवाददाता


रुपन्देही । विपक्षी दलहरुको समावेदनअनुसार लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैशाख १९ गतेका लागि बोलाइएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन आह्वान गरेका हुन् ।

विशेष अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रस्ताव लैजाने कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुको तयारी रहेको छ । अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्री पोखरेलले हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेका थिए । विशेष अधिवेशन

आह्वानका लागि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समावेदन दिएका थिए । १९ गते आइतबार दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको छ ।

प्रदेशसभामा ८७ सांसद रहेकामा माओवादी केन्द्रका २ सांसद पदमुक्त भएका छन् । अहिले ८५ सांसद प्रदेशसभामा रहेका छन् । त्यसमा एमालेका ४१ सांसद छन् ।

अविश्वासको प्रस्ताव ल्याउन नेतृत्व गरेको माओवादी केन्द्रका सभामुखसहित १८ र नेपाली कांग्रेसका १९ सांसद छन् । जसपाका ६ सांसदमध्ये अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका २ जना र हस्ताक्षर नगरेका २ जना गरी ४ जना मन्त्री बनेका छन् । जसले गर्दा अविश्वास प्रस्तावको पक्षमा ३९ मत मात्र छ ।

एक सिट भएको राष्ट्रिय जनमोर्चाले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने भएको छ । राजमो समेत गर्दा अविश्वास प्रस्तावको पक्षमा ४० मत मात्र पुग्छ । प्रस्ताव पारित हुन विपक्षीलाई ३ सांसद अपुग हुन्छ ।

सरकारमा गएका चार जना सांसदलाई कारवाही गरेर पदमुक्त गर्ने जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षको जोड भएपनि महन्थ ठाकुर पक्ष सहमत नभएकाले मुख्यमन्त्री शंकर पोखरेल अहिलेसम्म सुरक्षित छन् ।

जसपाका चार जनामाथि कारवाही भएर पदमुक्त हुँदा प्रदेश सभा ८१ सदस्यीय हुन जान्छ । त्यो हुंदा पनि सरकार ढाल्न विपक्षीलाई एक सांसद अपुग हुन्छ । प्रदेश सभामा एमालेका ४१ जनामध्ये २ जना माधव नेपाल पक्षमा खुलेका छन् । यदि जसपाका चार सांसद पदमुक्त हुने र कर्णालीमा जस्तै एमालेका एक जना सांसदले फ्लोरक्रस गर्ने हो भने मात्रै सरकार ढल्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्