Logo
Logo

चौबिस घण्टामा बागमतीमा कोरोनाबाट चार जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो २४ घण्टामा बागमती प्रदेशमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । ३ जना पुरुष र १ जना महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंका ४९ वर्षीय र ५३ वर्षीय पुरुष, चितवनका ७१ वर्षीय पुरुष र नुवाकोटका ७७ वर्षीया महिलाको मृत्यु भएको हो । ७७ बर्षीया महिला स्वासप्रश्वासमा समस्या भएको कारण बैशाख १ गते अस्पताल भर्ना भएकी थिइन् । उनलाई अन्य रोग थिएन ।

काठमाडौँका ५३ बर्षीय पुरुष मुटुको समस्याका कारण बैशाख ११ गते अस्पताल भर्ना भएका थिए । उनलाई बैशाख १० गते नै कोरोना पुष्टि भएको थियो । उनको उपचारको क्रममा १४ गते मृत्यु भएको हो ।

अर्का ४९ बर्षका पुरुष बैशाख ४ गते अस्पताल भर्ना भएका थिए । उनको १३ गते मृत्यु भएको हो । उनलाई पनि अन्य कुनैपनि रोगको संक्रमण थिएन ।

चितवनका पुरुष भने निमोनियाबाट पीडित थिए । उनी बैशाख ८ गते अस्पताल भर्ना भएका थिए भने १४ गते मृत्यु भएको हो । बागमती प्रदेशमा हालसम्म १४ लाख ३९ हजार ६० जनाको पिसिआर प्रविधिबाट कोरोना परीक्षण गर्दा १ लाख ६८ हजार ६ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ भने पछिल्लो २४ घण्टामा मात्रै २२ सय ७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्